बंगलादेशमा भने सरकारी कलेजमा मात्र

|

काठमाडौं : चीन र बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जानको लागि थप  मापदण्ड तयार पारिएको छ। चीन र  बंगलादेशमा चिकित्सा शिक्षा पढेर आएकाहरू नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षामा धेरै अनुत्तीर्ण हुन थालेपछि काउन्सिलले चीन  बंगलादेश पढ्न जाने विद्यार्थीको लागि नयाँ मापदण्ड कार्यान्वयन गर्न लागेको हो।

त्यसको लागि काउन्सिलले चीन र बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न जाने विद्यार्थीका लागि नयाँ मापदण्ड बनाउन शिक्षा मन्त्रालयलाई पत्र पठाएको छ। अबदेखि  चीनमा चिकित्साशास्त्र अध्ययन गर्न जानेहरूले चिनियाँ भाषामै चिनियाँ विद्यार्थीसरह पढ्नुपर्ने र बंगलादेशमा पढ्न जाने विद्यार्थीलाई त्यहाँको सरकारी मेडिकल कलेजमा मात्र पढ्न जान स्वीकृति दिने मापदण्ड सिर्जना गर्नुपर्नेसहित काउन्सिलले शिक्षा प्रविधि तथा विज्ञान मन्त्रालयलाई पत्र पठाएको हो। काउन्सिलले पत्र मन्त्रालयलाई पठाए पनि अहिलेसम्म शिक्षा मन्त्रालयले त्यसको जवाफ काउन्सिललाई पठाएको छैन।

काउन्सिल रजिस्ट्रार दिलीप डा शर्माका अनुसार धेरै जसो नेपाली विद्यार्थीहरू चीनमा अग्रेजी माध्यमबाट चिकित्साशिक्षा अध्ययन गर्न जाने तर चीनमा अग्रेजी भाषाभन्दा पनि चिनियाँ भाषालाई नै प्राथामिकता दिने भएकाले अबदेखि चीनमा अध्ययन गर्न जाने विद्यार्थीको लागि चिनियाँ भाषा अनिवार्य गरिएको बताए। उनले भने, ‘चीनमा उपकरण छ, बिरामी पनि छ, तर चिनियाँहरु अंग्रेजी बोल्दैनन् । चिनियाँ भाषा नजानी, अंग्रेजी माध्यमबाट पढ्नेहरूले बिरामीसँग हेलमेल नै हुँदैन । न बिरामीले बुझ्दछ न पढ्ने विद्यार्थीले नै  भाषा नजान्दा नेपाली विद्यार्को पढाइमा गुणस्तर कमजोर रहेको पाएपछि हामीले चिनियाँ भाषा अनिर्वाय गर्न लागेका हौँ।'

यस्तै, काउन्सिलका राजिष्ट्रार डा शर्माका अनुसार  अबदेखि बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जानेहरूका लागि अब त्यहाँ  सरकारी मेडिकल कलेजमा मात्र पढ्न जाने स्वीकृति दिनको लागि मन्त्रालयलाई पत्र पठाइको बताए। डा शर्माले भने, 'बंगलादेशमा पढ्न जाने धेरै विद्यार्थीले दुख पाइदोरहेछ र त्यहाँ पढाइ राम्रो नभएको भन्ने कुरा आइरहँदा अब हामीले त्यहाँ सरकारी मेडिकल कलेजमा पढ्न जानको लागि मात्र स्वीकृत दिन भन्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएका हौँ।'

हाल बंगलादेशमा २५ वटा जति सरकारी मेडिकल कलेज र १०० को हाराहारीमा निजी मेडिकल रहेको र हाल त्यहाँकै मेडिकल काउन्सिल र बोर्डले तीन दर्जन बढी निजी मेडिकल कलेजलाई ब्‍ल्याक लिष्टमा राखेको छ। ती कलेजमा पहिलेदेखि नै अध्ययनका लागि गएका करिब ६/ सात सय नेपाली विद्यार्थीहरू अफ्ठ्यारोमा परेको अवस्थामा अबदेखि बंगलादेशमा अध्ययन गर्न जान चाहनेले सरकारी कलेजमा मात्रै जान पाउने निर्णय गरी सरकारलाई सो कदम चाल्न सल्लाह दिँदै मन्त्रालयलाई पत्र पठाएको डा शर्माले बताए।

 पछिल्लो समय चीन र बंगलादेश अध्ययन गरी फर्केका धेरै विद्यार्थीहरू लाइसेन्स परीक्षामा धेरै फेल हुने गरेको हुनाले अब यस्ततो अवस्था नआओस् भनेर सरकारी कलेजमा मात्र पढ्न जान अनुमति दिन मन्त्रालयलाई सल्लाह दिएको डा शर्माले बताए। नेपालबाट मेडिकल अध्ययन गर्न जाने प्रमुख गन्तव्यमा चीन र बंगलादेश अग्रपंक्तिमा देखिन्छ। हाल बर्सेनि चार सयभन्दा बढी विद्यार्थी एमबिबिएस पढ्न बंगलादेश जाने गरेको काउन्सिलको तथ्यांक छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.