नाम छ, दाम छैन

|

दमक (झापा) : संसारमै अरूले नगरेको एउटा काम गरेर पनि कृति राख्नु धेरैको सपना हुन्छ। विश्व कीर्तिमानहरूको अभिलेखीकरण गर्ने गिनिज बुकमा नाम दर्ता गराउनु जो सुकैलाई सहज हुने विषय होइन। तर, धेरैको धोको भएर पनि पूरा नभएको यस्तो काम गरेर कीर्तिमान कायम गरेका युवा हुन् थानेश्वर गुरागाईं।

२०४७ सालमा संखुवासभाको शीतलपाटीमा जन्मिएका उनको परिवार २०५० सालमा धरान बसाइँ सरेर आयो भने २०५६ सालदेखि खनार पुग्यो। अहिले भने पर्वतारोहण र पर्यटनसम्बन्धी व्यवसायमा आबद्ध २८ वर्षीय उनले गिनिज बुकमा एक/दुई वटा होइन १९ वटा कीर्तिमान दर्ता गराएका छन्। तर, उनको कीर्तिमानी लत अझै मेटिएको छैन। 

आध्यात्मले बढायो आत्मविश्वास

२०६३ सालमा खनारको शारदा माविबाट एसएलसी पास गरेपछि धेरै युवा जस्तै उनी पनि काठमाडौं गए। ‘सानैदेखि ममा आध्यात्मिक झुकाव थियो। 'बसुन्धराको सिद्धाश्रम शक्ति केन्द्रको सम्पर्कमा रहेँ। त्यहाँ म अध्ययनसँगै ५ वर्ष ध्यान साधनामा रहेँ’ उनले भने,‘मलाई त्यो ध्यान र साधनाले यति ऊर्जा दियो कि मलाई केही नौलो काम गरौं भन्ने लाग्यो। म तबला बजाउँदा निकै छिटो हात चलाउँथे। यही हात नै छिटो चलाएर कीर्तिमान राखौँ कि भनेर इन्टरनेट सर्च गरेँ। त्यहाँ छिटो हात चलाउने रेकर्ड त १ मिनेटमा ३८४ पटक बास्केट बल उफारेका व्यक्तिको नाममा रहेछ। मैले पनि त्यसलाई जित्नुपर्‍यो भनेर अभ्यास गरेँ।’

२०१० को अक्टोबरमा ४४४ पटक बल उफारेर उनले तिनै इन्टनेटमा सर्च गर्दा भेटिएका व्यक्तिको रेकर्ड तोडे र त्यो कीर्तिमान उनका नाममा गिनिजबुकले दर्ता गर्‍यो। यसरी सुरु भएको हो थानेश्वरको कीर्तिमान कायम गर्ने यात्रा। ‘वास्तवमा म बास्‍केट बलको कुनै खेलाडी त होइन। त्यसैले पनि बास्केट बल मेरा लागि नौलो थियो। तर,  यस्तो दृढता थियो कि कीर्तिमान राखेरै छोड्छु भन्ने थियो’ बास्केटबल मोहको राज खोल्दै उनले भने, ‘१२ घण्टासम्म लगातार अध्यास गरेँ। दाहिने हात थाक्दा देब्रेले अभ्यास गरेँ। पछि त दुवै हातले समान गरी बल उफार्न सक्ने भएँ।’ यसपछि उनलाई लाग्यो कि कुनै पनि कीर्तिमान राख्न दर्बिलो आत्मविश्वास आवश्यक छ, त्यसैले उनलाई पनि आत्मविश्वास र दृढताले नै कीर्तिमान दिलायो। 

कीर्तिमानको यात्रा जारी

सुरुमा उनले गिनिजबुकमा नाम दर्ता गराउँछु भन्दा कसैले पत्याएनन्। त्यसै पनि उनी ख्‍याउटे ज्यान भएको मान्छे। सबैले हावामा उडाए पनि। तर उनलाई अरूले गरेको त्यो अविश्वासले निराश बनाएन, बरु खिसी गर्नेहरूलाई एक दिन गरेरै देखाउँछु भन्ने झन् हिम्मत बढ्यो। ‘पछि कीर्तिमान राखेपछि पनि जसो तसो एउटा त राखिस्। अरू त उही हो पनि भन्थे, तर म मरो यात्रा र लक्ष्यमा रोकिइनँ। अहिले पनि कीर्तिमानको यात्रामा लागि रहेको छु’ उनले सुनाए।

उनले बास्केट बलमा सुरुमा अभ्यास गरेकाले धेरै रेकर्ड त बास्केट बलसँग सम्बन्धित नै छन्। बास्केटबल कम्मरमा छिटो घुमाउने, टाउकोमा छिटो घुमाउने, तीन ओटा बल घुमाउने, खुट्टामा घुमाउने जस्ता छन्। यस्तै चिउँडोमा काठ काट्ने आरा अड्याउने, लनटेनिसको ब्‍याटबाट  छिर्ने र डेढ किलोको गिनिजबुक औँलामा घुमाउने जस्ता रेकर्ड पनि उनले राखेका छन्।

