फिचर

हिउँ खाएरै बाँच्न विवश छन् याक-चौँरी
SHARES

माघ २०, २०७५

    मनाङ : चिसो बढेसँगै मनाङका मानिसहरू चिसो छल्न जिल्लाबाहिर जाने गर्छन्। याक-चौँरी, भेडा-च्यांग्राका गोठहरू तल बेँसीतिर झार्ने परंपरा भए पनि याक-चौँरीलाई भने चिसो हावापानी नै चाहिन्छ। हिमालको काखमा रहेर हिमाली जडिबुटीले आफ्नो पेट भर्ने यी याक-चौँरीहरू अहिले हिउँ खाएर बाँच्न विवश छन्।
    लामो समयपछिको ठूलो हिमपातले मनाङ जिल्ला नै पूरै सेतो कपास जस्तै देखिन्छ। बाटोघाटो, बनजंगल, खेत, पाखा, पखेरा अझै सेताम्मे छन्। निरन्तर १० दिनको हिमपातले मानिसहरू घरभित्रै बस्न बाध्य छन्। बाहिर निस्कने कुरै छैन, खाने पानीको अभाव, हिँडडुल गर्न सास्ती छ।

    घरका छानामा हिउँको थुप्रो छ। अलिअलि भएका मानिसहरू हिमपात सुरु भएपछि जिल्लाबाट बाहिरिएका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए। उनका अनुसार घरभित्र पस्दा हिमालको गुफाभित्र छिरेझैँ लाग्छ। ती बाहिर रहेका याक-चौँरीहरूले साँच्चै कस्तो अनुभव गरेका होलान्?

    बर्खामा माथिल्लो मनाङका याकखर्क, गुमछाङ, आइसलेक,  कान्लाखर्क र थोरङ फेदीमा रहने याक-चौँरीका गोठ हिउँद अर्थात् जाडो सिजनमा तल्लो भेग गुम्छाङ, खांसार, टंकीमनाङ, ङाओल, हुम्डेका पाखामा हुन्छन्।

    अहिले यहाँ भएका मानिसहरू घरभित्रै रहन्छन्। याक-चौँरी भने खुला आकाशमुनि बाहिरै। केहीले त हिमपात पर्ने  सुइँको पाउनेबित्तिकै सुरक्षित ठाउँमा बस्ती नजिकै आफूले रेखदेख गर्न सकिने ठाउँमा झारेका छन्।

    केही बाटोमै रोकिए। केही अझै लेकमै छन्। जहाँ भए पनि, जहाँ रहे पनि यतिबेला याक-चौँरीलाई हिउँ खानुको कुनै विकल्प छैन। भोकभोकै छन्। पानीसम्म खान पाएका छैनन्। चिसो सहन सक्ने क्षमता भए पनि अत्यधिक चिसो र हिमपातले याक-चौँरीमा असर परेको छ।  १० दिनसम्मको हिमपातले तीन-चार फिट हिउँमा कठ्यांग्रिएर बसेका छन्। मनाङ ङिस्याङ- ४ का पेम्वा छिरिङ गुरुङ, छिरिङ ङिमालगायतले याक-चौँरी हिमपात सुरुवात भएकै दिन गाउँमा ल्याएका हुन्। 

    त्यस्तै, सोनाम छिरिङ घलेले पनि आफ्ना ५५ वटा याक-चौँरीलाई सोही दिन सुरक्षित ठाउँमा सारेका हुन्। उनको गोठमा रहेका नौ चौँरीका बाच्छाबाच्छीलाई घरभित्र राखेका छन्। समुद्री सतहदेखि  तीन हजार ५४० मिटर उचाइमा रहेको मनाङमा दुई फिट हिउँ जमेको छ। ‘चौँरी चरन क्षेत्रमा पूरै हिउँ छ। चौँरीहरू १०-१२ दिनदेखि भोकै छन्। काटेर राखेको घाँस र गहुँको पिठो अलिअलि थियो। पानी छैन। हिउँ खाएर बसेको छ’, उनले भने। 

    मनाङ गाउँकै तेन्जिङ गुरुङका याक-चौँरी भने याकखर्कमा नै छन्। चार जना मिलेर  सामूहिक रूपमा चौँरीपालन गरेका हुन्।   हाल ६२ वटा चौँरी रहेको उनको गोठ चार हजार मिटर उचाइमा छ।

    उनले भने, ‘हिउँले सबै चरन क्षेत्र भरिएको छ। एक सातासम्म केही नखाए पनि फरक पर्दैन। महिना दिनसम्म खान पाएन भने दुब्लाउँछ र फागुन-चैततिर मर्छ।’ 
    उनका अनुसार खाना नपाएपछि चिसो सहन सक्ने क्षमता घट्दै जाने र मुटुमा पानी जमेर याक-चौँरी मर्छन्। उनले भने, ‘यो बेला अलिअलि दाना खुवाउने हो, सधैँ त धैरैलाई खुवाउन सकिँदैन। अहिलेका अवस्थामा हिउँ खानुको विकल्प छैन।’

    मनाङ जिल्लाका धेरैको पुख्र्यौली पेसाको रूपमा मानिने यो पेसा  यहाँका चारवटै गाउँपालिकामा चलिआएको छ। धेरथोर रूपमा व्यवसायीले चौँरीपालन गरेका छन्।  नासो गाउँपालिकाका चौँरी पालक सुरेश थकाली जिल्लाकै सबै भन्दा तल्लो स्थानमा चौँरीपालन व्यवसायी हुन्। उनीसँग हाल १०५ वटा याक-चौँरी छन्।
    हिमपातले उनको चौँरी पनि पीडित भएको बताउँछन्। चामे गाउँपालिकाअन्तर्गत रहेको डाँफेलेको फेदीमा रहेको थकालीका चौँरीले हिमपातको यातना भोगिरहेका छन्। 

    जिल्ला पशु सेवा कार्यलय मनाङका अनुसार हाल जिल्लाभर एक हजार ५०० बढी याक-चौँरी पालिएका छन्। हिमालको काखमा बस्ने यिनीहरूमा सरदर माइनस १० देखि माइनस १५ डिग्री तापक्रम थेग्न सक्ने क्षमता हुने पशु सेवा कार्यालयका प्राविधिक रामप्रसाद अधिकारीले बताए। उनका अनुसार यस वर्ष मनाङमा माइनस २१ डिग्री तापक्रम पुगेकाले याक-चौँरी बिरामी पर्ने संभावना रहेको छ। ‘चिसोको असर फागुन-चैतमा देखिन सक्छ। तत्कालीन अवस्थामा भने खासै देखिएको छैन’, उनले भने।

नवीन लामिछाने

लामिछाने थाहा खबरका मनाङ समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]