राजनीति

योजना बनाएर मात्रै काम गर्न स्थानीय तहलाई मुख्यमन्त्री गुरुङको निर्देशन
SHARES

माघ २६, २०७५

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई आवधिक योजना बनाएर मात्र काम गर्न निर्देशन दिएका छन्।  राष्ट्रिय योजना आयोगद्वारा नेपालको दीर्घकालीन सोच सहितको पञ्चवर्षीय पन्ध्रौं योजनाको आधारपत्र (प्रारम्भिक मस्यौदा)माथि सुझाव लिने उद्देश्यले  आयोजित गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा मुख्यमन्त्री गुरुङले हचुवाको भरमा डोजर लगाउने कार्य नगरी योजना बनाएर विकासमा लाग्न सुझाव दिएका हुन्। राष्ट्रिय योजना आयोगको आयोजनामा आयोजित उक्त दुईदिने कार्यक्रममा प्रदेशका मन्त्रीहरू, सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुखहरूको सहभागिता रहेको छ।

    नेपालको प्रथम आवधिक योजना वि.सं. २०१३ बाट सुरु भएको थियो। ६२ वर्षको अवधिमा चौधौँ योजना तर्जुमा भइसक्ने घडीमा छ। ‘योजना बनाएर काम गर्दा स्रोतको सुनिश्चितता र आफ्नो सामर्थ्यबारे जानकारी हुने भएकाले संघीय सरकार र प्रदेश सरकारले लिएको लक्ष्य पूरा गर्न पनि स्थानीय तहमा सही तथ्यांक र उपर्युक्त योजना हुनुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने।  

    मुख्यमन्त्री गुरुङ कसले कुन काम गर्ने भनेर स्पष्ट योजनाको वर्गीकरण गर्नुपर्ने बताउँदै तल्लो तहमा अनुदान बढाउन केन्द्र सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए। उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रमको अध्यक्षसमेत रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले अबको २५ वर्षमा संसारका विकसित देशहरूको दाँजोमा पुग्न मुलुकले अबको प्रस्‍ट मार्गचित्र निर्माण गर्ने बेला भएको बताए। त्यस्तै, उनले दीर्घकालीन सोच सहितको पन्ध्रौँ योजना प्रारम्भिक खाका प्रस्तुत गर्दै जनताका नजिकका सरकार स्थानीय तहबाट सुझाव लिन बैठकको आयोजना गरिएको बताए। छलफलमा शनिबार गण्डकी प्रदेशका निजी क्षेत्र, गैरसरकारी संस्था, सञ्चारकर्मीहरूको सहभागिता रहनेछ।

    राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले स्वागत बैठकका सहभागीलाई स्वागत गरेका थिए भने राष्ट्रिय योजना आयोगका सहसचिव बिजुकुमार श्रेष्ठले पन्ध्रौँ योजनाको मस्यौदा प्रस्तुति गरेका थिए। यस्तै, गण्डकी प्रदेशका प्रदेश योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी पौडेलले प्रदेश योजनासम्बन्धी अवधारणा पत्र प्रस्तुत गरेका थिए।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेलको अध्यक्षतामा सुरु भएको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्य प्रदेश सरकारका मन्त्री, सचिव लगायतका पदाधिकारी, जिल्ला समन्वय समितिकाप्रमुख, उप–प्रमुख, नगरपालिका प्रमुख, उप–प्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २५० जनाको सहभागिता थियो। दुई दिनसम्म चल्ने बैठकको दोस्रो दिन शनिबार सरकारी कार्यालयका प्रमुख, निजी क्षेत्रका प्रतिनिधि, गैरसरकारी संस्था, सामुदायिक संस्था, नेपाल पत्रकार महासंघ, आर्थिक पत्रकार समाजका प्रतिनिधिको सहभागिता रहने बताइएको छ।

सन्तोष अधिकारी

अधिकारी थाहाखबरको  पोखरा संवाददाता हुन्। उनी यसअघि थाहाखबरका लागि गोरखा संवाददाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]