पहिलो अन्तर्राष्ट्रिय खेल हुने स्थान बन्दै फाप्ला

|

धनगढी : ‘विगतमा धनगढीको व्यस्त क्षेत्रमा आयोजना भइरहेको प्रतियोगिता पहिलोपटक फाप्लामा गर्दै हुनुहुन्छ, यति टाढा आउँछन् त दर्शक’ पत्रकारले प्रश्न सोधे। प्रश्नकर्ताले चिन्ता व्यक्त गर्दा पनि सुवासमा भने त्यो छनक देखिएन।

‘यहि हो हामीले बनाउन खोजेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला, एक न एक दिन त यहाँ आउनु नै छ। त्यसैले अहिलेनै ल्याउने सोच्यौँ।’ सुवासले मुस्कुराउँदै प्रतिउत्तर गरे। विगतका दुई संस्करण धनगढीको संघीय प्रहरी कार्यालयको खेल मैदानमा आयोजना भएको प्रतियोगिताको तेस्रो सस्‍करण फाप्लामा हुँदै छ। माघ २६ गतेदेखि आयोजना हुने प्रतियोगिताको तयारीका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा धेरैको ध्यान र चासो यति टाढा दर्शक आउलान् त भन्नेमा थियो।

सुवासको फाप्ला मोहले यसपटक सर्वाधिक धनराशिको प्रतियोगिता आयोजनामा ‘रिस्क’ लिएको केहीको बुझाइ छ। फाप्लामा १० लाख बढी रकम खर्च गरेर ५ हजार बढी अट्ने अस्थायी प्याराफिट निर्माण गरिएको छ। ‘कतै त्यो प्याराफिट नभरिने त होइन?’ अर्का प्रश्नकर्ताको प्रश्न। ‘हेर्नुहोला यहाँ दर्शक अटाउने छैनन्’ सुवासको जवाफ।

सुवास यो ठाउँ क्रिकेटको लागि सबैभन्दा बढी सम्भावना भएको ठाउँ हो भन्छन्। ‘केही वर्ष पहिले हामीले यहाँ अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने कुरा गर्दा हौसला दिनेभन्दा निराश हुनेहरू धेरै थिए तर, अहिले समय बदलिएको छ। सबै तह र तप्काबाट हामीलाई सहयोग भएको छ’ सुवास भन्छन्, ‘अब केही वर्षभित्रै ४० हजारभन्दा धेरै बसेर हेर्ने क्रिकेट रंगशाला बन्छ यो।’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले डिपिएलको तेस्रो संस्करणलाई मान्यता दिएसँगै यस प्रतियोगिताले विश्व क्रिकेट जगतको ध्यान पनि आकर्षित गर्न सफल भएको उनी बताउँछन्।

यस्तो छ ‘ड्रिम फाप्ला’

एसपिए कपको चौथो संस्करणमा प्रतिटिकट पाँच रुपैयाँ छुट्याएर ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएको हो। पछि डिपिएलका दुई संस्कणमा टिकटमा २० प्रतिशत छुट्टाएर ‘ड्रिम फाप्ला’ अगाडि बढेको सुवास बताउँछन्। ‘हामीले त्यो सांकेतिक आन्दोलन सुरु गरेका हौं सरकारलाई भित्र्याउन’ सुवासले भने, ‘त्यो दबाव थियो हाम्रो। हामी हाम्रो आन्दोलनमा सफल भयौँ। अहिले तीनै तहको सरकारले हाम्रो अभियानमा साथ दिएको छ।’

पिपिपी मोडलमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन सकिने सुवास बताउँछन्। अहिले सबै पक्षले त्यो अवधारणालाई स्वीकार गरेका छन्। ‘हामीले विश्व समुदायलाई हाम्रो अन्तर्राष्ट्रिय क्रिकेट मैदान देखाउन पनि डिपिएलको तेस्रो संस्करण यहाँ आयोजना गरेका हौँ’ सुवासले भने, ‘आइसिसीको पनि ध्यान गएको छ, त्यसैले हाम्रो लक्ष्य अब टाढा छैन।’

