|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका युवालाई रोजगारीका अवसर प्रदान गर्ने उद्देश्यले नगर उद्यम विकास योजना छनोट गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरले बिहीबार आयोजना गरेको नगर उद्यम विकास योजना निर्माण कार्यशाला गोष्ठीबाट योजना छनोट गरिएका हुन्।

नगरपालिकाका प्रत्येक वडाबाट बजार, कच्चा पदार्थ, प्रविधि, सीप र दक्षता, सरकारी नीति, क्षमता र पूर्वाधारलाई आधार मानेर योजना छनोट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत खेमप्रसाद चौधरीले बताए। छनोट गरिएका योजनामा जडीबुटी प्रशोधन उद्योग, व्यावसायिक तरकारी खेती, गार्मेन्ट उद्योग, दुग्ध प्रशोधन केन्द्र, व्यावसायिक केरा, कुखुरा, माछा, बंगुर, गाई र बाख्रा फार्म स्थापना, परम्परागत हस्तकलाका सामग्री, परम्परागत कलात्मक पहिरन उद्योगलगायत रहेका छन्।

यसैगरी, पर्यापर्यटनका लागि होमस्टे, प्रांगारिक मल उद्योग, प्लाष्टिकजन्य वस्तुलाई विस्थापित गर्नका लागि वन क्षेत्रमा पाइने पातका दुना टपरी बनाउने उद्योग, ढुंगा काटेर घर सजावटका समान बनाउने उद्योग, स्थानीय जातको आलु पटेक क्षेत्र निर्धारण गर्ने र बाँसबेतका सामग्री बनाउने उद्योग स्थापना गर्ने गरी योजना छनोट गरिएका छन्।

'छनोट गरिएका योजनामध्ये गर्न सकिने जति नगरपालिकाले गर्ने र ठूला लगानीका योजनाका लागि घरेलु तथा साना उद्योग कार्यालयले प्रदेश र केन्द्र सरकारलाई बजेट कार्यान्वयनका लागि माग गर्ने छ' अधिकृत चौधरीले भने, ‘नगरपालिकालाई समृद्ध बनाउन साना तथा मझौला उद्योगहरुले सघाउ पुर्‍याउने छन्।

उद्योग र उत्पादनशील व्यावसायिक खेतीका माध्यमबाट नगरपालिकालाई चिनाउन मद्दत पुग्ने उनको भनाइ रहेको छ। नगर प्रमुख दिलबहादुर ऐरले नगरपालीकालाई चिनाउन मद्दत गर्ने उद्योग स्थापनाका लागि आगामी योजनामा बजेट विनियोजन गर्नका लागि प्राथमिकतामा राख्ने बताए। उत्पादन मुलक उद्योगलाई पहिलो प्राथकितामा राख्छौंउनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.