|

सुर्खेत : बैंकहरूले मनपरी ढंगले ब्याज बढाएको भन्दै सुर्खेत उद्योग वाणिज्य संघले बिहीबार बैंक बहिष्कार गरेको छ। सिण्डकेट जसरी एकपक्षीय रुपमा बैंकहरूले निर्धारण गरेको चर्को ब्याजदरका कारण व्यापार व्यवसाय नै धराशायी हुने स्थितिमा पुगेको निष्कर्षसहित सुर्खेत उद्योग वाणिज्य संघल एकदिने बैंक वहिष्कार गरेको हो।

संघका सुर्खेत अध्यक्ष धनबहादुर रावतले वार्षिक ३ अर्ब रुपैयाँसम्म मुनाफा कमाएको दाबी गर्ने बैंकहरूले व्यवसायीहरूको बाध्यताको नाजायज फाइदा उठाउन खोजेको टिप्पणी गरे। बैंकहरूले आपसी सिण्डिकेट चलाएर व्यापारी व्यवसायीलाई टाट पल्टाउने गरी आफूखुसी ब्याजदर निर्धारण गर्ने गर्दा पनि राज्य मूकदर्शक बनेको भन्दै उनले असन्तुष्टि जनाए।

‘सुरुमा सस्तो ब्याजदरको आश्वासनमा ललाईफकाई ऋण लिन उक्साउने, अनि घरघडेरी धितो राखेर ऋण लिएपछि ढाडै सेकिने गरी ब्याज बढाउने?’ उनले भने ‘यो कत्तिको न्यायसंगत हो?’ एउटा व्यापारीले दुई प्रतिशत मात्र फाइदा खाएर व्यापार गर्दा कालोबजारी गरेको देख्ने राज्यले बैंकहरूको सिण्डिकेट र कालोबजारी गरेको नदेख्नु वा नदेखे झैं गर्नु आश्चर्यजनक भएको उनको भनाई छ।

यस्तै संघका उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतले व्यापारीबाट चर्को ब्याज असुलेर आर्थिक समृद्धि नहुने भन्दै समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा गर्न पनि निजी क्षेत्रको साथ र सहयोग चाहिने बताए। ‘निजी क्षेत्रले सहजतापूर्वक लगानी र व्यापार गर्नसक्ने अवस्था नभए कर्णाली प्रदेश जस्तो आर्थिक रुपले कमजोर प्रदेशमा आन्तरिक र वाह्य कुनै पनि किसिमका लगानी भित्रिन सक्दैन,’ उनले भने ‘यसमा सरकारले गम्भिर हुनु पर्छ।’

बैंकहरूको चर्को ब्याजको मारमा सबैभन्दा धेरै साना तथा मझौला व्यापारी र उद्योगी मारमा परेको भन्दै व्यापार व्यवसायबाटै पलायन हुनुपर्ने विकराल अवस्था सिर्जना हुन लागेको व्यापारीहरूको गुनासो छ।

संघका महासचिव लक्ष्मण कंडेलले बैंकहरूले व्यावसायिक ऋणको ब्याजदर घटाएर ७ प्रतिशतमा नझारे आफ्ना पसल व्यवसाय बन्द गरेर सरकारलाई चाबी बुझाएर पलायन हुने स्थिति आउने भन्दै चिन्ता व्यक्त गरे। ऋण लगानी गर्दा कम ब्याजदर देखाउने र घरखेत धितो राखेर ऋण लिएपछि ढाड सेकिने गरी ब्याज बढाउने कार्य बैंकहरुका लागि पनि प्रत्यूपादक हुने उनको चेतावनी छ।

पहिलो चरणमा सांकेतिक रुपमा शालिन ढंगले शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको भन्दै उनले व्यापारीका मागको सुनुवाई नभए कठोर संघर्ष गर्ने  चेतावी दिए। ‘ब्याजमा गरेर वृद्धि हुँदै आर्थिक समृद्धि,’ ‘बैंक थरीथरी ब्याज मनपरी’ लगायतका नारासहितका प्लेकार्ड बोकी विरोध प्रदर्शन गरेका थिए।

व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवमार्फत् अर्थमन्त्रीलाई विरोधपत्रसमेत बुझाएको छ। तीन तहका सरकारले लगाएका करलाई परिस्थितिजन्य बाध्यता र आर्थिक समृद्धिको आवश्यक्ताका रूपमा लिए पनि बैंकहरूको चर्को ब्याजले व्यापार व्यवसाय चौपट हुने अवस्था आएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको छ।

व्यापारीहरूले बैंकहरू पञ्चायतकालीन सामन्ति जमिन्दार जस्ता भएको आरोप लगाएका छन्। उतिबेलाका सामन्ति जमिन्दारहरूले ललाइफकाइ जाली तमसुक गरेर ऋण दिने र पछि त्यहि जाली तमसुकका आधारमा झुक्याएर ऋणीको घरखेत कब्जा गर्ने जस्तै व्यवहार बैंकहरूले देखाएको उनीहरूको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.