|

उदयपुर : कसमस सिमेन्टले अवैध रूपमा राष्ट्रिय वनबाट उत्खनन गर्दै आएको भन्दै चुनढुंगा खानी वन कार्यालयद्वारा रोकिएको छ। धनुषाको महेन्द्रनगरमा रहेको कसमकस सिमेन्टले उदयपुरको उदयपुरगढी गाउँपालिका ४ र ५ वडाको सीमा क्षेत्रमा पर्ने माटी खोला राष्ट्रिय वनबाट उत्खनन गर्दै आएको चुनढुंगा रोकिएको हो।

कसमसले वन क्षेत्रमा खानी उत्खननको कानुनी प्रक्रिया नपुर्‍याएपछि त्रिवेणी वन डिभिजन कार्यालयको निर्देशनमा रोकेर अनुसन्धान थालेको छ। त्रिवेणी वन डिभिजनअन्तर्गतको तावाश्री सव डिभिजनका सहायक वन अधिकृत धर्मनाथ यावदलाई अनुसन्धान अधिकृत तोकेर तत्काल चुनढुंगा उत्खनन कार्य रोकेको जानकारी दिएको छ। 

‘त्रिवेणी डिभिजनले मलाई नै कसमसले चुनढुंगा उत्खनन गरेको राष्ट्रिय वन क्षेत्रको अनुसन्धान अधिकृत तोकेको छ’, यादवले भने, ‘म जाँदा उत्खनन भइरहेको राष्ट्रिय वनबाट कसमस सिमेन्टका डोजर र स्काभेटर भागिसकेका थिए। कुनैलाई पक्राउ गर्न सकिएन।’ धनुषामा रहेको कसमस सिमेन्टले उदयपुरको कटारी नगरपालिका ८ पट्नाभन्ज्याङ र उदयपुरगढी गाउँपालिका ४ र ५ मा पर्ने माटीखोला अमिले पाखाबाट चुनढुंगा ढुवानी गरी लैजाँदै आएको छ। जसमा उदयपुरगढी गाउँपालिकाको माटीखोला राष्ट्रिय वन क्षेत्रमा पर्छ।

त्रिवेणी वन डिभिजन कार्यालय कटारीका प्रमुख वरिष्ठ वन अधिकृत दानबहादुर श्रेष्ठले राष्ट्रिय वन क्षेत्र उत्खनन् गरी लैजाने चुनढुंगा रोकिएको बताए। ‘हाम्रा वन अधिकृतले गएर हेर्दा त्यो क्षेत्र राष्ट्रिय वनमा पर्ने र कतै सर्वसाधारणका निजी जग्गा भएको पनि पाएका छौं’, उनले भने,‘नापी कार्यालयबाट अमिन टोली बोलाई जग्गा छुट्टयाएर मात्र उत्खनन् गर्न दिने गरी रोकेका छौँ।’

राष्ट्रिय वनमा समेत दोहन गरेको पाइएकाले वनले तत्कालको लागि रोक्नु परेको डिभिजन वन प्रमुख श्रेष्ठको भनाई छ। देशमा रहेका तीन तहका सरकारमध्ये वन कार्यालय संघीय सरकारको मातहतमा नभएर वन क्षेत्र धेरै दोहन हुने भन्दै श्रेष्ठले भने, ‘अहिले हामी प्रदेशमा मातहत गएका छौं। तर प्रदेशसँग कानुनी रूपमा गएका छैनौं। स्थानीय तहमा पठाउने भनेको छ। त्यहाँ पनि गएका छैनौं। त्यही मौकामा कसमस सिमेन्टले चुनढुंगा उत्खनन गरेको हो।' 

वन कार्यालयलाई संघीय सरकार मातहतमा राखेर अधिकार सम्पन्न नबनाए देशैभरि वन क्षेत्र दोहन बढ्ने उनको भनाई छ। स्थानीयका अनुसार केही नापी भएको जग्गा र सर्वसाधारणले खरबारीको रुपमा प्रयोग गर्दै आएको क्षेत्रमा कसमस सिमेन्टले उत्खनन् गर्ने चुनढुंगा छ। त्यही खरबारी पाखो नै राष्ट्रिय वन क्षेत्रसँग जोडिएको छ। उदयपुरगढी गाउँपालिका ५ का वडा अध्यक्षकुमार अधिकारीले खानी उत्खनन क्षेत्र वनमा पर्ने बताए। ‘खानी उत्खनन भइरहेको थियो,’ उनले भने, ‘वडामा र स्थानीय सरकारसँग खासै सम्बन्ध नहुने भएकाले हामीले चासो दिएका थिएनौँ। अहिले वनले रोकेको छ।’

सबै प्रक्रिया पूरा गरेका छौँ: कसमस सिमेन्ट

कसमस मिसेन्टका कार्यकारी प्रमुख कृष्ण दुलालले चुनढुंगाको खानी सञ्चालनको लागि निर्माण गर्दै गरेको सडककै काममा वन कार्यालयले रोकेको जानकारी दिए। ‘हामी खानी सञ्चालनको लागि सडक निर्माण गरिरहेका थियौं। सडक निर्माणको क्रममा भेटिएका चुनढुंगा ढुवानीसमेत गरिरहेका थियौं। त्यही क्रममा वनले रोकेको छ। उनले नेपाल सरकारसँग चुन ढुंगा उत्खनन गर्दा गर्नुपर्ने सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेको समेत बताएका छन्।

‘वन, खानी विभागमा गर्नुपर्ने सम्पूर्ण कागजी प्रक्रिया पुर्‍याएका छौं’, उनले भने, ‘अहिले सडक निर्माण गरिरहेका छौं। खानी उत्खनन नगर्दा रोकिएको छ। सडक निर्माणको क्रममा भेटिएको चुनढुंगा मात्र ढुवानी गरेका हौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.