|
File Photo

सुर्खेत : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले राज्यले अवलम्बन गरेको समावेशी चरित्रलाई अर्थपूर्ण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

रेडियो प्रसार सेवा विकास समितिको आयोजनामा ‘समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारणसम्बन्धी तालीम’को आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले समावेशिता संघीय व्यवस्थाको अभिन्न अंग बन्न पुगेको बताए।

मन्त्री भण्डारीले संघीयताप्रति नागरिकको विश्वास बढाउन सञ्चारमाध्यम पनि समावेशी हुनुपर्ने बताए। उनले भने, 'समावेशीसहितका परिवर्तनका आयामलाई जोगाउन मिडियाको भूमिका महत्वपूर्ण हुन्छ, त्यसैले राज्यले अवलम्बन गरेका चरित्र मिडियाले पनि अवलम्बन गर्नैपर्छ।' नेपाललाई सधैं असफल प्रयोगशाला बनाउने छुट कसैलाई नभएकाले प्राप्त उपलब्धिलाई सबै लागेर संस्थागत गर्नुको विकल्प नभएको उनको भनाइ थियो।

मन्त्री भण्डारीले प्रदेश सरकारले आफ्नै रेडियो र टेलिभिजन स्थापनाका लागि बजेटसमेत विनियोजन गरिसकेको जानकारी दिए। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले सञ्चारमाध्यमले जनप्रतिनिधिबाट हुने एकाध कमजोरीलाई अनावश्यक महत्व दिएर सिंगो व्यवस्थाविरुद्ध जनमत बढाउने काम गर्न नहुने विचार व्यक्त गरे।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सन्तोषकुमार खत्रीले राज्यले अंगालेको समावेशी सिद्धान्तलाई सबै सञ्चारमाध्यमले पनि अवलम्बन गर्न जरुरी रहेको धारणा राखे।

रेडियो नेपालका तालीम शाखा प्रमुख जनार्दन विष्टले सबै भाषाभाषी र जातजातिलाई राष्ट्रिय मूल प्रवाहमा जोड्ने समावेशी प्रसार सामग्रीको उत्पादन तथा प्रसारणलाई जोड दिएको बताए।

उद्घाटन सत्रमा रेडियो नेपालका समाचार शाखा प्रमुख पवन प्याकुरेल, प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकीशरण साह, प्रदेश प्रमुखका प्रेस सल्लाहकार श्रीधर पौड्याल, नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश समितिका अध्यक्ष दुर्गा थापा, मन्तव्य व्यक्त गरेका थिए।

तीन दिनसम्म सञ्चालन हुने उक्त तालीममा कर्णाली र सुदूरपश्चिम प्रदेशका र रेडियो नेपालका २५ पत्रकार सहभागी छन्। रेडियो नेपालका समाचार शाखा प्रमुख पवन प्याकुरेल, रिपोर्टिङ शाखा प्रमुख प्रमोद दाहाल, तालीम शाखा प्रमुख जनार्दन विष्ट र अमरध्वज लामा तालीम प्रशिक्षकका रुपमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.