केही नीति बनेर अगाडि जान सकियो भने प्रत्येक नागरिकले सक्दो लगानी गर्ने उनी बताउँछन्। ‘सुदूरपश्चिम प्रदेशमा मात्रै करिब २५ लाख बढी जनसंख्या छ, प्रत्येकलाई १ हजारको सेयर दियौँ भने पनि २ सय ५० करोड रकम संकलन हुन्छ र सोचेको जस्तै स्टेडियम बनाउन सकिन्छ। त्यसका लागि सरकारले सजिलो कानुनी बाटो भने बनाइदिनुपर्छ,’ उनले थपे।

सुवासले परिकल्पना गरेको ४० हजार दर्शक अट्ने अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि २ सय ५० करोड लगानी लाग्ने अपेक्षा गरिएको छ।

१५ बिघा जमीन रहेको फाप्लामा आइसिसीको मापदण्डअनुसार क्रिकेट मैदान बनाउने सुवासको चाहना छ। ‘एकै पटक ४० हजार दर्शक अटाउने रंगशाला निमार्ण गरिहाल्नु पर्छ भन्ने होइन्। सुरुमा कम्तिमा ८ वटा पीच भएको, खेलाडीहरूलाई चेन्जिङ रुम लगायतको आधारभूत संरचना त तयार हुनुपर्‍यो नि!’ आधारभूत पूर्वाधारसहितको रंगशाला तत्काल निमार्ण गर्न सकिन्छ’ उनले भने, त्यसो भयो भने सन् २०२० सम्ममा पहिलो अन्तर्राष्ट्रिय खेल यहाँ गराइसक्छौँ।’

सुदूरपश्चिम प्रदेश सरकारले यहाँको क्रिकेट क्रेज देखेर फाप्ला क्रिकेट मैदानलाई अत्याधुनिक क्रिकेट मैदानका रूपमा विकास गर्न डिपिआर निमार्णका लागि भन्दै चालू आर्थिक वर्षमा पाँच करोड रकम विनियोजन गरेको छ। धनगढी उपमहानगरपालिकाले पनि यसमा १ करोड रकम थप गरेको छ।

यस्तो हुनेछ अन्तराष्ट्रिय क्रिकेट मैदान

खेलाडी उत्पादनको थालो

अन्डर १६, अन्डर १९ र राष्ट्रिय टिम सुदूरपश्चिका खेलाडी समावेश नभएको कुनै छैन। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा आयोजना हुने ठूला-साना खेलहरूले खेलाडी उत्पादनमा ठूलो भूमिका निर्वाह गरेको  छ।

कैलालीको धनगढीमा आयोजना हुने लिटिल फ्लावर होस् या क्यास्पियन कप। यसबाट विद्यालय स्तरदेखि क्रिकेटका खेलाडीहरू उत्पादन भइरहेका छन्। अन्य जिल्लाहरूमा पनि अन्तर विद्यालयस्तरीय, क्लबस्तरीय र कहिले काहिँ जिल्लास्तरीय पनि क्रिकेट प्रतियोगिता हुने गरेको छ।

‘खेलाडी चिनाउने र बिकाउने काम डिपिएलले गर्छ, हामी त्यसको धरातल निमार्ण गर्छौं’ लिटिल फ्लावर क्रिकेट प्रतियोगिताका संयोजक रामचन्द्र शाहीले बताए।

धनगढीमा तीन वटा एकेडेमीमा क्रिकेटको प्रशिक्षण भइरहेको छ। त्यो मध्ये सबैभन्दा धेरै प्रशिक्षार्थी रहेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही हुन्। उनी भन्छन्, ‘सुदूरका हरेक व्‍यक्तिमा क्रिकेटको मोह छ। मात्र उनीहरू अवसरको खोजिमा छन्। हामी त्यो अवसर जुटाइदिने माध्यम भएका छौं।’

