सगरमाथालगायत अन्य हिमशृंखलाको मनोरम दृश्‍य अवलोकन गर्न सकिने

|

उदयपुर : आर्थिक समृद्धिको एउटा माध्यम ‘पर्यटन’ भन्दै स्थानीय, प्रदेश र संघीय सरकारका नेतृत्व गर्नेले कराइरहेका छन्। तर, पर्यटन प्रवर्द्धन गर्न कुनै कसुर बाँकी नराख्ने दाबी गर्ने सरकार प्रमुखहरूले पर्यटन क्षेत्रको पहिचान भने गरेका छैनन्। 

स्थानीय सरकोकारवालदेखि माथिल्लो निकायसम्मका अधिकारीहरूले कहाँ कहाँ छन् पर्यटनका क्षेत्र भनेर पहिचन गरेका छैनन्। त्यसैको एउटा गतिलो उदाहारण मान्न सकिन्छ, उदयपुरकोको बेतिनी भञ्‍ज्‍याङ। कटारी नगरपालिका ११ मा पर्ने बेतिनी भञ्‍ज्‍याङ हिउँमा हिमशृंखलाको दर्शन पाइन्छ भने बर्खायाममा बादलुको घुम्टोभित्र रमाउन पाउन मुख्य विशेषता हो।

पूर्वकै प्रसिद्ध पर्यटकीयस्थल भेडेटारको झल्को दिने बेतिनी भञ्‍ज्याङ पर्यटन पूर्वाधारमा पछि परेको छ। समुद्र सतहबाट झण्डै दुई हजार मिटरको उच्चाइमा बेतिनी पर्दछ। नेपालको भू-बनाेट संसकारकै अनौठो छ। त्यसैले पनि पर्यटनको लागि प्रशस्त सम्भावना देखिन्छ। त्यसैको एउटा आधार बेतिनीलाई मान्न सकिन्छ। उदयपुर कटारी नगरपालिकाबाट २१ किलोमिटरको दूरीमा बेतिनी भन्ज्याङ पर्छ।

सिरहाको मिर्चैया हुँदै कटारी ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको कटारी घुर्मीको मध्यसडक खण्डमा पर्ने बेतिनी पर्यटन विकासको पूर्वाधार निर्माणको पखाईमा छ। ‘प्रदेश १ को भेडेटारको झल्को दिने बेतिनीलाई पर्यटन पूर्वाधार केही काम भएको छैन,’ कटारी नगरपालिका ११ का राजन राउतले भने, ‘देशमा भएका तीन तहका सरकारले पर्यटनलाई आर्थिक समृद्धिको आधारमा मानेका छन्। तर त्यसको खोजी नीति भएको पाइँदैन। हाम्रो बेतिनी पनि ओझेलमा परेको छ।’ एकै छिनमा घाम लाग्ने, कुहिरो आउने र पानी पर्ने बेतिनी भन्ज्याङको मौलिक पहिचान छ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नेतर्फ आजसम्म कसैको ध्यान गएको छैन। ‘सिद्धिचरण लोकमार्गको पेटमै पर्ने भएकाले गर्मी मौसममा गर्मी छल्न आउनेहरू बढ्दै गएका छन्। ‘सरस्वती माध्यमिक विद्यालय कटारी ११ का प्रधानध्यापक नविक कार्की भन्छन्, ‘हिउँमा हिमालका दृश्यहरू हेर्दै पिकनिक खानेहरू र वर्खामा तराईबाट गर्मी छल्न आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।’

'बाहिरबाट आउनेको लागि आवश्यक पूर्वाधारसमेत छैन। खानेपानीको अभाव छ। होटल तथा होम स्टेहरूको प्रवर्द्धन छैन', कार्कीले भने, '८/१० घर मिलेर बनेको सानो बजार छ। त्यो बजार पनि व्यवस्थित छैन। पर्यटकलाई खान र बस्नका लागि व्यवस्थित होटेल र लजको व्यवस्था गर्न र प्रचारप्रसार गर्न सके बेतिनी भन्ज्याङ दोस्रो भेँडेटार हुनसक्छ।'  

पर्यटकीय क्षेत्रको रूपमा विकास गरे प्रसस्त लाभ लिन सकिनेछ। भेँडेटार जत्तिकै सुन्दर, मनमोहक र रमणीय भएर पनि ओझेलमा परिरहनु कटारी क्षेत्रकै दुर्भाग्य भएको स्थानीय सरकोकारवालको भनाइ छ। बसन्त ऋतु सुरु भएसँगै अहिले लालिगुराँस फूल्न थालेको छ। उदयपुरको महाभारत क्षेत्रमा पर्ने भएकाले लालिगुराँस, सुनाखरी लगायतका  मौसमी वनस्पती फूलले सजाई राख्ने बेतिनीलाई कृषि पर्यटनको रुपमा विकास गर्ने सम्भावना पनि प्रशस्त छ।

