|

अछाम : जिल्लाको रामारोशन गाँउपालिकाले घोडा किन्ने भएको छ। रामारोशन क्षेत्रमा आउने पर्यटकलाई सजिलै ताल तथा मैदानमा घुमाउनको लागि घोडा किन्न लागिएको हो।

रामारोशन क्षेत्रमा घुम्न आउने पर्यटकलाई सजिलो होस भनेर गाँउ कार्यपालिकाले घोडा खरिद गर्ने निर्णय गरेको गाँउपालिका अध्यक्ष झंकर साउदले बताए। उनले भने ‘यहाँ आउने पर्यटक गाडीमा सधैँ सवार गरिरहेकै हुन्छन्। उनीहरूको घोडा चढ्ने रहर हुन्छ, उनीहरूको रहर पूरा गर्नको लागि पनि घोडा किन्दैछौँ।’

साउदका अनुसार अबको केही दिनबाट रामारोशन ताल घुम्न आउने पर्यटकले घोडामा सवार गर्न पाउनेछन्। यसका साथै गाउँ कार्यपालिकाले २ वटा वोट (डुंगा) पनि खरिद गर्ने निर्णय गरेको छ। गाउँपालिका उपाध्यक्ष सरस्वति रावलले दिएको जानकारीअनुसार फाल्गुणको पहिलो हप्तादेखि उक्त खरित गरिएका बोटहरू सञ्चालनमा ल्याइने छ।

गाउँपालिकाको आयोजनामा शनिबार सीमसार दिवस पनि मनाइएको छ। रामारोशन क्षेत्रलाई सीमसार क्षेत्र घोषणा गर्नको लागि विभिन्न क्षेत्रमा कामहरू अघि बढाइएको उक्त कार्यक्रममार्फत् अध्यक्ष साउदले जानकारी गराएका हुन्। १२ बण्ड १८ खण्डको रामारोशन क्षेत्रको विकास तथा प्रचारप्रसारमा सहयोग गर्न जिल्लाबासीलाई अध्यक्ष साउले आग्रह गरेका छन्।

उनले भने, ‘यो रामारोशन यस गाउपालिकाको मात्र हैन सिंगो अछामको हो, कर्णाली र सुदूरपश्चिम प्रदेशको सम्पति हो।’ पर्यटकीय हिसाबले मात्र हैन यो क्षेत्र धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेको छ। अध्यक्ष साउदका अनुसार बाजुरामा रहेको बडीमालीका मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरूले पहिलो स्नान रामारोशन ताल क्षेत्रमा गर्नुपर्नेमा यहाँका मानिसको धार्मिक मान्यता रहेको छ। 

रामारोशनको क्षेत्रको संक्षिप्त जानकारी

अछामको पूर्वी उत्तरमा पर्ने रामारोशन ताल समुद्री सतहबाट २ हजार ५० मिटरदेखि ३ हजार ७ सय ९२ मिटर उचाइमा पर्दछ। यसलाई १२ बण्ड १८ खण्डको ताल पनि भनिन्छ। रामारोशन क्षेत्रमा रहेका प्रमुख तालहरूमा जिंगल्ले, बाटुल्ला, लामिदह, लिस्सेडाली, ताउले, तल्लो धउने, माथिल्ला धउने, गाग्रे, डउठेखाल, दल्याना, रामे र गेराहा हुन्।

कालिकोट र बाजुरा जिल्लाको दक्षिणमा अवस्थित यो क्षेत्र अछामको रामारोशन गाउपालिका ५ मा अवस्थित छ। १२ वटा ताल र घासे मैदानले भरिएको रमणीय उपत्यकाजस्तो देखिने १८ ओटा आकर्षक प्राकृतिक पाटनहरूले सुसज्जित यस क्षेत्रलाई स्थानीय भाषामा १२ बण्ड र १८ खण्ड पनि भनिन्छ। प्रमुख आकर्षणका रुपमा रहेका १२ तालहरूमध्ये रामे, लामोदय, ताउल्या, जिंगल्या, गाग्रा ताल मनमोहक छन्।

त्यस्तै १८ खण्ड मध्ये किनीमिन्नी मैदान फाँट र रामारोशन मैदान फाँट ठूला र आकर्षक छन्। उत्तरी खण्डको चट्टानी पहाडले झनै आकर्षण थपेको छ। घना वन जंगलले भरिएको यस क्षेत्रमा डाँफे, मुनाल, कालिज जस्ता चराचुरुंगी कस्तूरी बाघ, भालु, मृग लगायतको वन्यजन्तु, पाँचऔंले, पदमचालजस्ता महत्वपूर्ण जडीबुटीहरू पाइन्छन्। गर्मीको समयमा तराईको प्रचण्ड गर्मी छल्न रामारोशन क्षेत्र अति नै उपयुक्त मानिन्छ। अछामको सदरमुकाम मंगलसेनबाट झन्डै ४० किलोमिटर पूर्व–उत्तरमा अवस्थित रामारोसनसम्म मोटरबाटो पुगेको छ।

यो ठाउँमा ९ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ। यहाँ लौठ सल्लालगायत प्रशस्त मात्रामा जडीबुटी पनि पाइन्छन भने लोपोन्मुख जीवजन्तुहरूको बासस्थानको रूपमा पनि रामारोशन क्षेत्र रहेको छ। यहाँ हरियो र निलो काइनेटिक पत्थर, गेरुलगायत बहुमूल्य धातु पनि पाइन्छन्। अछामको उत्तर-पूर्वी क्षेत्रमा पर्ने रामारोशन क्षेत्रले जिल्लाको बीच भाग भएर बग्ने कैलाश नदीलाई पनि जन्म दिएको छ।

रामारोशन क्षेत्रका १२ तालमध्ये सबैभन्दा ठूलो ताल जिंगाले ताल हो। यो ताल पूरै घुम्न तीन–चार घण्टा लाग्छ। ठूला मैदानको बीच भाग भएर बग्ने कैलाश नदीले अझ यहाँको सुन्दरतालाई उचाइ दिएको छ। रामारोशनमा सीमसार क्षेत्र पनि छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.