|

बागलुङ : आगामी बैसाख जेठभित्रै कालोपत्रे गर्ने तयारीका साथ काम गर्न लागेको कम्पनीलाई सडक निर्माणमा अवरोध भएको छ। मध्यपहाडी लोकमार्गको बागलुङ अक्षेते बिहुँ खण्डमा अवरोधै अवरोध आएपछि काम गर्न सास्ती भएको ठेकेदार कम्पनीले बताएको छ।

आयोजनाले वितरण गर्नुपर्ने मुआब्जा नदिएकोले भत्काउनुपर्ने घरले काममा समस्या भएको सिद्धि शाही प्रकाश निर्माण कन्स्ट्रक्सनका साइट इन्जियिर पुष्प शाहीले बताए।

यहाँ भत्काउनुपर्ने १५ वटा घरको कारणले आयोजनाले तोकिएको समयमा कालोपत्रे गर्न अप्ठ्यारो भएको हो। शाहीले आउने वैशाख जेठभित्रै १३ किमी कालोपत्रे गरिसक्ने योजना बनाएकोमा समस्या आएको बताए। 

ठाउँ-ठाउँमा काम छाडेर कालोपत्रे गर्दा दोब्बर खर्च लाग्ने उनले गुनासो गरे। यो खण्डको रात्माटादेखि खहरेसम्म बिच्छाएको खानेपानीको पाइप सार्न कम्‍पनीले नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई ३३ लाख रुपैयाँ भुक्तानी दिएको थियो। आयोजनाले भने काम अपुरो छाडिदिएकोले काम रोकिएको उनले बताए।

‘सरकारी सुपरभाईजरको दैनिक भत्ता ६ सय ४० भएकोमा समितिले २ हजार ५ सय खाएको लगायतको बिल देखाएर रकम सकिएको भन्नुभयो’ शाहीले भने, ‘डोजर लगाउनैपर्ने केही भागमा पाइप नसार्दा काम रोकियो।’

नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रवन्धक हिमालप्रसाद शर्माले भने भुक्तानी भएको काम सकेकोमा फेरि अन्य ठाउँ पनि देखाउँदा फेर्न नसकिएको दाबी गरे। ‘पहिला देखाएको स्थानमा पाइप सारिसकेका छौँ’ शर्माले भने, ‘बसौँ, के गर्न सकिन्छ त्यो गरौँ भनेकै छौं।’आयोजनाले दिएको सबै रकम एकमुष्ट खातामा पठाइदिएपछि काम पूरा नभएको ठेकेदार कम्‍पनीको दाबी छ।

बिहुँ खण्डमा पनि कतिपय उपभोक्ताले खेत पुरिन्छ भन्दै काम गर्न नदिएको आयोजनाका सुपरभाइजर गणेश सुवेदीले बताए। तोकिएको मापदण्डभन्दा कम क्षेत्रमा पनि काम गर्न नदिँदा एकदुई ठाउँमा एकतर्फी सवारी चलाउनुपरेको गुनासो गरे। ‘भिर खसाल्दा ठूलो पहिरोको खतरा छ, पर्खाल लगाउन नदिएर हैरान भयौँ’ सुवेदीले भने, ‘वडा अध्यक्षहरूले समेत कम्‍पनीका इन्जिनियर र जिम्मेवार व्यक्तिलाई तुच्छ व्यवहार देखाए।’

राष्ट्रिय गौरवको आयोजना भए पनि सरकारी इन्जिनियर र जनप्रतिनिधिले समेत काम ढिलाइ गरिरहेको उनले टिप्पणी गरे। नगर क्षेत्रमा नगरप्रमुख र गाउँपालिका खण्डमा अध्यक्ष र वडा अध्यक्षहरुलाई उनले सहयोगको अपिलसमेत गरेको बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.