|

घटना १

रुकुम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले गत मङ्सिर १ गते राति श्रीमती र छोराको हत्या गरे। श्रीमती ४२ वर्षीया इन्द्रकला बुढालाई भरुवा बन्दुकले गोली हानेर तथा छोरा ११ वर्षीय स्वयम् प्रकाश बुढालाई खुकुरी प्रहार गरेर बुढाले हत्या गरेका हुन्। श्रीमती र छोराको हत्या गरी बुढाले खुकुरीले घाटी रेटेर आत्महत्याको प्रयाससमेत गरेका थिए । अत्यधिक मदिरा सेवन गरी बुढाले श्रीमती र छोराको बीभत्स हत्या गरेको प्रहरीको भनाई छ।

घटना २

त्यस्तै, जिल्लाको आठबीसकोट नगरपालिका १२ ठूलीवार्खुका ५२ वर्षीय रुद्रे पुनमगरले आफ्ना सहोदर भाइ ३४ वर्षीय इन्द्रे पुनको गत असार ६ गते राति हत्या गरे। चिर्पट प्रहार गरी भाइको हत्या गरेका पुन हत्याको भोलिपल्ट आफैँ जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए। रातिसँगै बसेर रक्सी खाएको र घरायसी विवाद हुँदा भाइको हत्या गरेको पुनले प्रहरी सामु बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमिति खड्काले जानकारी दिए।

घटना ३

गत मङ्सिर २५ गते राति जिल्लाको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट भयो। अत्यधिक मदिरा सेवन गरेका स्थानीय युवाले आफ्नै घरमा सुतेका अध्यक्ष केसीमाथि कुटपिट गरी टाउको नै फुटाइदिए। कुटपिटबाट घाइते भएका अध्यक्ष केसीको टाउकोमा ३ वटा टाँका लगाइयो। कुटपिटका कारण अध्यक्ष केसी दुई सातासम्म थलिए।

घटना ४

जिल्लाको मुसिकोट नगरपालिका १२ मा गत पुस १ गते ३ जनाको मृत्यु भयो । नयाँ गाउँमा भएको एक बिहेमा सहभागी जिल्लाको सानी भेरी गाउँपालिका ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसिकोट नगरपालिका १२ नयाँगाउँका २१ वर्षीय पलबहादुर विकको मृत्यु भएको थियो । उनीहरूको मृत्युको प्रमुख कारण पनि मदिरा सेवन रहेको प्रहरीको भनाइ छ।

उनीहरूले रक्सी सेवन गरेको र पोस्टमार्टम रिपोर्टमा मृत्युको अन्य कुनै कारण नदेखिएको जिल्ला प्रहरी प्रमुख खड्काले बताए। जिल्ला अस्पतालमा भएको पोस्टमार्टमको रिपोर्टलाई हेर्दा उनीहरूको मृत्युको अन्य कुनै कारण नदेखिएकाले मदिरा सेवनकै कारण मृत्यु भएको निष्कर्ष निकालिएको उनको भनाई छ। तर थप परीक्षणका लागि भित्री अङ्गहरू प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको डिएसपी खड्काले बताए। 

घटना ५

त्यस्तै गत साता मात्र जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका ४ चाँपामा अर्का एक व्यक्तिको शव फेला पर्‍यो। उनको पनि मदिरा सेवनकै कारण मृत्यु भएको निष्कर्ष निकालिएको छ। उनले अत्यधिक मदिरा सेवन गरेको र पोस्टमार्टम गर्दा अन्य कुनै कारण नदेखिएको प्रहरीको भनाई छ।