क्रिकेटको उर्वर भूमि मानिने सुदूरपश्चिम प्रदेशले क्रिकेटका थुप्रै राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय खेलाडी जन्माइसकेको छ। भुवन कार्की, सुनिल धमला, राजु रिजाल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउँद, ललितसिंह भण्डारी, दिलीप नाथ, भीम सार्की, सन्दीप जोरा, सुवोध ऐर लगायतका क्रिकेटर यो प्रदेशले जन्माइसकेको छ।

अहिले नेपाली राष्ट्रिय टोलीमा यस क्षेत्रका खेलाडीहरूले राम्रो प्रदर्शन गरेका छन्। डिपिएलमा ट्यालेन्ट हन्टबाट छानिएका ६ जना मध्ये ५ जना सुदूरपश्चिमका हुन्।

पछिल्लो पटक युएईबिरुद्ध २०–२० डेब्यूमै अर्धशतक प्रहार गरेका खेलाडी सन्दीप जोरा कञ्चनपुरका हुन्। ‘सचिन जस्ता खेलाडी हाम्रा गाउँ–गाउँमा छन्’ शाही भन्छन्, ‘हामी ती खेलाडीहरूको खोजीमा छौँ।’

सुवासको क्रिकेट यात्रा

भारतीय सीमानजिक रहेकाले पनि सुदूरपश्चिममा क्रिकेटको माहोल विगतका वर्षदेखि नै थियो। तर, उपयुक्त मैदान थिएन। युवा मनोरञ्जनको लागि क्रिकेट खेल्थे। ‘एक दिन क्रिकेट खेल्दै रमाउँदै गरेको देखे। उनीहरू जिन्सको पाइन्ट लगाएर क्रिकेट खेलिरहेका थिए। त्यो दृश्यले मलाई भावुक बनायो’ सुवासले भने, ‘अब अरू कसैको बाटो कुरेर हुँदैन आफैँले सुरुवात गर्नुपर्छ भनेर मैले एसपिए कपको थालनी गरेँ।’

सुदूरपश्चिम एकेडेमी सुवास निर्देशक रहेको कलेज हो। यही नामबाट २०६६ सालदेखि एसपिए कप क्रिकेट थालनी भयो। एसपिए कपको पहिलो र दोस्रो संस्करण धनगढी रंगशालामा भयो। ०६८ पछि भने बजारको मध्यभागमा रहेको तत्कालीन अञ्चल प्रहरी कार्यालयको मैदानमा क्रिकेट सीमित भयो।

पहिलो संस्करणमा देशका विभिन्न १२ टोलीले सहभागिता जनाएका थिए। दोस्रो संस्करणमा देशका १५ कलेजको सहभागिता रह्यो। १८ लाख लागत रहेको प्रतियोगिताको विजेता काठमाडौंको नासा कलेजले १ लाख तथा उपविजेता कलैयाको आरआर क्याम्पसले ४० हजार पायो। यही संस्करणदेखि प्रतियोगिताले देशकै सर्वाधिक पुरस्कार राशिको ट्याग पायो।

२०६९ सालमा एसपिए कपको तेस्रो संस्करण आयेजना भयो। पहिलो संस्करणको विजेता काठमाडौंको पेन्टागन कलेजले नै २ लाखसहित उपाधि उचाल्यो। १६ टोली सहभागी यस संस्करणको कुल बजेट २५ लाख थियो।

यहीबेला शाहीले प्रतियोगितासँगसँगै क्रिकेट खेलाडी पनि उत्पादन गर्नुपर्छ भन्ने उद्देश्यले धनगढी क्रिकेट एकेडेमीको स्थापना गरे। एकेडेमीले नियमित अभ्याससँगै शनिबार र बिदाको समयमा मात्रै हुने गरी ६ महिनासम्म चल्ने धनगढी क्रिकेट लिग (डिसिएल) को आयोजनाको सुरु गर्‍यो। जसमा स्थानीय कैलालीका ८ वटा क्लबहरूले सहभागिता जनाउँथे। २०७० सालमा सम्पन्न डिसिएलको पहिलो संस्करणको उपाधि विजेता सिवाइसी अत्तरियालाई १० हजार नगद दिइएको थियो।

