|

अछाम : आलिटोलकी धनशोभा भुल शरीरभरी पसिना बगाउँदै ढुंगा बोकिरहेकी छन्। उमेरले ६५ वर्ष काटेकी उनी गाउँमा सिँचाइ पोखरी निर्माण हुने भएपछि घरको सबैकाम छोडेर सकिनसकी पोखरी निर्माणमा जुटेकी हुन्। उनी भन्छिन्, ‘पानी नभएर गहुँ पनि उम्रेको छैन। यो पोखरी बन्यो भने तरकारी लगाउला अरू खेती गरौँला।’ उमेर हुँदै श्रीमान् गुमाएकी धनशोभाको आफ्नै बारीमा उत्पादन भएको तरकारी दैलेखको राकम बजारमा लगेर बेच्ने चाहना छ। उनले भनिन्, ‘पानी भयो भने तरकारी लगाउँला राकम बजारमा बेचौँला रहेको आफू खाउँला।’

उनी मात्र हैन पञ्चदेवल विनायक नगरपालिका ५ स्थित आलिटोलका ५४ घरपरिवार अहिले सिँचाइ पोखरी निर्माणमा जुटेका छन्। कर्णाली नदीको किनारमा रहेको उक्त टोलमा सिँचाइ सुविधा मात्र हैन खानेपानीसमेत छैन। बाह्रै महिना कर्णालीको पानी पिउनु उनीहरुको बाध्यता छ। वर्षौंदेखि आँगनैअगाडि कर्णाली नदी बगेको देख्न मात्र पाएका स्थानीय अब भने त्यो पानी उपयोग गर्न पाउने भएपछि खुसी बनेका छन्।

कर्णाली नदीसँगै जोडिएको खोलाको पानीलाई र्‍याम्प पम्प विधिमार्फत उक्त गाउँमा सिँचाइका लागि पोखरी निर्माण गर्ने थालेपछि स्थानीयहरू जन श्रमदानमा जुटेका हुन्। यसरी गाउँको सिरानमा पानी आउँछ भनेर कल्पना पनि गरेका थिएनौँ स्थानीय प्रेम माझीले भने, ‘अब आलिटोलको आशा फर्किएको छ। हामीलाई निकै खुसी लागेको छ।’

१६ लाखको योजना, ५४ घर लाभान्वित

करिब १६ लाखको लागतमा उक्त प्रविधिमार्फत सिँचाइ पोखरी निर्माण हुन थालेको सोसेकको साकार परियोजनाका परियोजना अधिकृत माधव भट्टराईले जानकारी दिए। उनका अनुसार उक्त योजनाबाट स्थानीय ५४ घरधुरी लाभाम्वित हुनेछन्। पानीको मुहानदेखि करिब तिन सय मिटर माथिसम्म पानी पर्‍याइएको छ। योजनामा खटिएका प्राविधिक जयबहादुर विष्टले भने, ‘हामीले तीनवटा पम्प जोड्यौँ करिब तीनसय मिटरसम्म पानी चढेको छ त्यही ठाउँमा दुईवटा पोखरी निर्माण गरिरहेका छौँ।’ उनका अनुसार १५/१५ हजार लिटरको क्षमता भएका पोखरीबाट सबै घर धुरीले बाह्रै महिना सिँचाइ सुविधा पाउनेछन्। सिँचाइ कुलोको कुनै सम्भावना नरहेको उक्त टोलमा यो प्रविधिमार्फत सिँचाइ सुविधा दिन थालिएको हो।

तरकारी खेतीको योजना

सिँचाइ पोखरी निर्माणमा सक्रिय रहेका स्थानीयहरूले अबको ३ महिनाभित्रै तरकारी उत्पादन गर्ने लक्ष्‍य लिएका छन्। वर्षौंसम्म वैदेशिक रोजगारी गरेर फर्किएका स्थानीय डबले भुलले अब सिँचाइ सुविधा भएपछि गाउँमै तरकारी खेती गर्ने निर्णय गरेको सुनाए।

घरमा तीन छोरा बुहारी भएका डबले भन्छन्, ‘आफू पनि खेती किसानी गर्छु छोरा बुहारीलाई पनि यहीँ काम गर्न भन्छु।’ ५४ घरधुरीमध्ये ४० घरधुरी दलित समुदायका छन्। प्राय सबै पुरुषहरू वैदेशिक रोजगारीको लागि भारतमा छन्। गाउँमा काम गर्ने महिलाहरू मात्रै देखिन्छन्। यहाँका सबै महिलाको भनाइ छ ‘अब आफ्नो घरका पुरुष मान्छे घर फर्किएपछि गाउँमै तरकारी खेती गर्न लगाउनेछौँ।’

प्रतिवर्ष एउटा परिवारले तरकारी खेतीमार्फत घरको सबै काम गरेर ७० हजार खुद आम्दानी गर्ने गरी कार्यक्रम अघि बढाइएको सोसेक दैलेखका अध्यक्ष हीरा सिंह थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.