राष्ट्रिय फूलका साथै विभिन्न रोगको औषधिले छुट्टै महत्व

|

उदयपुर : कुनै पनि निकायले संरक्षणमा चासो नदेखाउँदा उदयपुरको पहाडी क्षेत्रबाट लालीगुराँस लोप हुँदै गएको छ। जिल्लाको महारभारत क्षेत्रमा पाइने विभिन्न प्रजातिका लालीगुराँस लोप हुँदै गएको हो।

नेपाल तथा भारतका पहाडी भूभागमा पाइने एक प्रकारको वनस्पति लालीगुराँस उदयपुरमा भने लोप हुँदै गएको पाइन्छ। प्रायः माघ फागुन तिर महाभारत क्षेत्रको डाँडाकाँडमा रातै भएर फूल्ने लालीगुराँस मासिँदै गएको सर्वसाधरण बताउँछन्। नेपालीको पहिचानसँग जोडिएको लालीगुराँस फूल नेपालको राष्ट्रिय फूल हो। राज्यले लालीगुराँसलाई राष्ट्रिय फुलको रुपमा पनि घोषणा गरे पनि संरक्षणको अभावमा उदयपुरमा भने मासिने क्रम वर्षेनी बढिरहेको जनकारहरुको भनाइ छ।

शिशिर ऋतुमा हिमाल र उच्च पहाडी जिल्लाहरुमा थरीथरी रंगमा फूल्ने लालीगुराँस उदयपुरको महाभारत क्षेत्रमा प्रशस्त पाइन्छ। तर, राज्यले संरक्षण गर्नका लागि हालसम्म कुनैपनि योजनाहरु नबनाउँदा दिन प्रतिदिन लोप हुँदै गएको कटारी नगरपालिका ११ का दानबहादुर मगर बताउँछन्। ‘यस कटारी नगरपालिका ११, १२ १३ नम्वरमा विशेष गरेर लालीगुराँसको वन छ,’ उनले भने, ‘संरक्षणको लागि विगतका दिनमा सरकारी निकायबाट कुनै पनि पहल भएन, स्थानीयले दाउरा प्रयोग गर्नाले र विभिन्न गाँउमा निर्माण गरिएका सडककै कारण मासिदै गएको छ।’

लालीगुराँस स्वास्थ्यको लागि अचुक औषधि पनि भएकाले संरक्षण नभएको अगुवा सर्वसाधरणहरुको भनाइ छ। फूलका विभिन्न प्रजाति संसारभरी नै पाइन्छन्। समुद्री सतहदेखि एक हजार तीनसय मीटर देखि ५ हजार ६ सय मिटरको उचाइसम्ममा गुराँस पाइन्छ।

उदयपुरको वन क्षेत्रमा पर्ने समुन्द्र सतहको दुई हजार एकसय उच्चाईसम्म पर्ने वन क्षेत्रमा विभिन्न प्रजातिका लालीगुराँस पाइने भएपनि अहिले लोप हुँदै गएको बुढापाकाको अनुभव छ। ताप्ली गाँउपालिकाको ताप्ली पोखरीका ८१ वर्षे लालध्वज मगरले महाभारत क्षेत्रमा रातो गाडा रंग भएको, सेतो अनि हल्का गुलावी रंग देखिने गुराँस पाइने गरेको बताउँछन। ‘त्यसको पनि विभिन्न प्रजाति हुँदो रहेछ,’ उनले भने, ‘सवैको नाम थाहा भएन, तर, सात आठ प्रकारका लागि गुराँस पाइन्थ्यो, अव हराउँदै गएको छ, तर, रातो र गुलावी रंगको गुराँस अहिले पनि देख्न पाइन्छ।’

लालीगुराँसलाई विभिन्न रुपमा औषधिसमेत बनाएर प्रयोग गर्न सकिने उनको अनुभव छ। उनी भन्छन्, ‘यसको फूललाई टिपेर छायामा सुकाई धुलो परेर बन्द भाडामा राख्ने र उक्त फुलको एक एक चम्चा धुलोलाई मिस्रि पानी वा दूधसँग खानाले स्वर बसेको ठीक हुने गर्छ।

