|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सुर्खेतको मुख्य चोकमा शहीद स्मारक निर्माण गर्ने बताएका छन्। शहीदको वलिदानीले कर्णाली प्रदेश प्राप्त भएको वताउँदै मुख्यमन्त्री शाहीले शहीदको सम्मान गर्नु प्रदेश सरकारको दायित्व भएको बताए। 

मंगलबार मुख्यमन्त्री कार्यालयमा प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा भएका घाइते अपांगको मागपत्र वुझ्दै मुख्यमन्त्री शाहीले घाइते तथा अपांगको लागि पनि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन्। ‘यो प्रदेश प्राप्तीको मुख्य देन शहीद र तपाई घाइते योद्धाको हो’, मुख्यमन्त्री शाहीले भने, ‘तपाइँहरूका माग जायज छन्, सरकार माग सम्वोधका लागि गंभीर छ।’ 

२०७२ साउन २५ गतेको प्रदेश प्राप्तिको आन्दोलनमा घाइते भएका आफूहरूले अझै पनि उपचार तथा हवाई यातायातको खर्च नपाएको भन्दै मुख्यमन्त्री शाहीसँग घाइतेले गुनासो गरेका छन्। उनीहरूले घाइते भइसकेपछि उपचारका लागि हवाइजवाज चार्टर समेत आफन्तले गरेको र चार्टरको भाडा पनि अहिलेसम्म सरकारले भुक्तानी नगरेको भन्दै उक्त भाडा भुक्तानीको माग गरेका छन्। 

घाइतेले मुख्यमन्त्री शाहीसँग थप उपचारको व्यवस्था,आफू र परिवारको योग्यता बमोजिम जीविकोपार्जन तथा रोजगारी र छोराछोरीको निशुल्क शिक्षाको समेत माग गरेका छन्।

प्रदेश संरचना निर्माणका क्रममा तत्कालीन सरकारले भेरी, कर्णाली र राप्तीका २ जिल्ला र सुदूरपश्चिमका सेती र महाकालीसहित एउटै प्रदेश निर्माण गर्ने निर्णय गरेपछि भेरी, कर्णाली र राप्तीका २ जिल्ला सहितको छुट्टै प्रदेशको माग गर्दै हरेक जिल्लामा आन्दोलन चर्किएको थियो। 

सोही आन्दोलनका क्रममा सरकारले वल प्रयोग गर्दा सुर्खेतमा ४ जनाको ज्यान जानुको साथै धेरैको संख्यामा घाइते तथा अपांग भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.