|

सुनसरी : इटहरीमा सञ्चालित तीनवटा पानी उद्योगको उत्पादन रोक्का भएको छ। सरकारले बनाएको मापदण्ड पूरा नगरेको र पूरा गर्न तत्परता नदेखाएको भन्दै तीनवटा पानी उद्योगको उत्पादन रोक्का गरिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीको अगुवाइमा बिहीबार सरोकारवालाहरूले गरेको अनुगमनमा प्रशोधित पिउने पानी उत्पादन निर्देशिकाले तोकेको मापदण्ड पूरा नगरेको भन्दै उत्पादन रोक्का गरिएको खाद्य अनुसन्धान अधिकृत विक्रम लिम्बूले जानकारी दिए।

अनुगमनमा सुनसरीको इटहरी ५ मा रहेको पारिजात जल उद्योग, कोसी जल उद्योग र एभरेष्ट वाटर इण्डस्ट्रिजलाई मापदण्ड पूरा नगरेसम्मका लागि उत्पादन रोक्न निर्देशन दिइएको छ। सरकारले प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ जारी गरेको छ। निर्देशिका जारी भएपछि ६ महिनासम्म यसअघि नै सञ्चालित उद्योगहरूलाई मापदण्ड पूरा गर्न समय दिइएको थियो। तर समयभित्र मापदण्ड पूरा नगरेकाले उत्पादन रोक्का गरिएको खाद्य नियन्त्रण तथा गुण नियन्त्रण कार्यालयका प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत लिम्बूले बताए।

उनले भने, 'निर्देशिकाले पिउने पानीको प्लान्ट अटोमेटिक हुनुपर्ने भनेको छ तर ती उद्योगहरूमा अटोमेटिक प्लान्ट भेटिएन।' उनका अनुसार यसअघि पनि ती उद्योगहरुलाई मापदण्ड पूरा गर्न भनिएको थियो। डिभिजन कार्यालयसहित इटहरी उप महानगरपालिका, जिल्ला प्रशासन कार्यालयका अधिकारीसमेत अनुगमनमा सहभागी थिए। अनुगमन टोलीले इटहरीका हिमधारा पानी उद्योग र एभरेष्ट फुड एण्ड वेभरेज प्रालीमा समेत अनुगमन गरेको थियो।

ती उद्योगमा भने निर्देशिकाले तोकेको मापदण्ड पूरा गरिएको भेटिएको छ। अनुसन्धान अधिकृत लिम्बूले जिल्लामा सञ्चालित पानी उद्योगहरुको निरन्तर अनुगमनसमेत गरिने बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.