|

काठमाडौं : राष्ट्रिय गौरवको आयोजनामा समावेश निजगढ विमानस्थलको निर्माण मोडालिटीबारे छलफल र बहस जारी रहेका बेला उपयुक्त विकल्प नआए सरकार आफैँले आयोजना अघि बढाउने भएको छ।

नेपाल इञ्जिनीयर्स एशोसिएशनले काठमाडौंमा आयोजना गरेको ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान आवश्यकता र औचित्य’ विषयक अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रिय दाताको खोजी भइरहे पनि विश्वासिलो आधार नभए सरकार आफैँले काम अघि बढाउने बताए।

मन्त्री अधिकारीले निजगढ विमानस्थल निर्माणको मोडालिटीबारे चरणबद्ध छलफल चलिरहेको भन्दै आगामी तीन महीनाभित्र निर्माणको टुंगो लाग्ने जानकारी दिए। मुख्य पूर्वाधार रोकेर देशअगाडि बढ्न नसक्ने उल्लेख गर्दै उनले वातावरणकै विषयको विवादले विमानस्थल निर्माणलाई अवरोध गर्न नहुने धारणा राखेका थिए।

‘निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले निजगढ विमानस्थलको आवश्यकता पूरा हुँदैन’, मन्त्री अधिकारीले भने, ‘निजगढ विमानस्थल नै सबैभन्दा बढी प्राथमिकताको आयोजना हो अरू आयोजना अघि बढेसँगै प्रगति पनि हासिल गरेका छन् तर महत्वपूर्ण प्राथमिकताको आयोजना नै गति नलिनुले गम्भीर बनाएको।‘

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले विकास र आर्थिक समृद्धिका हिसाबले निजगढ विमानस्थल उपयुक्त विकल्प भएकाले कमभन्दा कम वातावरणीय क्षति हुने गरी आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिए।

पूर्वाधारविद् डा. सूर्यराज आचार्यले दीर्घकालीन महत्वको आयोजना हतारमा निजी क्षेत्रलाई दिन नहुने भन्दै आयोजना निर्माण अघि बढाउन रणनीतिक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरिनुपर्नेमा बताए। पूर्वसचिव वीरेन्द्रबहादुर देउजाले वातावरणीय पक्षलाई लिएर विमानस्थल निर्माणमा अलमल गर्नाको साटो शीघ्र रूपमा निर्माण प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजना प्रमुख प्रदीप अधिकारीले हरेक हिसाबले उपयुक्त निजगढको विकल्प नखोजी स्वदेशी लगानीमा निर्माण गर्नुपर्ने बताए। एशोसिएशनका महासचिव छविराज पोखरेलले संस्थाले पूर्वाधार विकास बहस कार्यक्रमको शृंखलाअनुरुप राष्ट्रिय महत्वको निजगढ विमानस्थल निर्माणको सान्दर्भिकताबारे विज्ञहरूसँगको छलफल गरिएको उल्लेख गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.