गिनिजका सम्पादकले हौस्याएपछि

चन्द्रबहादुर डाँगीलाई संसारकै होचो व्यक्तिको प्रमाणपत्र दिन गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रधानसम्पादक क्रेग ग्लेन्डी नेपाल आउने भएपछि उनले सम्पर्क सूत्र विस्तार गरे। नभन्दै काठमाडौंमा भेट पनि भयो, संसार भरीकै कीर्तिमानीहरूले भेट्न चाहनेमध्येका एक हुन्, ग्लेन्डी। जब उनीसँग भेट भयो, उनले थप रेकर्डहरू राख्न हौस्याए। आफन्तहरूबाटै साथ सहयोग र विश्वास नपाई रहेका बेला ग्लेन्डीको त्यो वचन उनका लागि ऊर्जा बन्यो। उनकै हौसलापछि सन् २०१२ को अप्रिलमा उनले अर्को रेकर्ड कायम गरे, टुथब्रस मुखमा अड्याएर बास्केट बल घुमाउने।

डेढ महिनाको अभ्यासपछि उनले २२.४१ सेकेण्ड बल घुमाएर सातौँ रेकर्ड कायम गरे। ‘लक्की सेभेन’ भने जस्तै भयो। यो कीर्तिमानपछि भने उनी विदेशीका आँखा पनि पर्न थाले। फलस्वरूप उनलाई विभिन्न देशबाट निमन्त्रणा पनि आउन थाल्यो।

एकैदिन तीन रेकर्ड

उनको कीर्तिमानी क्रम हेर्दा उनी एउटा मेसिनझैँ लाग्छन्। एक/दुई वटा होइन डेढ दर्जनभन्दा बढी विश्व रेकर्ड कायम गरेका उनले वर्ष वा महिना होइन, एकै दिनमा तीन वटासम्म विश्व रेकर्ड कायम गरेका छन्, यो नै पनि नेपालका लागि अर्को रेडर्क हो। सन् २०१२ मा गिनिजबुक प्रमुख नेपाल आएको मौका उनका लागि त्यही अवसर बन्यो। उनले गिनिज बुक अफ वल्ड रेकर्डका प्रधानसम्पादक क्रेग ग्लेन्डीकै सामुन्नेमा तीनवटा कीर्तिमान कायम गरे। 

टेनिसको ब्‍याटबाट ४.९१ सेकेण्डमा तीनपटक छिरेर,एक मिनेटमा ३८ पटक छिरेर र तीन मिनेटमा ९६ पटक छिरेर अलग-अलग कीर्तिमान कायम गरेका हुन्। ‘मैले विभिन्न अभ्यास त गरिरहेकै थिएँ तर रेकर्डकै लागि रेकर्ड राख्छु भन्ने त कुनै योजना थिएन', 'एकैदिन तीनवटा विश्व कीर्तिमान कायम गरेपछिको अनुभव उनले सुनाए,‘एउटा सफल भएपछि अर्को हिम्मत आयो। अर्कोपछि अर्को हिम्मत आयो। थाहै नपाई तीनवटा कीर्तिमान कायम भएछन्।’

नजिककैले पत्याएनन्, संसारले पत्यायो

सुरुमा केही नयाँ काम गरौँ भन्ने लागेको बेला गिनिजबुकमा नाम दर्ता गराउँछु भन्दा उनका कतिपय आफन्त र साथीहरूले नै पत्याएनन्। तर जब आफ्ना क्षमताका ढोका लगातार उनले खोल्दै गए आफन्तहरू मात्रै होइन, संसारले चित खायो। सन् २०१४ मा उनलाई चीनको सिङ्ज्याङ्मा आफ्नो प्रतिभा देखाउन चिनियाँ सिसिटीभीले बोलायो। त्यहाँ उनले मुखमा टुथब्रस राखेर बास्‍केटबलका चिनियाँ बादशाहालाई हराउनुपर्ने थियो। त्यहाँ उनले १४ सेकेण्डसम्म बल घुमाएर चिनियाँलाई हराए। 

फेरि सिसिटिभीले चिनीया र गैरचिनियाँ संसारका प्रभिाभाशालीबीच प्रतिस्‍पर्धा गराउने भयो। उनीसँग प्रतिस्‍पर्धा गर्न आउने व्यक्ति यस्ता लचकदार थिए कि, उनको शरीर नै स्टेजमा ल्याउँदा कपडा पट्याए जस्तो गरी सुटकेसमा हालेर ल्याइएको थियो।‘ती व्यक्ति चिनियाँ सर्कसका खेलाडी-कलाकार रहेछन्। सुरुमा त उनको सुटकेसमा पस्ने लचकदार ज्यान देख्दा चकित पनि भएँ’ आफ्नो चिनियाँ अनुभव उनले सुनाउँदै भने, ‘त्यो बेला मैले टेनिसको र्‍याकेडबाट छिर्नुपर्ने थियो। ऊ ३० सेकेण्डमा २० पटक छिर्‍यो। तर, मैले २२  पटक छिरेर अर्को रेकर्ड कायम गरेँ।’ यसैगरी नाकमा बास्‍केट बल घुमाएर पनि उनले सन् २०१५ मा चिनियाँलाई नै हराए।

