|

पाँचथर : प्रधानाध्यापकको कुटपिटबाट पाँचथरको फिदिम माविको कक्षा नौमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्बर–४ रविका रोहित राई छन्। उनको सदरमुकाम फिदिमस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

उपचारमा संलग्न स्वास्थ्यकर्मी दीपक अधिकारीका अनुसार बाहिर चोट नदेखिएको तर रिङ्गटा लाग्ने समस्य देखिएकोले ‘हेड इञ्जुरी’ भएको हुन सक्ने बताए। २४ घण्टासम्ममा रिङ्गटा लागेर वान्ता गरे सिटी स्क्यान गर्नु पर्ने अवस्था आउने बताए। उनका अनुसार रोहितलाई दुखाई कम गर्ने औषधि दिइएको छ।

प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपिटबाट राई घाइते भएपछि सोही कक्षमा अध्ययनरत कृति लिम्बू, निशान सापकोटालगायतले स्टेचरमा बोकेर उपचारका लागि जिल्ला अस्पताल ल्याएका थिए। अस्पतालमै भेटिएकी कृतिले प्रधानाध्यापक खत्रीले बेञ्ज बंग्याएको भन्दै पालैपालो अन्य विद्यार्थीहरूलाई कुटपिट गरेको र रोहितलाई भने टाउकोमा मुक्का प्रहार गर्दै कार्यालय कक्षमा लगेर कुटपिट गरेको बताइन्।

‘मैले होइनभन्दा पनि सरले मुखमुखै लाग्छस्’ भन्दै टाउकोमा मुक्का प्रहार गरेर तान्दै अफिस लगेर कुट्नुभो’ कृतिले भनिन् ‘रोहितको गल्ती थिएन। ऊ इमान्दार पनि छ।’ अर्का विद्यार्थी निशान सापकोटाले भने कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले बेञ्च बंग्याएको भए पनि दश जना जति विद्यार्थीले प्रतिव्यक्ति २० रूपैयाको दरले निकालेर सोझ्याएको तर प्रधानाध्यापक खत्रीले कुटपिट गरेको बताए।

यता विद्यार्थीका अभिभावक रीता राईले भने विद्यार्थीले गल्ती नै गरे पनि चेतावनीस्वरूप पाट्पुट कुट्नु पर्नेमा घाइते हुने गरी कुटपिट गरेको भन्दै कुटपिटमा संलग्न प्रधानाध्यापकलाई कारवाहीको माग गरेकी छन्। यता विद्यालयका शिक्षक लक्ष्मीप्रसाद भण्डारीका अनुसार प्रधानाध्यापक खत्री दिउँसै जिल्लाको एकतीनतर्फ लागेको बताए।

खत्रीलाई पटकपटक टेलिफोन गर्दा पनि उनले फोन उठाएनन्। शिक्षक भण्डारीले भने सेण्ट-अप परीक्षा सञ्चालन भइरहेकाले ड्युटीमा रहँदा के-के भयो भन्ने थाहा नभएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.