|

रौतहट : रौतहटका नगरपालिकाका उपप्रमुखहरू नगरप्रमुखविरुद्ध खुलेर नै उत्रिन थालेका छन्। गरुडा र फतुवा विजयपुर नगरपालिकाका नगर उपप्रमुखहरूले त पत्रकार सम्मेलन नै गरेर नगरपालिकामा अनियमिता भएको जानकारी गराएका छन्। रौतहटको १६ वटा नगरपालिका र २ वटै गाउँपालिकाका उपप्रमुखहरू नगरप्रमुखदेखि भित्रभित्रै रुष्ट छन्।

नगर प्रमुखहरूले एकलौटी रुपमा मनोमानी गरेको उनीहरूको आरोप छ। नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा करोडौं रुपैयाँ अनियमितता भइरहेको उपमेयर कान्ति देवी महतोले आरोप लगाएकी छन्। उप प्रमुख महतोले पत्रकार सम्मेलनको आयोजना गरी नगर प्रमुख गोपाल यादव र प्रशासकिय अधिकृत सागर कुमार रोक्काको मिलोमतोमा करोडौं रकम अनियमितता भइरहेको सार्वजनिक गरेकी हुन्।

नगरपालिकाअन्तर्गत रहेको लालबकैया नदीको ग्रेभल,बालुवा निकाल्ने टेण्डर रद्ध गरी आफ्ना मानिसबाट दैनिक लाखौं रुपैयाँ अबैध अशुली गरेर अनियमितता गरेको उपप्रमुख महतोले पत्रकार सम्मेलनमा बताइन्। दुईमहिना अघि नगरपालिकाले लालबकैया नदीको टेण्डर आव्हान गर्दा गुगल कन्स्ट्रक्सनले दुई करोड ९९ लाखको फर्म भरेको थियो। उक्त टेण्डर गुगल कन्स्ट्रक्सनलाई दिनुपर्ने कार्यपालिकाको बैठकले लिखित निर्णय समेत गरेको थियो। तर बिभिन्न बखेडा झिकेर उक्त टेण्डरलाई स्थगित गरी नगर प्रमुख यादव र अधिकृत रोक्काको मिलोमतोमा गिटी, बालुवा बापत दैनिक लाखौं रुपैयाँ असुुलेर अनियमितता गरिरहेको उपप्रमुख महतोले जानकारी गराइन्।

गिटी,वालुवाबापत फतुआ नगरपालिकाअन्तर्गत लालबकैया नदीबाट दैनिक एकलाख ५० हजारदेखि दुईलाख रुपैयाँसम्म असुली हुने गरेको पत्रकार सम्मेलनमा बताइएको छ। प्रतिदिनको अशुलीको दरले दुईमहिनाको हिसाव गर्दा एककरोड रुपैयाँ भन्दा बढी हुन्छ, यत्रो ठूलो रकम नगर प्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत रोक्काको मिलोमतोमा अनियमितता भएको उप प्रमुख  महतोले दावी गरिन।

लालबकैया नदीको टेण्डर आव्हान गर्न पटक पटक प्रमुखलाई भन्दा आफनो मनपरी गर्ने र कार्यपालिकाको कुनै वास्ता नगर्ने उनको दावी छ। हालसम्म नगर सभा नै नगरी नगर प्रमुख यादव र अधिकृत रोक्काले बिभिन्न शिर्षकको करोडौं रकम खर्चेको उप प्रमुखको आरोप छ। कार्यपालिकाको  २१ जना सदस्य मध्ये ८ जना वार्ड अध्यक्ष सहित १७ जना सदस्य आफनो पक्षमा रहेको  समेत उनीले प्रष्ट पारिन्। सदस्यहरू मध्ये आफूसहित,आठ जना वडा अध्यक्ष,आठजना सदस्य गरी १७ जना एकतर्फ रहेको छ। नगर प्रमुखको पक्षमा नगर प्रमुख सहित ४ जना मात्र रहेका छन्। नगर प्रमुख यादव कांग्रेसबाट निर्वाचित हुन भने उप प्रमुख महतो तत्कालीन माओवादीबाट निर्वाचित हुन्।

यता नगर प्रमुख गोपाल यादवले टेण्डर प्रक्रियामा त्रुटि भएको कारण तत्काल केही कर्मचारी र नगरपालिले तोकेको मानिसले गिटी, बालुवा बापतको रकम रसिद काटेर असुली गरिरहेको बताए। उनले रसिद अनुसार रकम संकलन भइरहेको हुँदा कुनै अनियमितता नभएको र हालसम्म झण्डै २५ लाख रुपैयाँ संकलन भएको जानकारी गराए। आउँदो फागुन ३ गते नगर सभा गर्ने तयारी भइरहेको समेत नगर प्रमुख यादवले बताए। यसैगरी प्रमुख प्रशासकीय अधिकृत सागर रोक्काले आफू बिदामा रहेकाले अर्को टेण्डर आव्हान हुन नसकेको र अशुल भएको रकमबारे आफूलाई पूरा जानकारी नभएको बताए।