सन् २०१६ मा हङकङ पुगेर कुइनामा ११ सेकेण्ड बास्‍केट बल घुमाएरसमेत रेकर्ड कायम गरेका छन्। त्यसैवर्ष उनले दुई खुट्टा र हातमा गरी तीनवटा बल १० सेकेण्ड घुमाएर र दुईवटा हातमा र एउटा टुथब्रस मुखमा राखेर १२ सेकेण्ड घुमाएर पनि आफ्नो कीर्तिमान दर्ज गराए। सन् २०१८ मा युकेस्थित गिनिज बुकको प्रधान कार्यालयमै पुगेरसमेत उनले रेकर्ड दर्ता गराउन भ्याए। सो क्रममा उनले धातुको (८८१२ इन्च) प्वालबाट ३ मिनेटमा २१ पटक र १ मिनेटमा १० पटक छिरेर थप कीर्तिमानहरू दर्ता गराएका छन्।

अध्यासका क्रममा दुर्घटना
मेरा रेकर्डहरू मध्ये चिउँडोमा आरा अड्याउने जोखिमपूर्ण थियो भने डेढ किलोको गिनिज बुक औँलामा आधा घण्टा घुमाउने रेकर्ड सन् २०११ मा राख्दा मेरो औँला यति धेरै तातियो कि, आगै उठेजस्तो भयो। उनले भने,‘मैले किताब राखिसक्नासाथ पानीमा निकैबेर डुबाउनुपर्‍यो। अन्य कतिपय अभ्यास गर्दा नाक बारम्बार फुटेको छ, दुर्घटना भएको छ। यस्ता अनुभवहरू धेरै छन्।’ यस्तै ग्यासको सिलिण्डर चिउँडोमा अड्याउने अभ्यास गर्दा छातीमा झर्दा उनी हुरुक्कै भएका थिए, दुई दिन त ओछ्यानमै परे। यस्तै नाकमा काठ काट्ने आरा अड्याउन खोज्दा नाक भाँचिएपछि उनको नाकसमेत सर्जरी गर्नुपरेको छ।

‘मलाई यी दुर्घटनाले धेरै पाठ पनि सिकाएको छ’ भाँचिएको नाकको डाँडी देखाउँदै उनले भने, ‘रेकर्ड राख्छु भनेर हौसिँदा मात्रै नहुँदो रहेछ, दर्बिलो अभ्यास नगरी आँट गरिहाल्न नहुने रहेछ।’

नाम हुन्छ, दाम हुँदैन

गिनिज बुकमा नाम राख्ने धेरैको सपना हुन्छ। कतिपयले नाम राखेर धेरै पैसा कमाउँला भन्ने सोचेको भए त्यो गलत हुने उनले बताए। ‘यसबाट त कीर्तिमान मात्र कायम हुने हो। तर तपाईंले कीर्तिमान राखेको क्षमतालाई आम्दानी हुने क्षेत्रमा उपयोग भने गर्न सक्नुहुनेछ’ उनले भने,‘तपाईं पनि गिनिज बुकमा कुनै विषयमा कीर्तिमान दर्ता गर्ने हो भने तपाईंमा कस्तो क्षमता छ भन्ने पहिचान गर्नुहोस्, त्यसमा निरन्तर मिहिनेत गर्नुहोस्। एकपटक असफल हुँदैमा अभ्यास नछोड्नु होस्, पक्कै सफलता मिल्नेछ।’

अबको लक्ष्य

सन् २०१७ मा चिउँडोमा काठ काट्ने आरा ५.७ मिनेट अड्याएर कीर्तिमान दर्ता गरेका उनको पछिल्लो १९ औं कीर्तिमान चाहिँ चिउँडोमा १.४१ मिनेट साइकल अड्याएको छ। अझै पनि कीर्तिमानको यात्रालाई निरन्तरता दिन दृढ रहेका उनी ५१ वटा कीर्तिमान गिनिज बुकमा दर्ता गराउने लक्ष्यमा रहेका छन्।

नेपालको अन्य पहिचानहरू जस्तै कीर्तिमानीहरूको देशको रूपमा समेत चिनाउने सपना पालेका उनी यस प्रकारका क्षमता र प्रतिभालाई प्रोत्साहनका लागि राज्यबाट पनि सहयोग र सहकार्य हुनुपर्ने धारणा पनि राख्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.