|

काठमाडौं : नेकपाको चौथो कार्यदलले मंगलबार बुझाउने भनिएको कार्यदलको प्रतिवेदन बुझाउन सकेन। नेकपाको सांगठनिक एकीकरणका बाँकी सम्पूर्ण जिम्मेवारी पूरा गर्ने म्याण्डेड दिएर गठन गरिएको कार्यदलले मंगलबार नेकपा सचिवालयलाई प्रतिवेदन बुझाउन भनिए पनि कार्यदलले प्रतिवेदन बुझाउन सकेन।

नेकपाको स्थायी कमिटीको बैठकले गएको पुस १३ गते पार्टी एकताको सम्पूर्ण काम पूरा गर्ने गरी सचिवालय सदस्य रामबहादुर थापा 'बादल' को नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो। तर कार्यदलले काम पुरा गर्नु त परको कुरा बैठक समेत बिचैमा रोकिएपछि नेकपाको सोमबार बसेको नेकपा सचिवालय बैठकले कार्यदलको कार्याधिकार खोस्दै अधुरै प्रतिवेदन भए पनि सचिवालयलाई बुझाउन आग्रह गरेको थियो। तर नेकपाको कार्यदलले प्रतिवेदन भने बुझाउन सकेन।

प्रतिवेदन त परको कुरा यसबारे कार्यदलभित्र कुनै छलफल नै हुन नसकेको कार्यदलका एक सदस्यले बताए। 'पार्टी सचिवालयले मंगलबार कार्यदलको प्रतिवेदन जस्ताको तस्तै बुझाउन भनेको थियो। तर आज यसबारे कार्यदलको कुनै छलफल भएन', ती सदस्यले भने, 'त्यसकारण प्रतिवेदन पास हुन सकेन।' पार्टीको एकताको सम्पूर्ण सांगठिक काम पूरा गर्ने जिम्मेवारी दिएर गठन गरिएको कार्यदलले काम गर्न नसकेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकताको बाँकी काम आफैले गर्नेगरी अधिकार आफ्नो हातमा लिने तयारी गरेकै बेला सोमबार बसेको सचिवालय बैठकले प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो।

केन्द्रमा दुई पार्टी (तत्कालीन एमाले र माओवादी) बीच एकता भए पनि एकताका बाँकी काम टुंगो लगाउन नेकपाको स्थायी समिति बैठकले गएको पुस १३ गते ९ सदस्यीय कार्यदल गठन गरेको थियो। पुस मसान्तसम्म काम सम्पन्न गरिसक्ने भनेको कार्यदलको मुस्किलले ५/६ वटा बैठक मात्र बस्न सक्यो। कार्यदलको काम अगाडि बढ्न नसक्दा एकता प्रक्रिया नै पछाडि धकेलिएपछि सचिवालयले अधुरो प्रतिवेदन मागेको हो।

नेकपाको गएको मंसिर २९ देखि पुस १३ सम्म चलेको स्थायी कमिटीको बैठकले सचिवालय सदस्य थापा 'बादल' को नेतृत्वमा ९ सदस्यीय शक्तिशाली कार्यदल गठन गरेको थियो। एकताको काम पूरा गर्नका लागि गठन गरिएको यो चौथो कार्यदल हो। यसअघि विभिन्न समयमा विभिन्न नेताहरूको नेतृत्वमा तीन वटा कार्यदल बनाइएको थियो। ती कार्यदलले पनि अधुरो काम मात्रै गरेका थिए।

चौथोपटक गठन गरिएको कार्यदललाई जिल्लाको नेतृत्व टुंग्याउने सहित बाँकी एकताका सम्पूर्ण काम पुरा गर्ने गरी अन्तिम खाका तयार पार्ने गरी अधिकार दिइएको थियो। तर यो कार्यदल पनि केही दिन बैठक बसेर बीचमै नेताहरूबीच बिवाद चुलिएपछि कार्यदलको बैठक बस्नै सकेको छैन। खासगरी यसअघिको कार्यदलले सिफारिस गरेको प्रदेश कमिटीको विषयमा कार्यदलका नेताबीच बिवाद भएको थियो।

प्रदेश कमिटीमा १० प्रतिशत छुटेका नेताहरू थप्ने भन्ने विषयले प्रवेश पाएपछि बिवाद चुलिएको हो। त्यसयता कार्यदलका नेताबीच बैठक बस्न सकेन। कार्यदलमा अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका ३/३ जना नेता सदस्य छन्।

यो पनि पढ्नुहाेस्ः

प्रतिवेदन बुझाउन नेकपा सचिवालयले दियो कार्यदललाई एकदिने म्याद

कार्यदलको अधुरो प्रतिवेदन माग्ने तयारीमा ओली-प्रचण्ड

नेकपा एकता : कार्यदलको बैठक बस्नै सकस

नेकपाको ३२ घण्टे बैठक : कार्यदलमाथि कार्यदल बनाउँदै सकियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.