|

दाङ :  प्राय भवन बनाउन इँटाको प्रयोग गरिन्छ। तर, दाङमा भने इँटा नभई मिनिरल वाटरका बोतलवाट २ कोठाको भवन निर्माण हुँदै छ। तुलसीपुर ७ मा रहेको माध्यामिक विद्यालय कालाखोलामा लामो समयदेखि अलपत्र परेको ५ कोठाको भवनमध्ये २ कोठा भवन प्लास्‍टिक बोतलबाट निर्माण हुन लागेको हो। 

विद्यालयको भवन टिच फर नेपालका स्वयंसेवकले दाङमा पहिलो पटक प्लास्‍टिकका बोतलबाट विद्यालय भवन निर्माण गर्न थालेका हुन्। २०६७ सालदेखि अलपत्र परेको भवनलाई टिचर फर नेपालका स्वयंसेवक, उक्त विद्यालयका विद्यार्थी, शिक्षकले खेरगइरहेका प्लास्‍टिकको बोतलबाट भवनको दुईवटा कोठा निर्माण गर्न शुरु गरेका हुन्। २०६७ सालदेखि देशभरका विभिन्न स्थानमा स्वयंसेवक शिक्षकका रूपमा जान लागेकालाई समाजसँग घुलमिल गराउनका लागि उक्त अभियान शुरु गरेको कार्यकारी प्रमुख शिशिर खनालले बताए।

उनका अनुसार पहिलो दिन लामो समयदेखि आर्थिक अभावमा निर्माण गर्न नसकिएको उक्त विद्यालयलाई आफैँ सक्रिय भएर पनि निर्माण गर्न सकिन्छ भन्ने चेतना दिन श्रमदान गरेको बताए। ‘हामीले विद्यालयमा एक दिन श्रमदानसँगै चेतना प्रदान गरेका छौं’ उनले भने ‘यो कामलाई पूरा गर्न अब विद्यालयले सक्रियता देखाउनुपर्छ।’ आफ्ना स्वयंसेवकलाई आवासीय तालिम, समुदायसँग घुलमिल गर्ने अभ्यास दिन विद्यार्थीकै घरमा बस्ने, त्यहाँको वातावरण अवगत गराउने गरेको उनको भनाई छ।

यो प्रविधिवाट निर्माण गर्दा लागत कम लाग्ने र टिकाउ पनि हुने उनले बताए। यो बोतलमा बालुवा, माटो सिमेन्ट सबै मिलाएर भरिन्छ, त्यो भएर यो प्लास्‍टिक भएका कारण सड्ने गल्ने हुँदैन त्यो भएर यो प्रविधिवाट निर्माण गर्दा कम खर्च र टिकाउ हुने उनको भनाइ छ।   देशभरिका करिब एकसय जना स्वयंसेवकले दिनभर भवन निर्माणको काम गरेका हुन्।

लामो समयदेखि अलपत्र रहेको भवन खेरगइरहेका प्लास्‍टिकका बोतलबाट निर्माण गर्न अभ्यास गराउनु विद्यालय र दाङमा नौलो कुरा भएको विद्यालयका प्रधानाध्यापक राजीव ओझाले  बताए। उक्त विद्यालयको ५ कोठा निर्माण गर्न शुरु गरिए पनि अलपत्र रहेको र पहिलो चरणमा दुईवटा कोठा निर्माण पूरा गर्ने लक्ष्य रहेको बताए। त्यसका लागि तुलसीपुर उपमहानगरपालिकाले दुई लाख, टिचफरले १ लाख र सोना सिमेन्टले ३० बोरा सिमेन्ट उपलब्ध गराउने आश्वासन दिएको उनले बताए।

अहिले ७ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेकाले कक्षा कोठा अभाव रहेको उनको भनाइ छ। कक्षा कोठा अभाव हुँदा जीर्ण भवनमा विद्यार्थीलाई  पठनपाठन गराउन बाध्यता रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.