|

बिर्तामोड : सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शसस्‍‍त्र प्रहरीको एपीएफ र रुपन्देही–११ बीच प्रतिस्‍पर्धा हुने भएको छ।

स्थानीय कन्काई माविको खेलमैदानमा बिहिबारको अन्तिम सेमिफाइनलमा रुपन्देहीले मनाङ मर्स्याङदी क्लबलाई टाइब्रेकरमा ४-३ ले हरायो। 

टाइब्रेकरमा रुपन्देहीका विक्रम लामा, रजिन धिमाल, विमल घर्ती मगर र कप्तान तथा गोलरक्षक दिलीप क्षेत्रीले गोल गरे। विजय धिमालको प्रहार मनाङका गोलरक्षक किरण चेम्जोङले बचाए। 
मनाङका तर्फबाट कप्तान अनिल गुरुङ, हेमन गुरुङ र गोलरक्षक किरण चेम्जोङले गोल गरे। सुजल श्रेष्ठ र निराजन मल्ल गोल गर्नबाट चुके। 

निर्धारित समयमा गोल भएन

यसअघि निर्धारित समयमा आक्रामक खेलेर पनि दुबै टोलीले गोल गर्न सकेनन्। पहिलो हाफको ३२औँ मिनेटमा मनाङका हेमन लामाको प्रहार रुपन्देहीका गोलरक्षक तथा कप्तान दिलीप क्षेत्रीले जोगाए। लगत्तै रुपन्देहीका दिपक राईको प्रहार बाहिरियो। दोस्रो हाफमा रुपन्देहीका विजय धिमाल र मनाङका विश्वास श्रेष्ठको कडा प्रहार गोलमा परिणत हुन सकेन। अन्त्यतिर मनाङका विदेशी खेलाडी ओलावालेको प्रहारले सही दिशा लिन नसक्दा मनाङ चुक्यो। खेलअवधिभर दुबै टोलीका गोलकिपरले उत्कृष्ट सेभ गरे।

'म्यान अफ द म्याच' रुपन्देहीका विक्रम लामा घोषित भए। उनले मोबाइल सेट प्राप्त गरे। त्यसैगरी झापाका युवा व्यवसायी एसपी प्रसाईंले मनाङका खेलाडीहरु किरण चेम्जोङ र सुजल श्रेष्ठ तथा पहिलो गोल गर्ने अनिल गुरुङलाई जनही २\२हजार रुपैयाँ प्रदान गरे।

खेलमा मनाङका कमल श्रेष्ठ, विदेशी खेलाडीहरु सीसोका, ओलावालेले तथा रुपन्देहीका लक्ष्मण रुचाल र शिव सुवेदीलाई मुख्य रेफ्री लव खत्रीले पहेँलो कार्ड देखाए। 

यसअघि पहिलो सेमिफाइनलमा पुलिस क्लबलाई टाइब्रेकरमा हराउँदै एपीएफले फाइनल यात्रा तय गरेको थियो। शनिबार हुने फाइनलमा अब एपीएफ र रुपन्देही-११ भिड्नेछन्। प्रतियोगिताको विजेता टोलीले नगद ३ लाख ५१ हजार रुपैयाँ तथा उपविजेता टोलीले नगद २ लाख ५१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिताको आयोजना सुरुङ्गा जेसीजले गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.