|
मन्त्री बाँस्कोटा र अध्यक्ष पौडेल

काठमाडौं : सूचना, संचार तथा प्रविधिमन्त्रालयले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई प्रष्टिकरण सोध्ने प्रक्रिया अगाडि बढाएको छ। 

मन्त्रालयको आइतबार बोलाइएको चौमासिक समीक्षा बैठकमा बोलाइए पनि अनुपस्थित भएपछि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पौडेललाई कडा स्पष्टिकरण सोध्न मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिएका थिए। सोही निर्देशन अनुसार प्रष्टिकरण सोध्ने प्रक्रिया अगाडि बढेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

मन्त्रालय स्रोतका अनुसार चलचित्र विकास बोर्डको प्रगति विवरणसम्बन्धी एजेन्डा चौमासिक समीक्षा बैठकमा रहे पनि बोर्डको तर्फबाट कुरा राख्न निकिता आएकी थिइनन्।

बैठकमा निकिता पौडेललाई नदेखेपछि मन्त्री बाँस्कोटाले सहसचिव राधिका अर्याललाई उपस्थित हुन भनेर पत्र पठाएको हो कि होइन भनेर सोधेको बताइएको छ। स्रोतका अनुसार निकितालाई जानकारी भए पनि उपस्थित नभएको थाहा पाएपछि मन्त्री बाँस्कोटा कड्किएका थिए। 

मन्त्री बाँस्कोटाले चलचित्र विकास बोर्डको नेतृत्वमा रहेको व्यक्तिले विदा पनि नलिएको अवस्था र मन्त्रालयले बोलाउँदासमेत नआएको भन्दै असन्तुष्टि जाहेर गरेका थिए। उनले गोरखापत्रमा सूचना जारी गरेर भए पनि स्पष्टिकरण सोध्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका हुन्। 

पौडेल शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बेलामा चलचित्र विकास बोर्डमा नियुक्त भएकी थिइन्। उनले केही पहिले पत्रकार रवी लामिछानेसँग अदालतमा गएर विवाह गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.