|

पर्वत : पिठ्युँमा झोला, हातमा जिम्बु, नङकट, ग्रहअनुसारका औँठी, बाला, माला र पोते लिएका फुलेका दाह्री अनि फुलेकै कपालमा नमिलाई लगाइएको ढाका टोपी। यही स्वरूपमा आएका एक वृद्ध सदरमुकाम कुश्मामा रहेको नारायण माविको प्रांगणमा छिरे। ‘ब्रेक टाइम’ भएका कारण सबै विद्यार्थीले उनलाई घेरे अनि नानाथरि प्रश्न गरे।

विद्यार्थीले मात्र होइन, ती व्यक्तिले पनि शिक्षक र विद्यार्थीसँग धेरै प्रश्नको जवाफ लिए। उनी हुन् उमेरले ६६ वर्ष पुगेका जुम्लाको सिंजा घर भएका दलबहादुर न्यौपाने। उनले झोलामा शिलाजित, हिङ, अलिकति यार्सागुम्बा, कुनकट्टा, ग्याष्ट्रिकको दबाई पनि बोकेका रहेछन्। तर उनको उद्देश्य व्यापार गरेर पैसा कमाउनुभन्दा पनि देश घुम्नु हो।

मर्नु अगाडि देशका सबै जिल्लाका धेरै ठाउँ घुम्नु र देशलाई देखेर मर्नु दलबहादुरको चाहना छ। ‘रित्तै किन डुल्न्या? अलिअलि सामान बेच्न पाया त घुम्न्या खर्च आउँछ’, उनले भने, 'सामान बेच्न्या भन्दा पनि देश देख्न निस्क्या हुँ।’ घरको आर्थिक अवस्था सामान्य रहेका दलबहादुरलाई देश घुम्नकै लागि बजेट छुट्याउने हैसियत छैन। त्यसैले अलिअलि व्यापार गर्दै कमाएको पैसाले खाँदै बस्दै डुल्ने गर्छन्। ‘चिसो पनि छली जान्छ। व्यापार पनि गरी जान्छ। देश पनि देखी जान्छ। देश देख्न्या पैसा जुटाउन अलिअलि बेच्न्या हो’, न्यौपानेले भने, ‘घरमा बस्या त शरीर बिग्री जान्छ। जो मुन्छे धेरै हिँड्न्या हो, उही मुन्छे धेरै बाँच्न्या हो।’ 

दलबहादुरले देशका धेरै जिल्ला घुमिसकेको अनुभव सुनाए। अहिले पनि उनी जुम्लाबाट जहाजमा नेपालगंज झरेर यात्रामा निस्किएका हुन्। उनले देशका अरू क्षेत्र जस्तै धौलागिरिका म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङका गाउँगाउँ घुमेका छन्। यही क्षेत्रका बासिन्दालााई पनि थाहा नभएका यही क्षेत्रका ठाउँका बारेमा सजिलै बताउन सक्छन् उनी।

जुम्लामा चिसोका कारण बस्न पनि कठिन भएको मौकामा उनी धेरै वर्षदेखि यसरी नै देशका विभिन्न जिल्लामा पुग्ने गरेका छन्। घुम्ने क्रममा न्यौपाने विभिन्न विद्यालय, सामुदायिक संस्थालगायत सरकारी कार्यालयमा पनि प्रवेश गर्छन्। दलबहादुर जहाँ जान्छन्, त्यहाँ आफ्नो सामान किनिदिन आग्रह नगरी त्यस ठाउँमा रहेका रमाइला, धार्मिक र सांस्कृतिक ठाउँका बारेमा सोधखोज गर्छन्, त्यहीँ पुगेर अवलोकन गर्छन्, हातमा देखेको सामान कसैले किन्न खोजी हालेमा बिक्री पनि गर्छन्। 

श्रीमती र दुई छोरा भएका न्यौपानेका एक छोरा रोजगारीका लागि भारतमा छन् भने घरमा एक छोरा र श्रीमती छन्। उनी भने वर्षका झण्डै चार महिना डुलेरै समय बिताउँछन्। यस पटक उनी माघ महिना लाग्नेबित्तिकै ९० हजार रुपैयाँ बोकेर घरबाट निस्केका हुन्।

दलबहादुरको साथमा अब धेरै पैसा छैन तर बैशाखसम्म घुमेपछि मात्र जुम्ला फर्किने उनको योजना छ। उनले ल्याएको सबै सामान बेचे पनि बढीमा २५ हजार रुपैयाँ पर्छ। चिसो छल्न निस्केको बेलामा कमाएर फर्किनुपर्नेमा उनलाई ६५ हजार रुपैयाँ घाटा हुन्छ तर उनी पैसाको वास्ता गर्दैनन्। ‘यो त हामी घुम्दा खर्च होला भनेर आएको हो। घुम्न भएन। घुमेपछि त पैसा खर्च भइजान्छ। घुम्न्या हो पैसा सकिए पनि पछुतो नमान्या हो।’

जुम्लाको मार्सी धान खाएका कारण पनि आफू बुढेसकालमा यसरी हिँड्न सकेको उनको भनाइ छ। ‘तपाईं जवान छ। म ६० किलो बोकिदिन्छु अहिले पनि’, दलबहादुरले भने, ‘तपाईंको उमेरमा त म भैँसी बोक्न सक्थ्यो होला।’ मार्सी धानको चामल स्वास्थ्यका लागि राम्रो हुने भएकाले पनि प्रधानमन्त्रीले पनि मार्सी चामल खाए रे भन्ने उनले सुनेका छन्। ‘तपाईंले मार्सी खाएको छैन होला मार्सीको माड खाने हो भने एक किलो घ्यू खाएभन्दा बढी काम गर्छ। काठमाडाैंमा त किलोको १५ सय रुपैयाँ पर्छ भन्ने सुनेको छु।’

न्यौपाने विद्यालयका शिक्षक र विद्यार्थीसँग धेरै रमाए। जुम्लाको हरेक विषयमा उनले विद्यार्थीलाई जानकारी गराए। पहिलेको दुर्गम भए पनि जुम्ला अहिले धेरै विकसित भएको र नेपालका धेरै ठाउँमा बसोबास गर्ने मानिस जुम्लाको सिंजाबाट नै सरेर गएको उनले बताए। ‘म्याग्दीको तातोपानी भन्दा माथि घुम्न गया थिएँ। त्यस्ता ठाउँ भन्दा जुम्लामा धेरै राम्रो छन्। तिमीहरू पनि घुम्न्या आउने भए जुम्ला आऊ। जुम्ला पहिले जस्तो नराम्रो छैन। अस्पताल, स्कुल, फोन सप्पै छन्’, उनले हिँड्ने बेलामा शिक्षक विद्यार्थीलाई एउटा प्रश्न पनि गरे।

‘लौ जुम्लाको नासो दिन्छु तिमीहरूलाई, यो हिसाब मिलाऊ’ भन्दै उनले प्रश्न गरे, ‘अठन्नी चवन्नी नौ, रुपैयाँ तीन यो बनाइदिनुस् त।’ धेरै कर गरेपछि मात्र उनले यसको उत्तर दिए। न्यौपानेका अनुसार छ चवन्नीको डेढ रुपैयाँ र तीन अठन्नीको डेढ रुपैयाँ गरेर नौ अठन्नी र चवन्नीको तीन रुपैयाँ हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.