भद्रपुर भन्सारमा राजस्‍व गिरावट

|

भद्रपुर, (झापा) : तस्कर भन्सार छलेर सामान भित्र्याउन छाड्दैन, नेपाल प्रहरी तस्करीको सामान बरामद गर्न पछि हटेको छैन। अहिले प्रायः भद्रपुर नाकामा यस्तै खेल चलिरहेको छ, नेपाल प्रहरी र तस्करीबीच।

सीमामा हुने आपराधिक क्रियाकलापसँगै तस्करी नियन्त्रणकै लागि सरकारले सशस्त्र प्रहरी बल संगठनको गठन गरेको हो। भद्रपुर सीमादेखि करिब डेढ किलोमिटर उत्तरमा सशस्त्र प्रहरी बल झापा २ नम्बर गण पर्छ। सोही गणले दैनिक भद्रपुरको मेची पुल र देवीवस्तीमा रातदिन ड्युटी खटाएका हुन्छ। तर पनि, सशस्त्र प्रहरीको काम नेपाल प्रहरीले गर्नुपर्ने विडम्बना भद्रपुरसहित जिल्लाभर देखिन्छ।

वडा प्रहरी कार्यालय भद्रपुरमा प्रहरी निरीक्षक यमकुमार श्रेष्ठ आएसँगै करिब एक महिनाको अवधिमा १० लाख बढीको लत्ताकपडा लगायतका सामान बरामद गरी भन्सार बुझाइसकेको छ। तर, सशस्त्र प्रहरीले यसतर्फ खासै चासो देखाएको छैन। सशस्त्र प्रहरी कार्यालय आसपासको क्षेत्रबाट अहिले धमाधम भन्सार छलेर सरसामान भित्रिरहेको छ। भद्रपुर ५ स्थित देवीवस्ती, गणेश मन्दिर र कालिका टि स्टेट छेउको नाकालाई तस्करले ट्रान्जिट पोइन्ट नै बनाएर तस्करी गरिरहेको छ ।

भद्रपुर भन्सार कार्यालयमा राजस्‍व संकलनमा कमी आएसँगै वडा प्रहरी कार्यालयले भद्रपुर नाकामा तस्करी नियन्त्रण अभियान नै सुरु गरेको छ। यसैक्रममा वडा प्रहरी कार्यालयले भद्रपुर ५ स्थित देवीवस्ती नाकाबाट शनिबार बिहान ३ बजे पाँच पोका लत्ताकपडा बरामद गरेको प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए।

भारतको देवीगञ्ज र सोनापिण्डीबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब ४ लाख ३६ हजार मूल्य बराबरको सामान बरामद गरिएको उनले बताए। बरामद गरिएको सामानमा सटिङसुटिङका थान कपडा, लेगिज, कुर्तासुरुवा र बुर्काको कपडा रहेको जनाइएको छ। बरामद गरिएको सामानलाई भद्रपुर भन्सार कार्यालय बुझाउने उनले बताए। यसअघि वडा प्रहरीले भद्रपुर ५ स्थित गणेश मन्दिर नाकाबाट भन्सार छलेर भित्र्याइएको पाँच पोका कपडा बरामद गरेको थियो।

जसको बजार मूल्य ४ लाख ८० हजार रहेको थियो। त्यसमा सटिङसुटिङ, साडी, कुर्तासुरुवा, सल, तावेललगायत  सामान थियो। त्यसैगरी वडा प्रहरीले गलगलिया नाकाबाट भित्र्याइएको चार पोका सामान भद्रपुर ५ स्थित मसानघाट छेऊबाट भित्राइएको एक लाख ९५ हजार मुल्य बराबरको सामान बरामद गरेको थियो। बरामद गरिएको सामानमा रेडिमेट सर्ट, टि–सर्ट, जिन्स ज्याकेट र जुत्ताचप्पल रहेको थियो।

भद्रपुर भन्सारमा राजस्‍व गिरावट

भद्रपुरमा तस्करी मौलाएसँगै भद्रपुर भन्सारको राजश्वमा गिरावट आएको छ। सरसामान भित्रिन छाडेपछि भन्सारले तोकेको राजस्‍वमा गिरावट आएको भन्सारका प्रमुख फणिन्द्र खतिवडाले जानकारी दिए। छोटी भन्सार कार्यालयबाट स्तोरन्तती भई भद्रपुर भन्सार कार्यालय भएसँगै भन्सारले मासिक डेढ करोडको लक्ष्य तोकेको छ। भन्सारमा भदौ, असोज र कार्तिकमा लक्ष्य अनुसारको राजस्‍व संकलन भएको देखिन्छ। तर, मंसीरदेखि यता भन्सारले तोकेको लक्ष्य उठाउन सकिरहेको छैन। भद्रपुर भन्सारमा लत्ताकपडाकै कारोबार बढी हुने गरेको भन्सार प्रमुख खतिवडाले बताए।

अहिले कपडा आउन छाडेकोले राजस्‍वमा कमी आएको उनको भनाइ छ। झापामा काकँडभिट्टा भन्सारबाट लत्ताकपडा भित्रिँदैन भद्रपुर भन्सारबाट मात्र भित्रिन्छ। तर, झापालगायत पूर्वका बजारमा व्यापारीको माग अनुसार लत्ताकपडा पुगिरहेको छ। कसरी र कहाँबाट सामान भित्रिरहेको छ, यसले जिल्ला राजश्व नियन्त्रण तथा रोकथाम समितिलाई पनि चुनौती दिएको देखिन्छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.