|

धनगढी : धनगढी-रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) विजेताले ३० लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको पुरस्कार राशि सार्वजनिक गरेको हो।

दोस्रो संस्करणको विजेतालाई २५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको डिपिएलमा यस वर्षको विजेतालाई ३० लाख नगद दिइने एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए।

फाप्ला मैदानमा आयोजित पत्रकार सम्मेलनमा विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुने टोलीले ४ लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा मोस्ट भ्यालुएबल खेलाडीलाई गोल्डस्टार गोल्डेन स्पाइक सुनको जुत्ता प्रदान गरिने छ।

हरेक खेलका म्यान अफ द म्याचलाई १५ हजार र छक्का क्याच गर्ने दर्शकलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ। आइसीसीले मान्यता दिएको डिपिएलको तेस्रो संस्करण सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता हो। यस अघि पोखरा प्रीमियर लिग (पीपीएल) को बिजेताले २७ लाख र एभरेष्ट प्रीमियर लिग (इपिएल)को बिजेताले २५ लाख प्राप्त गरेका थिए।

माघ २६ गतेबाट फाप्ला क्रिकेट मैदानमा शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगितामा धनगढी स्टार्स, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, सीवाइसी अत्तरिया, काठमाण्डौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता हुँदै छ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजनामा ५ करोड बढी खर्च हुने जनाएको छ। प्रतियोगिता अवलोकनका लागि ५ हजार बढि अट्ने अस्थायी प्याराफिट निमार्ण गरिएको छ।

यस्तो छ डिपिएलको इतिहास

डिपिएल ‘होटल डिभोटी एसपीए कप’ र नेपालमै पहिलो पटक खेलाडीको अक्सन प्रक्रियाद्धारा आयोजित ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग’को मर्जरको नयां स्वरुप हो। एसपीए कपको सुरुवात सन् २०१० (४ लाख बजेट, प्रथम पुरस्कार २५ हजार) मा गरिएको थियो।

सन २०११ (१३ लाख कुल बजेट, प्रथम पुरस्कार १ लाख), सन् २०१३ (२५ लाख बजेट, प्रथम पुरस्कार २ लाख) र सन २०१५ को चौथो संस्करण (६० लाख बजेट, विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख पुरस्कार) सम्पन्न भएको थियो। त्यस्तै, पहिलोपटक विभिन्न ५ वटा स्थानहरुको नामबाट टिम बनाएर गत बर्ष आयोजना गरिएको अक्सनमा आधारित डिसीएल ३ मा विजेतालाई ३ लाख र उपविजेतालाई १ लाख ५० हजार रुपैयँ पुरस्कार दिइएको थियो।

यस्तो छ खेल तालिका

प्रतियोगिताको खेल तालिका यसअिघि नै सार्वजनिक भईसकेको छ। पहिलो खेल माघ २६ गते शनिबार दिउसो १ बजे सुरु हुनेछ। त्यसअघि उद्घाटन कार्यक्रम रहनेछ। प्रतियोगिता टि–२० को आधारमा हुनेछ। लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमस“गको विजेतास“ग फाइनल प्रवेशको लागि खेल्नेछ।

विशिष्ट व्‍यक्तिलाई सम्मान

दोस्रो संस्करणमाझै यस संस्करणमा पनि प्रतियोगिताको उद्घाटन समारोहमा डिसिएले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामामा सहभागी १ पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १-१ लाख रुपैया प्रदान गरिने छ। गतवर्ष धनगढी क्रिकेट सम्मानबाट नेपाली राष्ट्रिय टोलीका पूर्व-प्रशिक्षक राजु खड्का तथा अर्जुन अड्का स्मृती सम्मानबाट राखेपका पूर्व-प्रशिक्षक अरुणकुमार अर्याल सम्मानित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.