‘पुलको निर्माण कार्य नहुँदै ९० लाख भुक्तानी’ 

यसैगरी गरुडा नगरपालिकाकी उपप्रमुख रंगिलादेवी जयसवालले पनि नगर प्रमुख इन्नु राय यादवले बजेटको रकम अनियमित गरेको आरोप लगाएकी छन्। केही महिना अगाडि गरुडा नगरपालिकामा आफ्नै कार्यकक्षमा पत्रकार सम्मलेन गर्दै उपप्रमुख जायसवालले नगर प्रमुख यादवले आफ्नो मनमानी ढंगबाट काम नै नभएको योजनाहरूको भुक्तानी गरेको आरोप लगाइन्। आर्थिक वर्ष २०७५/०७६ को विकास निर्माण कार्यको विनाअनुगमन भुक्तानी गरेको बताइन्।

आर्थिक वर्ष २०७४/०७५ मा वडा १ र ६ मा संघीय सरकारबाट प्राप्त भएको बजेटबाट ३ बटा पुल निर्माण गर्नु पर्नेमा पुलको निर्माण कार्य नहुँदै ९० लाख भुक्तानी गरिएको दावी गरिन्। उपप्रमुख जायसवालले पारदर्शी रुपमा कार्य गर्नु पर्ने सुझाव दिँदा पनि प्रमुख यादवले कुनै वास्ता नगरी आफ्नो मानोपोली गर्ने गरेकोले बाध्य भएर पत्रकार सम्मलेन गरेको बताइन्।

भाडाका गाडी प्रयोगमा नरहे पनि त्यसको भाडा नगरपालिकाबाट भुक्तानी भइरहेको हुँदा विगतमा भएको कार्य र भुक्तानीको गहन रुपमा छानविन हुनु पर्ने माग गरिन्। उनले भनिन, ‘योजनाहर"को अनुगमन भएपछि भुक्तानी गर्नु पर्नेमा सो नगरी सlधै भुक्तानी दिने गरेको छ।' न्यायिक समितिको संयोजक समेत रहेकी जायसवालले जनताको अपेक्षा अनुसार काम गर्नु पर्नेमा प्रमुख यादवले जनभावना विपरित कार्य गरिरहेको सुनाइन्।

पत्रकारले सोधेको प्रश्नको जवावमा उपप्रमुख जायसवालले आफूलाई कुनै बस्ता नगरेका कारण पीडि़त भएको दुखेसो पोखेँ। जनताको मतबाट निर्वाचित भएर आएकोले दुवै सामान्य अधिकार भएकोले विभेद गर्नु दुःखद भएको टिप्पणी गरिन्। नगर प्रमुखका छोरा अनिल यादवले आफ्नै पुर्खौली सम्पत्तिलाई भोगचलन गरेजस्तै सो नगरपालिकालाई संचालन गर्दे आएका र नगर प्रमुखको आदेश भन्दा छोरा यादवको आदेश सो नगरपालिकामा लाग्ने गरेसँगै स्थानीय रुष्ट बन्न पुगेको पत्रकार सम्मेलनमा आएका वडा अध्यक्ष चुनचुन साहले आक्रोश व्यक्त गरे। गरुडा नगरपालिकाका नगर प्रमुख फोरम नेपालबाट निर्वाचित हुन भने नगर उप प्रमुख नेपाली कांग्रेसबाट निर्वाचित हुन।

उप प्रमुख क्लब रौतहटकी अध्यक्ष किरणकुमारी ठाकुरले रौतहटका अधिकांश नगरपालिकामा नगर प्रमुखदेखि उप प्रमुख पीडित बन्ने गरेको बताएकी छन्। नगर प्रमुखहरूले एकलौटी अधिकार प्रयोग गरेर बजेटको दुरुपयोग गरेको उनको आरोप छ। यसले राम्रो सन्देश नदिने उनको भनाइ रहेको छ। उप प्रमुख पनि जननिर्वाचित हुन भन्ने कुरा नगर प्रमुखले बुझनु पर्ने ठाकुरले बताइन्।

अधिकार एकलौटी हाेइन बाँडेर नगरको विकास गर्नु पर्ने उनको धारणा थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.