यी त प्रतिनिधि घटना मात्रै हुन्। जिल्लामा हुने आपराधिक घटनामध्ये अधिकांश मदिरा सेवनकै कारण हुने गरेको प्रहरीले जनाएको छ। जिल्लामा ८० प्रतिशत आपराधिक घटना मदिराकै कारण हुने गरेको डिएसपी खड्का बताउँछन्। ‘हामीले यो वर्ष भएका घटनाको कारण केलाएर हेरेका छौँ', उनले भने, ‘जिल्लामा अधिकांश घटनाको प्रमुख कारण भनेकै मदिरा सेवन हो।’ उनका अनुसार बलात्कार, हत्यालगायतका घटना त शत प्रतिशत मदिराकै कारण हो।

९ महिनामा डेढ सय घटना

जिल्लामा यो वर्षको हालसम्म करिब डेढ सय घटना भएका छन्। वैशाखदेखि पुससम्म १ सय ३९ वटा आपराधिक घटनाहरू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यो वर्षको जेठ र भाद्रमा सबैभन्दा बढी २२/२२ वटा घटना घएका छन्। वैशाखमा ११, असारमा १४, श्रावणमा ९, असोजमा २०, कार्तिकमा १५, मंसिरमा १२ र पौषमा १४ घटना घटेका छन्। जसमा सबैभन्दा बढी सार्वजनिक अपराध कसुरसम्बन्धीका ३३ वटा घटना रहेका छन्। यसका साथै भवितव्य ज्यानको २१, झुण्डिएर आत्महत्या गरेको २०, जबरजस्ती करणीको १४, सवारी ज्यानको ८, जबरजस्ती करणी उद्योगको ७, कतव्य ज्यानको ५, विष सेवन गरी आत्महत्या गरेको ४, ज्यान मार्ने उद्योगको ४, फुटकर ज्यानको २, बेवारिसे ज्यानको १, सवारी भवितव्य ज्यानको २, बहुविवाहको २ र बालविवाहको एउटा घटना भएको छ।

प्रत्येक २ महिनामा एक जनाको हत्या

जिल्लामा प्रत्येक २ महिनामा एक जनाको हत्या हुने गरेको छ। त्यस्तै प्रत्येक महिना ३ जनाले विष सेवन गरी आत्म हत्या गर्ने गरेका छन्। महिना १ जनाको सवारी दुर्घटनामा ज्यान जाने गरेको छ। यसका साथै प्रतिमहिना २ वटा ज्यान मार्ने उद्योग, प्रतिमहिना २ वटा भवितव्य ज्यानका र प्रतिमहिना ३ वटा सार्वजनिक अपराधका घटनाहरू हुने गरेको जिल्ला प्रहरी कार्यालयले तयार पारेको अपराध विवरणमा उल्लेख छ।

मदिरा निषेध अभियानको घोषणा

जिल्ला समन्वय समिति रुकुम पश्चिमले जिल्लामा मदिरा निषेध अभियान थाल्ने घोषणा गरेको छ। जसअनुसार माघ ६ गतेदेखि जिल्लामा कुनै पनि मदिरा आउन दिएको छैन भने फागुन १६ पछि बिक्री वितरण नै नगर्न व्यापारीलाई अनुरोध गरेको छ। स्टक रहेको मदिरा तोकिएको समयभित्रै बिक्री गर्न र बिक्री नभएमा आ-आफ्नो कम्पनीमा फिर्ता गर्न भनेको छ।

प्रहरीले आपराधिक घटनाको प्रमुख कारक तत्त्व मदिरालाई मान्दै मदिरा नियन्त्रणसम्बन्धी योजना अघि सारेको थियो। जसमा जिल्ला समन्वय समितिले त्यसैलाई आधार मानी मदिरा आयात र सेवन राख्ने निर्णय गरेको हो। यसका लागि जिल्ला, स्थानीय तह, वडा हुँदै टोलसम्म पुगेको प्रहरीले जनाएको छ।

मदिरासम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको डिएसपी खड्काले बताए। त्यसका साथै हाल बजारबजारमा प्रहरी र वडा कार्यालयहरूको सहयोगमा स्थानीय मदिरा भेटिएका फाल्ने अभियान चलाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.