समाज

गुणस्तरीय शिक्षाका लागि अभिभावकलाई सन्देश
SHARES

माघ २६, २०७५

    डडेल्धुरा : ‘अभिभावकज्यू, नमस्कार कता हिँड्नुभयो? एकचोटि विद्यालयमा प्रवेश गरी छोराछारीको पठनपाठनबारेमा छलफल गरौं की?’ 

    डडेल्धुरा सदरकाम खलंगास्थित महेन्द्र मावि जाने प्रवेशद्वारमा राखिएको होडिङ बोर्डले विद्यार्थीका अभिभावकलाई दैनिक झसंग बनाउने गर्छ। अमरगढी नगरपालिकाले उक्त सन्देशसहितको होडिङ बोर्ड राखेपछि यहाँका हरेक अभिभावकलाई त्यो सन्देशले झक्झक्याइरहेको छ।

    अमरगढी नगरपालिकाले ‘शैक्षिक गुणस्तर सुधार आधार वर्ष २०७५’ अन्तर्गत अमरगढी नगरपालिकाका सबै विद्यालयमा सन्देशसहितको होर्डिङ बोर्ड राखेको छ। विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्ने तर विद्यालयको शैक्षिक वातावरण कस्तो छ? भनेर चासो नदिने अभिभावकलाई जिम्मेवार बनाउन उक्त अभियानको थालनी गरिएको अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले जानकारी दिए। 

    ‘सबै विद्यालयमा सन्देशसहितको होर्डिङ बोर्ड राखेपछि अभिभावक विद्यालयमा आफ्ना छोराछोरीको पढाइको बारेमा छलफल गर्न आउने गरेको पाइएको छ’ उनले भने। शिक्षाको गुणस्तर वृद्धिका लागि नगरपालिकाले शैक्षिक गतिविधिलाई तीव्रता दिएको छ। शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाले विभिन्न क्रियाकलाप गर्दै आएको छ।

    नगरपालिकाले नगरभित्रका विभिन्न विद्यालयका १२५ जना विद्यार्थीको परीक्षा गरेको छ। कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर परीक्षणका लागि परीक्षा गराइएको स्राेत व्यक्ति राजेन्द्र पाण्डेयले बताए। बालवालिकाको गुणस्तर परीक्षणका लागि नगरभित्रका २७ वटा विद्यालयका १२५ विद्यार्थीकाबीच परीक्षा गरिएको हो। उनले भने,‘परिक्षको नतिजाअनुसार शैक्षिक गुणस्तर वृद्धि गर्न विविध तरिका अपनाइने छ।’ अमरगढी नगरपालिकाले सुरु गरेको शैक्षिक गुणस्तर सुधार आधार वर्ष २०७५ अन्तर्गत विद्यार्थीकाबीच परीक्षा गरिएको हो। नमुनाका रुपमा लिइएको परीक्षाको उद्देश्य विद्यार्थीको स्तर जाँच रहेको स्राेत व्यक्ति पाण्डेयले बताए। 

    परीक्षामा सहभागी विद्यार्थी अध्ययनरत विद्यालयबाट निरीक्षक, केन्द्राध्यक्ष समेत नराखी गोप्य तवरले प्रश्न पत्र बनाइएकाले परीक्षाको नतिजाबाट वास्तविक चित्र छर्लङ्ग हुने भागेश्वर मावि केन्द्रका केन्द्राध्यक्ष मुकेश भट्टले बताए। 

    पाँच वटा केन्द्र बनाइ विद्यार्थीकाबीच परीक्षा सञ्चालन गरिएको थियो। पाँच वटा केन्द्रमा सञ्चालन गरिएको परीक्षाको नगरप्रमुख र उपप्रमुखको नेतृत्वमा दुई वटा अनुगमन टोली बनाइ अनुगमन गरिएको शिक्षा शाखाकाले जनाएको छ। यसबाट बालवालिकाको वास्तविक वस्तुस्थिति सजिलैसँग छर्लङग हुने भएकाले नगरपालिकाले सञ्चालन गरेको शैक्षिक सुधार निर्माणमा सघाउ पुग्ने नगरप्रमुख ओझाको भनाइ छ।  

    ‘शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय एक्लैको प्रयास पूर्ण नहुन सक्छ। त्यसका लागि हरेक अभिभावकले बेलबेलामा विद्यालयमा पुगेर आफ्ना बालबालिकाको पठनपाठनको अवस्थाका बारेमा जानकारी लिने र विद्यालयले सुधार गर्नुपर्ने विषयको समयमा गुनासो र पृष्ठपोषण दिएमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न मद्दत पुग्छ' नगरप्रमुख ओझाले भने।

    शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ नगरपालिकाले घोषणा गरेको शैक्षिक गुणस्तर सुधार आधार वर्ष २०७५ अन्तर्गत हरेक विद्यालयमा सन्देशसहितको होडिङ बोर्ड राख्ने, अभिभावक जागरण अभियान, अभिभावक शिक्षक जनप्रतिनिधि अन्तरक्रिया, विद्यार्थीसंग मेयर कार्यक्रम, शिक्षकलाई कम्प्युटर तालिम, नमुना विद्यालय छनाेट, विद्यालयमा आइसिटी डिजिटल शिक्षण कार्यक्रम, उत्कृष्ट विद्यार्थी शिक्षक अभिभावक सम्मान, पूर्वाधार सुधार, विद्यालय अनुदान, विषयगत शिक्षकबीच अनुभव आदान प्रदानलगायतका कार्यक्रम सुरु गरिएको अमरगढी नगरपालिका शिक्षा शाखाले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]