‘यही क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सुन्तला जोन छ। उदयपुरको अदुवा उत्पादन हुने ठूलो क्षेत्र यहीँ पर्छ,’ राष्ट्रिय कृषक समूह महासंघ उदयपुरका अध्यक्ष कुशल राउतले भने, ‘बेतिनीलाई जोडेर एग्रो टुरिजमको पनि विकास गर्न सकिन्छ।’ जिल्लामा पहिलो पटक सुन्तालका लेवलिङ गरी ग्रेड छुट्याएर बिक्री हुने क्षेत्र, अनि अदुवाको व्यावसायिक खेती हुने क्षेत्र हो। त्यसमा चिया, कफी लगायतका महाभारत क्षेत्र हुने अन्य कृषिजन्य बालीमा उत्पदानमा जोड दिँदै कृषि पर्यटनमा विकास गर्न सकिने कृषि क्षेत्रका अगुवाको भनाइ छ।

‘सुन्ताल, अदुवा त यो क्षेत्रमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ,’ सुन्ताल जोन प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दीपकराज अधिकारीले भने, ‘अन्य कृषि बालीहरू अलैँची, कफी, चिया लगायतको खेती पनि विस्तार गर्दै जाने हो भने कृषि पर्यटनको सम्भावना धेरै ठूलो छ।’ सिरहा, सप्तरी, धनुषा लगायत विहारदेखि सवारी साधान रिजर्भ गरेर घुम्न आउनेको संख्या पछिल्लो समय बढ्दै गएको होटल व्यवसायीको भनाइ छ।

बेतिनीमै होटल गरिरहेका दानबहादुर मगरले सिद्धिरचण लोकमार्ग सुचारु भएसँगै बेतिनी  भञ्‍ज्‍याङ पर्यटनको लागि तयारी भएको बताए। ‘यही यो मार्ग भएर ओखलढुंगा, सोलुखम्बु, खोटाङ जानेहरू आउन थाले,’ उनले भने, ‘त्यसपछि एका एक पर्यटनको रूपमा घुम्न आउनेको संख्या पनि बढ्दै गयो।’ कटारी बजारदेखि सिद्धिचरण लेकमार्ग हुँदै पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी महादेको दर्शन गर्न जानेको नजरमा बेतिनी पर्न थालेको छ। वर्षेनी हजारौ भक्तजनहरू बेतिनीकै बाटो हुँदै आवतजावत गर्छन्। बेतिनीमा एकछिन नरोकिने र अवलोकन नगर्ने यात्रु कमै हुन्छन्। तर, होटेल तथा लज र अन्य पूर्वाधारको अभावमा चाहेर पनि उनीहरूले बास बस्न सक्दैनन्।

बेतिनीबाट सगरमाथा लगायतका हिमाल र नेपाल तथा भारतका तराई क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ। कटारी नगरपालिका ११ का वडाध्यक्ष दीपक बुढाथोकी भन्छन्,‘बेतिनी भेडेटारजस्तै पूर्व कै महत्वपूर्ण पर्यटकीयस्थल हुन्छ, तर, वडाले मात्र केही गर्न सक्दैन। नगरपालिकाबाटै गुरुयोजना बनाएर गर्ने तयारीमा छौं।’ पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको नेपालका पर्यटकीय क्षेत्रको सूचीमा बेतिनीको नाम समावेश नगरेप्रति बुढाथोकीको आपति छ। ‘विभिन्न दृष्टिकोणबाट महत्वपूर्ण भएर पनि पर्यटकीय क्षेत्रको सुचीमा नपर्न यस क्षेत्रकै दुर्भाग्य हो’ उनले भने, ‘तर पनि अव प्रदेश र संघीय सरकारलाई घच्घच्याउने काममा हामी लाग्छौँ।’

कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ कटारी नगरपालिकाकै महत्वपूर्ण पर्यटनकाे क्षेत्रका रूपमा बेतिनी भएकाले पर्यटन विकासको लागि गुरु योजना बनाएर लाग्ने बताए। ‘बेतिनीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नगरपालिकाले बृहत गुरुयोजना निर्माणको तयारी छ,’ उनले भने, ‘भ्यु टावर, होम स्टे, पिकनिक स्पट, पैदाल मार्ग बनाउने छौं।’ उदयपुरको महाभारत क्षेत्र हुँदै पूर्वदेखि पश्चिमसम्म पैदाल मार्ग निर्माण गर्न पनि प्रशस्त सम्भावना छ। 

दिनप्रतिदिन जीर्ण बन्दै गएको सिद्धिरण लोकमार्गलाई स्तरोन्नति गर्नु र फँडानीको सिकार बन्दै गएको लालीगुराँसको संरक्षण गर्नु अनि कृषिसम्बन्धी उत्पादनलाई आधुनिकीकरण गर्दै प्रचारप्रसारमा ध्यान दिनुपर्ने उदयपुर उद्योग वाणिज्य संघ कटारीकी उपाअध्यक्ष सीता कटुवालको सुझाव छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.