फिचर

'आफ्ना बाबुआमा र सन्तानलाई सडकमा नछाड्नुस्, श्राप लाग्छ'
SHARES

माघ २२, २०७५

    काठमाडौं : केही समयअघि बबरमहल क्षेत्रबाट झुम्म दाह्री-जुँगा, गुजुल्टिएको कपाल, थोत्रो ज्याकेटमाथि मैलो ब्ल्यांकेट ओडेका शंकरप्रसादलाई मानवसेवा आश्रमले उद्धार गर्ने भन्दै भ्यानमा हालेर गयो।

    उद्धारको नाममा यस संस्थाले के गरिरहेको छ भनेर उनीहरूलाई पछ्याउँ गइयो। केही समयपछि ट्याक्सी उनीहरूलाई पछ्याउँदै सामाखुसी पुग्यो। उक्त गाडीबाट शंकरप्रसादलाई भित्र लगियो। हाम्रो टिम पनि संस्थाभित्र छिर्‍यो। उक्त संस्थाबाट भित्र छिरेपछि मानसिक सन्तुलन गुमेका, वृद्ध वा शारीरिक अशक्तता भएका, रोगको उपचार गर्न नसकेर सडकमै बसेका, सडकमै अलपत्र अवस्थामा रहेका व्यक्तिहरूको जमात ठूलै देखियो। संस्थाले यस्ता व्यक्तिहरूको उद्धार गर्ने गरेको रहेछ।

    त्यसको केही दिनपछि फेरि मानव मानवसेवा आश्रमको शाखा खोज्दै बूढानीलकण्ठमा थाहाखबर टिम पुग्यो। त्यहाँ पुग्दा खाना खाने समय भएको रहेछ। गेटभित्र छिर्दा अन्दाजी ४० वर्षकी आमाले 'छोरा छोरा' भन्दै हात समातिन्।

    यी आमा जस्ता धेरै बाबुआमाहरू यस संस्थामा रहेका छन्। ती बाआमाको मानसिक सन्तुलन गुमेपछि आफ्ना सन्तानले छाडिदिएका रहेछन्। सोच्न कर लाग्छ ती सन्तान यी आमाबाबुका सन्तान हुन्?, जसलाई यिनीहरूले जन्म दिए।

    एकछिनमा आश्रमका काठमाडौँ संयोजक सुमन बर्तौला, अभियानकर्मी जमिर श्रेष्ठ र सन्तोषी मगर, समाजसेवी एवं पशु अधिकारकर्मी बिना पन्तको सहभागितामा दोलखाकी चण्डिका बोहरालाई उद्धार गरेर ल्याइँदै थियो। 

    बर्तौलाले अहिले काठमाडौंका दुई आश्रममा मात्रै ९० जना सहयोगापेक्षीलाई उद्धार गरेर संरक्षण गरिएको बताए। परिवार फेला नपरेसम्म आश्रमले नै संरक्षण गरेको उनी बताउँछन्। २०६९ सालमा हेटौंडामा मानवसेवा आश्रम सुरु भएको थियो। अहिले देशका १२ जिल्लामा १४ शाखामार्फत् सेवा दिँदै आएको आश्रमले अहिलेसम्म एक हजार ७०० को उद्धार गरेकामा ५०० बढीलाई परिवारमा पुनर्मिलन गराइसकिएको उनले बताए।

    मानवताको कुनै सीमा हुँदैन। हाल यस आश्रममा नेपाललगायत भारत, बंगलादेश र चीनका व्यक्तिहरूले राखिएको छ। तर खुला नाकाका कारण भारतीय नागरिकहरूको संख्या बढिरहेको उनले बताए। उनी भन्छन्, 'यसअघि पनि भारतका धेरैलाई यसैगरी सडकबाट उद्धार गरी परिवार पत्ता लगाएर पुनर्मिलन गराएका छौँ।'

    यस संस्थाले कुनै पनि विदेशी दातृनिकायको रकमबिना नै आश्रम चलाइरहेको उनले बताए। उनी भन्छन्, 'मानव सेवा विशुद्ध परोपकारी अभियान हो, हामीले आजका मितिसम्म मुठी दानबाट नै आश्रम चलाइरहेका छौँ।'

    वि.सं. २०८२ सम्म नेपाललाई सडक मानवमुक्त बनाउने अभियान सुरु गरिरहेको संस्थामा १०० भन्दा धेरै स्वयंसेवकहरू कार्यरत छन्। नेपालका सडकपेटीमा खान नपाएर, कपडा लाउन नपाएर, बेवारिसे भएर, अनाथ भएर कोही पनि बस्नु नपर्ने देश घोषणा गर्ने लक्ष्य रहेको छ आश्रमको। उनी भन्छन्, 'नेपाललाई मानवताको देश भनेर चिनाउने हाम्रो लक्ष्य छ।' संस्थाको आर्थिक पाटोलाई पारदर्शी बनाउनका निम्ति भने कर्मचारी नियुक्त गरेको उनले बताए। आश्रममा भएका व्यक्तिको औषधि उपचारका लागि पनि कर्मचारी नियुक्त गरेको उनले बताए।

    १ नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा घर भाडामा लिएर आश्रमहरू संचालनमा रहेका छन्। बर्तौला भन्छन्, 'अहिले हेटौँडा, काठमाडौं, गोरखा, ललितपुरलगायतका चार-पाँचवटा नगरपालिकाबाट घरभाडाका लागि सहयोग प्राप्त भएको छ।'  

    देशमा बालबालिकाका लागि बाल आश्रम छन्। वृद्धहरूका लागि वृद्धाश्रम संचालित छन् तर शारीरीक रूपमा अशक्त, मनोरोगी तथा घरबारविहीनहरू, जो शहरका चिसा गल्लीहरूमा दिन बिताउन बाध्य भएकाहरूको स्याहार सुसारका लागि विगत लामो समयदेखि आश्रमले काम गरिरहेको छ।

    सन्तानका लागि रंगीन सपना देखेका बाबुआमाहरूले सन्तानका खातिर आफ्नो जिन्दगी सादा बनाए। तब आफ्नै सन्तानलाई आफ्ना अभिभावकको सादा जिन्दगी मनपर्न छाड्यो। फलस्वरूप उनीहरू घरबारविहीन भए। यति मात्र होइन, शहरमा बिचल्ली भएका बच्चाहरू पनि आश्रममा छन्।

    भनिन्छ, 'परिवारको छत्रछायामा बस्न पाउनु हरेक व्यक्तिको भाग्यमा लेखेको हुँदैन। २४ घण्टा असहायहरूको अभिभावक बनिरहेका स्वयंसेवकमध्येका एक  बर्तौला पनि हुन्। उनी  भन्छन्, 'हरेक व्यक्तिले परिवार पाल्न पाउनु भाग्य सम्झिदिनुस्, नत्र दायित्व सम्झनुस्। नत्र धर्म मानेर भए पनि आफ्ना बाबुआमा र सन्तानलाई सडकमा नछाड्नुस्। श्राप लाग्छ।'

राजु पौडेल

पत्रकार पौडेल २०७४ माघदेखि थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुची राख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]