पेटसम्बन्धी बिरामी भएकालाई गुराँस सेवन ठिक अचुक औषधि भएको बुढापाकाको अनुभव छ। रक्त अल्पता, रक्तचाप, आमवात, चिनी रोग जस्ता अनेकौ रोगबाट मुक्ति दिन पनि लालीगुराँसको फूल उपयुक्त मान्छिन। लालीगुराँसको जुस, जाम, तेल आदि बनाएर बेच्ने सकिने ग्रामीण विकास महाभारत विकास सँस्था हर्देनीका अध्यक्ष शंकर राउत बताउँछन्। ‘लालीगुराँसको ताजा वा सुकाएको फूल माछा पकाउदा हालेमा यसले माछाको काँडा नरम बनाउछ,’ उनले भने, ‘लालीगुराँसको जुस बनाउन हामीले एक पटक हाम्रो संस्थामार्फत सकारी निकायमा गुहार पनि मागेका थियौँ, तर, सुनुवाई भएन।’

लाली गुराँसलाई रास्ट्रिय फूलको रुपम २०१९ सालमा मान्यता दिईएको हो। नेपालको संविधान २०७२ ले पनि लालीगुराँसलाई राष्ट्रिय फुलको रुपमा मान्यता दिएको छ। नेपाली रुपैया ५ सय र एक हजारको नोटमा पनि लालीगुराँस अंकित गरिएको छ।

लालीगुराँस नेपालमा मात्र नभएर विदेशमा पनि त्यतिकै मन पराईएको फूल हो। लालीगुराँसको रुख भारतीय राज्य सिक्किमको रास्ट्रिय रुख पनि हो। उदयपुरको महाभारत क्षेत्रमा पर्ने त्रियुगा नगरपालिका, कटारी नगरपालिका, लिम्चुङबुङ, रौतामाई, ताप्ली, उदयपुरगढी गाउँपालिकामा गुराँस पाइन्छ।

त्यही लाली गुराँस संक्षणमा विशेष गरेर स्थानीय तहले ध्याँन दिनु पर्ने गाईघाट वन डिभिजन कार्यालयका सुचना अधिकारी जागेश्वर साहा बताउँछन्। उनी भन्छन्, ‘उदयपुरको महाभारत क्षेत्रमा रोडोडेन्ड्रन अर्वौरियम जुन फागुन देखि बैशाखको बीचमा फुल्छ, यसैगरी रोडोडेन्ड्रन ग्रान्डे प्रजातिको गुराँस पाइन्छ। त्यो पनि फागुन बैशाखमै फूल्ने हो।

चैत्र बैशाखमा फुल्ने रोडोडेन्ड्रन  हड्रोसोनाइ र रोडोडेन्ड्रन भिरगाटम अनि रोडोडेन्ड्रन थोमोसोनाइ बैशाख जेठमा फुल्ने गुराँस पाउने गरेको छ। ‘उदयपुरमा धेरै प्रकारका पाइदैन,’ गुराँसको बारेमा अध्यन नहुँदा भन्न सकिदैन,’ उनले भने, ‘सवै राष्ट्रिय वनमा पाइने भएकाले सडक निर्माण, बढ्दो जनसंख्याले दाउरा प्रयोग गर्नाले लोप हुँदै गएको छ।’

कटारी नगरपालिका ११ का वडा अध्यक्ष दिपक बुढाथोकीले गुराँस संक्षणमा अभियान चलाउनु पर्ने बतउँछन। यता लिम्चुङबुङ गाँउपालिका अध्यक्ष मेजर कुमार राईले गाँउपालिकाभरी फुल्ने गुराँस संरक्षणमा अभियान चलाउने पर्ने बताए। ‘गाउँपालिकाले अन्य गाँउपालिकासँग सहकार्य गरेर संरक्षण अभियान नै चलाउने तयारीमा छ,’ उनले भने, ‘उदयपुरको महाभारत क्षेत्रको लालीगुराँसलाई पर्यटनसँग जोडेर संरक्षण गर्नु पर्ने वेला आएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.