रोजगारीको सिलसिलामा ४० लाख युवा विदेशमा

|

डडेल्धुरा : हाल नेपालको कुल जनसंख्याको ४० लाखभन्दा बढी नेपाली युवा रोजगारीको सिलसिलामा विदेश पलायन भएका छन्। देशमा रोजगारी नपाएपछि नेपालको कुल जनसंख्याको १४ प्रतिशत अर्थात् ४० लाखभन्दा बढी युवा विदेशिएका हुन्।

नेपाल सरकार युवा तथा खेलकुल मन्त्रालय राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरले बुधबार डडेल्धुरा सदरमुकाममा आयोजना गरेको युवा नीति, युथ भिजन तथा युवासम्बन्धी कार्यक्रमका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो।

देशमा रोजगारीको सम्भावना कम भएपछि वार्षिकरूपमा लाखौँको संख्यामा युवा विदेशिन बाध्य छन्। देशमा रोजगारीको प्रशस्त सम्भावना नभएपछि विदेशिनु रहर मात्रै होइन, बाध्यता पनि हो। वैदेशिक रोजगारीमा जाने युवाको सीपमुलक तालिमको अवस्था पनि दयनीय रहेको राष्ट्रिय युवा परिषद्ले जनाएको छ। राष्ट्रिय युवा परिषद्का अनुसार दक्ष १.५ प्रतिशत, अर्धदक्ष २३ प्रतिशत र अदक्ष ७५ प्रतिशत युवा विदेश गएका छन्।

हाल नेपालमा २.३ प्रतिशत (नेपालको जनसंख्या तीन करोडलाई आधार मान्दा ६ लाख ९० हजार) युवा पूर्ण बेरोजगार रहेका छन्। यस्तै २८.३ प्रतिशत युवा अर्धबेरोजगार र ५०.५ प्रतिशत युवा कृषिमा संलग्न रहेको राष्ट्रिय युवा परिषद्का उपसचिव देवीप्रसाद अधिकारीले जानकारी दिए। 

उनले देश विकासको लागि युवाशक्तिको आवश्यकता अपरिहार्य रहेको बताए। १५औँ पञ्चवर्षीय योजनाका लागि युवाका सुझाव संकलन गर्न उपसचिव अधिकारीसहितको एक टोली बुधबार डडेल्धुरा पुगेको हो। सो क्रममा उनले वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई रोक्न र स्वदेशमै युवा स्वरोजगारी वा उद्यमशीलताको विकास गर्न सरकारले राष्ट्रिय युवा नीतिमा नेपाली युवालाई उद्यमशील बनाउने नीति लिएको बताए।

कार्यक्रममा नेपालमा युवाको वर्तमान अवस्था, राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद्को योजना र दूरदृष्टिका बारेमा जानकारी गराइएको थियो। अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले अवसरको अभावमा कुनै पनि युवाले निराश नहुनुपर्नेमा जोड दिए। युवाले निरास भई विदेश पलायन भएमा देशले कहिल्यै काँचुली फेर्न नसक्ने उनको भनाइ छ। उनले युवाले दृढ विश्वासका साथ अगाडि बढ्नुपर्ने धारण राखे।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले सरकारले युवालाई आफ्नै देशमा रोजगारी श्रृजना गर्नु पर्ने बताए। सरकारलाई युवालाई व्यवसायमा जोड्नका लागि व्यवसायिक योजना बनाउन उनको सुझाव छ। बेरोजगारीका कारण पछिल्लो समय सुदूरका गाउँ नै युवाविहीन हुनुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले तीन वटै सरकारले युवाका क्षेत्रमा काम गर्नु पर्ने र युवाहरुलाई देशै रोजगारीको व्यवस्था हुनु पर्ने बताए।

युवाको क्षमता अभिवृद्धिका लागि स्थानीय निकायले विशेष ध्यान दिनुपर्नेमा जिल्ला युवा समिति डडेल्धुराका अध्यक्ष भरत मल्लको जोड थियो। जिल्ला युवा समितिले पनि यहाँका युवालाई युवा सम्मान, सीप विकास तथा सीप मुलक तालिम प्रदान गरेको अध्यक्ष मल्लले जानकारी दिए। जिल्लाको अजयमेरु गाउँपालिकामा युवाको तथ्यांक संकलनको कार्य द्रूत गतिमा अघि बढिरहेको उनको भनाइ थियो। कार्यक्रममा सहभागी युवाले शैक्षिक योग्यता भएपनि आफूहरूले रोजगारी पनाएको दुखेसो पखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.