|

बिर्तामोड : कहिलेकाहीँ नसोचेको घटना पनि हुन्छ मान्छेको जीवनमा। त्यस्तै भयो झापा कन्काई-७ मा जन्मिएकी सन्थाल समुदायकी मनिता टुडुलाई पनि। एकाएक उनको जीवनमा कहालीलाग्दो क्षण आयो।

मनिता सुत्ने तरखरमा थिइन्। एकाएक बत्ती निभ्यो। फ्युज गएको सोचेर उनी फ्युज चेक गर्नका लागि बीचको तलामा झर्दै गर्दा हावा-हुण्डरीजस्तो आवाज उनको कानमा ठोक्कियो। उनी लिस्नोबाट तल ओर्लिनै सकिनन्, आगोको राप र धुँवाले उनलाई माथि नै फर्कायो। निस्सासिन थालेपछि उनले गुम्सिएर मर्नु भन्दा हाम्फाल्ने विचार गरिन् तर, न त कुनै डोरी भेटिन् न त कुनै कपडा जसको सहायताले उनी सकुशल हामफाल्न सकुन्। उनले ज्यान जोगाउनकै लागि आँखा चिम्लिएर तीन तला माथिबाट हाम फालिन्। 

विदेश गएर परिवार र आफ्नो सपना पुरा गर्ने उनको उदेश्य सोही दिनबाट विचलित भयो। तीन तलामाथिबाट हामफालेकी उनको ढाड र हात भाँच्चियो। १५ महिनासम्म ओमानमा उपचार गरेर उनी एक हप्ता अगाडि मात्र नेपाल फर्किएकी छन्। दुर्गापुरस्थित आफ्नो घरमा उनी भित्र–बाहिर गर्न सक्ने भएकी छिन्। 

ओमानमा भएको उक्त दुर्घटनाले उनको ढाड र हात भाँचिएपनि उनको सपना भने टुटेको छैन। उनी अझै पनि आफ्नो परिवारको लागि घर बनाउने र आफ्ना बाबुआमा र बहिनीहरूको हेरचाहका लागि विदेश जाने सोचमा छिन्। ‘अहिले आराम हुँदैछ,’ बिहानको घाम तापेर बसेकी मनिताले भनिन्- ‘निको भएपछि फेरि विदेश गएर अझै कमाउने पो रहर छ!’

उनी ओमान जानुअघि सन् २००७ मा नै कामका लागि साउदी गएकी थिइन्। ४ वर्षको बसाईपछि साउदीबाट फर्किएकी उनको मन नेपालमा नअडिएन र आफ्ना सपना पूरा गर्ने रहर बोकेर ओमान गइन् उनी। 

ओमानमा काम गर्ने घरका साहुले उनलाई विश्वास गर्थे। कमाई पनि राम्रै भइरहेको थियो। तर, एकाएक उनको जीवनमा ब्रजपात भयो र उनी ओछ्यान परिन्। बाच्नका लागि तीन तला माथिबाट हामफालेकी उनलाई पुलिस केश लाग्छ भने कसैले पनि उठाउने हिम्मत नगरेको उनले बताइन्। उनले आफू चिच्याएपछि उनलाई अस्पताल लगिएको बताइन्। उनले घरमा बालिएको धुपबाट आगो सल्किएको हुन सक्ने अनुमान गरेकी छन् तर, यकिन कारणबारे उनी बेखबर छिन्। 

अस्पताल भर्ना भएकी उनलाई सोही घरका घरसाहुले केही दिन उपचार गरिदए र, अब नेपाल फर्काइदिन्छु भन्न थाले। मनितालाई ठीक भएको थिएन। त्यसैबेला उनलाई एनआरएनए ओमानले सहयोग गर्‍यो। एनआरएनएका प्रतिनिधिहरुले घरसाहुलाई दबाब दिएपछि उनको उपचार गरियो। केहि रकम एनआरएनएले पनि जुटाइदियो।

यही आइतबार उनलाई ओमानको एनआरएनए आरसीसी सलालाको तर्फबाट आर्थिक सहयोग गरिएको छ। एनआरएनए ओमानका केन्द्रीय सदस्य टीका धितालको उपस्थितिमा आरसीसी सलालाका कोअर्डिनेटर टीका दाहालले मनितालाई नगद ३० हजार प्रदान गरे। आवश्यक परे पछि फेरि सहयोग गर्ने उनले प्रतिवद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.