|

भक्तपुर : तामाङ समुदायमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनसँगै पुरानो वर्ष दुःख दिएका भूत प्रेतहरूले नयाँ वर्षमा पनि दुःख नदिउन भन्ने उद्देश्यले भूत पन्छाउने विभिन्न अनुष्ठान ध्यासी गर्ने परम्परा रहेको छ। यहीँ परम्परा अनुसार सोनाम ल्होछार २८५५ को अवसर पारेर भक्तपुरको सूर्य विनायक नगरपालिका–७ स्थित उर्गेन सङ्गे छयोलीङ्ग तामाङ गुम्बामा ह्याङला आदिवासी तामाङ समाजको आयोजनामा सामूहिक ध्यासी आयोजना गरिएको छ।

‘हाम्रो परम्परा अनुसार विभिन्न समयमा विभिन्न किसिमबाट भूत प्रेत आदिले दुःख दिने गरेको र यसलाई भगाउन तामाङहरूले आफ्नो घरमा पनि यो अनुष्ठान आयोजना गर्ने गरेको भए पनि हामीले भने संयुक्त रूपमा निर्माणधिन गुम्बामा नै सबै जुटेर भाइचाराका साथ ध्यासीको आयोजना गरेको हौँ,’ समाजका अध्यक्ष कर्मा लोप्साङ वाईबाले भने।

तीन दिनसम्म विभिन्न लामा गुरुहरूले पाठ गरी आयोजना गरिने उक्त पूजामा पहिलो दिन भगवान् गौतम बुद्धको दाहिने हात सहितको मण्डला बनाई जग्गेको स्थापना गर्ने कार्य गरिने लामा गुरु ज्याम्याङ योल्मोपाले जानकारी दिए। लामाले पूजाको त्रिपिटकको सार पारामिति (बुम १२ ठेली)को पाठ गरी हाम्रो जीवनमा भएका आएका भूत प्रेतहरूलाई ध्यासी पूजा अर्थात् (४०० पूजा) गरी पन्छाउने परम्परा अनुसार आफूहरूले उक्त पूजाको अनुष्ठान गरेको बताए। 

वर्ष दिनमा लागेको रोग व्यादी ग्रहदशा शान्तिका लागि हाम्रा जीवनमा दुःख दिने चार मार: देव पुत्र मार, मृत्यु मार, स्कन्द मार र क्लेस मारलाई पन्छाउन प्रत्येक वर्ष नयाँ वर्ष ल्होछार अगाडि यस्ता अनुष्ठान गरिने लामा गुरुले जानकारी दिए।

‘हाम्रा जीवनमा पिरोल्ने चार मारले नयाँ आउने वर्षमा दुःख कष्ट, भय, रोग नलागोस र सुख शान्ति एवं दीर्घायुको कामना गरी पाठ पूजा गरी बनाइएका भूतका प्रतिमा खोला वा नजिकको दोबाटोमा पन्छाउने काम गरिन्छ,’ लामा गुरु ज्याम्याङ योल्मोपाले भने, ‘भगवान् गौतम बुद्धको दाहिने हातको प्रतिमा स्वरूप निर्माण गरिएको मण्डपमा हाम्रो शरीरको प्रतीक एक सय ङार्ली बत्ती (छ्यामी) एक सय, नहिवेद(स्याल्से) एक सय र स्तुपा (छाछा) एक सय गरी मण्डला बनाई भूतलाई उक्त स्थानमा बोलाई पूजा गरी उनीहरूलाई अब मनुष्यको जीवनमा दुःख कष्ट दिन फेरी नआउ है भनी बन्धनमा पारी दोबाटो वा खोलामा लगेर सेलाउने गरिन्छ।’
तामाङ परम्परा अनुसार दुःख दिने विभिन्न तत्त्वबाट छुटकारा पाउन तथा सुख समृद्धि हाँसिल गर्दै शान्तिका साथ जीवनयापन गर्न हरेक प्राणीले पाओस् भनी यो अनुष्ठान आयोजना गरिने गरेको संस्थाका सह सचिव नरेश वाईबाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.