|

उदयपुर : किसानले कुचोको रूपमा अम्रिसोको फूल बिक्री हुन थालेपछि व्यावसायिक रूपमा खेती गर्न थालेका छन्। अम्रिसोको फूल कुचोको रूपमा बिक्री हुन थालेपछि आम्दानीको बनाउन व्यावसायिक रूपमै खेती गर्न थालेका हुन्।

लामो डाँठ हुने एक प्रकारको घाँस मानिने अम्रिसोको फूल नै किसानको अम्दानी स्रोत बनेको हो। ‘अम्रिसोको फूल कुचोको रूपमा बिक्री हुन्छ,’ कटारी नगरपालिका ११ मनि कटुवाल भन्छन्, ‘अम्रिसोको डाँठ गाईवस्तुलाई घाँस हुन्छ, त्यसको फूल बेचेको पैसा आउँछ।’

बेचेर आम्दानी गर्न थालेपछि किसानले नगदेबालीको रूपमा लिएका छन्। खाली जमिन तथा सामुदायिक वन क्षेत्रमा सामान्य मिहिनेतले अहिले अम्रिसो खेती बढ्दै गएको छ।

उदयपुरको पहाडी क्षेत्र र चुरे वन क्षेत्रमा प्रशस्त रूपमा अम्रिसो खेती हुन थालेको छ। जिल्लाका रौता, भलायडाँडा, पञ्चावती, कटारी, रिस्कु, बेल्टार, हडिया, जोगीदह, सुन्दरपुर, बसाहा, रामपुर, मैनामैनी, कटुन्जेववला, खाँबु, साउने, हर्देनी, कटारी, लेखानी, मयाँखु, ठानाँगाँउ लगायत क्षेत्रका व्यवसायिक रुपमा अम्रिसो खेती हुँदै गएको छ।

सामुदायिक वन क्षेत्र वा निजी जग्गामा रोपिएको अम्रिसो खेतीबाट किसानले वार्षिक रूपमा तीन लाखसम्म आम्दानी गर्ने गरेको रौताका किसान जितुहर्क तामाङ बताउँछन्। ‘सामुदायिक वन क्षेत्रको नांगो डाँडा र आफ्नो बारीलाई सदुपयोग गर्दै यो खेतीलाई आम्दानीको मुख्य स्रोत बनाउन थालिएको छ,’ उनले भने, ‘सानो लगानी र थोरै मिहिनेतले उत्पादन गर्न सकिन्छ। वनको सुरक्षाका लागि भन्दै कतिपय ठाउँमा सामूहिक अम्रिसो खेतीसमेत गरिएको छ।

अम्रिसोको फूलबाट कुचो प्रयोग गर्न सकिने र अर्कोतर्फ पात खुवाउँदा गाईभैंसीको दूध बढ्ने किसानको भनाइ छ। ‘गाईवस्तुको लागि पोसिलो घाँस मान्छि,’ कटारी नगरपालिका १३ सावित्री राउत भन्छिन, ‘फूलको कुचो बनाएर विक्री गर्दा घर खर्च टर्ने पैसा कमाउन सकिन्छ।’

परिवारलाई पालन–पोषण, शिक्षा–दीक्षा दिन र चाडपर्वमा खर्च गर्न समेत अम्रिसोबाट पैसा कमाउन सकिने किसानहरुको भनाइ छ।

अम्रिसोको फूल तयार हुने वेला व्यापारीहरु गाउँघरमै पुग्ने भएकाले बिक्रीको लागि किसानलाई सजिलोसमेत भएको छ। अम्रिसोको कुचो गाईघाट, कटारी, बेल्टार लगायतका बजारमा पुग्ने गरेका छन्।

कटारी नगरपालिका-२ का मेघबहादुर कार्कीले अम्रिसोको फूलबाट बनेको एउटा कुचोको गाउँमै ३० देखि ३५ रुपैँयामा बिक्री हुने गरेको बताए। ‘जति उत्पादन गर्न सके पनि कुचोका लागि व्यापारीहरु गाउँमै आएर खरिद गर्ने गरेका छन्।’ उनले भने, ‘व्यापारी नै गाउँघरमा कुचो लिन आउने भएकाले बजारीकरणको खासै समस्या छैन।’

कम लागतमा अम्रिसो खेतीबाट छिटो प्रतिफल पाउने र भूक्षय हुने क्षेत्रमा रोप्दा फाइदा हुने गाईघाट डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी जागेश्वर साह बताउँछन्। ‘उदयपुरमा अम्रिसो खेतीको लागि सरकारी तथा गैरसरकारी रूपमा सहयोगसमेत जाने गरेको छ,’ उनले भने, ‘पछिल्लो समय जंगललाई हराभरा बनाउन पनि अम्रिसो खेती सुरु गरिएको छ।’

गाँउ-गाँउमा पुगेका ग्रामीण सडकसँगै अहिले अम्रिसो खेती फष्टाउँदै गएको छ। घाँस र कुचोको लागि प्रयोग हुने भएपछि किसानले निजी जग्गामा समेत खेती गर्न थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.