२०७१ सालमा एसपिए कपको चौथो संस्करण र डिसिएलको दोस्रो संस्करण सम्पन्न भयो। ६० लाख लागत रहेको एसपिए कपको यस संस्करणको विजेता शक्ति गौचन नेतृत्वको न्यू होराइजन कलेज बुटवलले ५ लाख पुरस्कार जितेको थियो। यता, डिसिएलको दोस्रो संस्करणको विजेता कैलाली बहुमुखी क्याम्पस (केएमसी) क्लबले २५ हजार पुरस्कार पाएको थियो।

त्यहीबेला शाहीले २०७२ मा भएको डिसिएलको तेस्रो संस्करण फ्रेन्चाइजी टोली बनाउँदै खेलाडी बोलकबोल (अक्सन) गराउने घोषणा गरे।

कैलालीका विभिन्न पाँच स्थानका टोलीहरू डीसीएलको तेस्रो संस्करणमा सहभागी थिए। प्रतियोगिताको उपाधि विजेता टिम चौराह धनगढीेले ३ लाख उपाधि उचालेको थियो। शाही लगायतको टोलीले २०७३ मा डिसिएल र एसपीए कपलाई गाँभ्दै डीपीएलको पहिलो संस्करणको घोषणा भयो। देशका ६ वटा शहरहरू फ्रेन्चाइजी टोलीका रूपमा जोडिए। काठमाडौंमा खेलाडीहरूको राष्ट्रियस्तरको अक्सन सम्पन्न भयो। खेलाडीले १ लाख ५० हजारसम्म एउटा प्रतियोगिता खेलेर पाए।

विजेता टिम चौराह धनगढीले १५ लाख र उपविजेता विराटनगरले ७ लाख हात पार्‍यो। प्रतियोगिताले लगानीका हिसाबले पनि ठूलो फड्को मारेको थियो।

सोही डिपिएलको दोस्रो संस्करण गत वर्ष धनगढीमा सम्पन्न भयो। ६ वटै फ्रेन्चाइजी टोली सहभागी प्रतियोगिताको विजेता टिम चौराहा धनगढी भयो। उसले उपाधिसहित नगद २५ लाख हात पार्‍यो। उपविजेता काठमाडौं गोल्डेनले १० लाख पायो। दुई जना विदेशी खेलाडी समेत खेलेको प्रतियोगिताको एक साता पछि तेस्रो संकरण हुँदैछ।

माग २६ गतेदेखि आयोजना हुने डिपिएलको तेस्रो संकरण विजेताले ३० लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउने भएको छ। उपविजेताले १२ लाख, तेस्रो हुने टोलीले ४ लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा मोस्ट भ्यालुएबल खेलाडीलाई गोल्डस्टार गोल्डेन स्पाइक सुनको जुत्ता प्रदान गरिने छ।

यस वर्षको डिपिएलमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डन्स गरी छ वटा फ्रेञ्चाइजी टोलीले सहभागिता जनाउँदै छन्।

नेपाली क्रिकेट खेलको इतिहासमा पहिलोपटक खेलमै लागेर खेलाडीलाई कमाउने अवसर सिर्जना गर्ने प्रतियोगिता डिपिएल हो। ‘तीन वर्ष अघिदेखि नै डिपिएलमा अक्सन गरेर छनोटमा पर्ने खेलाडीलाई कमाउने अवसर सिर्जना भएको छ’, एकेडेमीका अध्यक्ष शाहीले भने, ‘यो खेलको प्रभावस्वरूप अहिले देशका अन्य ठाउँमा हुने प्रतियोगितामा पनि खेलाडी अक्सन हुन थालेका छन्। ’

दोस्रो संस्करणको विजेतालाई २५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको डिपिएलमा यस वर्षको विजेतालाई ३० लाख नगद दिइने एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए। ‘हामी धनराशीसँगै क्रिकेटको गुणस्तर पनि सुधार गर्दै जान्छौँ, सुवासले भने, ‘अब क्रिकेट खेलाडीले खेल खेल्दा नाम र दाम दुवै प्रशस्त पाइन्छ भन्ने बनाउनुछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.