|

सुर्खेत : हरेक महिनाको १ गते र पन्ध्र गतेका दिन बुढा, तरुण, के बालबच्चा दिउँसो दोब्बर चढ्न लाग्दै गर्दा सुर्खेतको वीरेन्द्रनगरको घण्टाघर पूर्वपट्टि रहेको खुल्ला मञ्च वरिपरि सबै उमेर समूहकाे भीड विस्तारै बढ्छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा हरेक महिनाको दुई दिन भने निकै चहलपहल हुने गर्छ।

यो चहल–पहल कुनै आमसभा वा महोत्सवको भने होइन। तर ती दुई दिनमा खुलामञ्चमा जम्मा हुने मानिसहरुको भिड नियाल्ने हो भने, कुनै महोत्वसव भन्दा कम देखिँदैन। कुनै मेलाको आयोजनामा नभई स्वतस्फुर्त रुपमा हुने भेलाले भरिन्छ खुल्ला मञ्चमा। फरक यत्ति छ, महोत्सवमा युवायुवती अधिक सहभागि देखिन्छन् भने ती दिनमा जम्मै बृद्धाबृद्धहरुको उपस्थिती हुन्छ। र एकाएक गुञ्जिन्छिन्, देउडा गीत।

कोही देउडा गाउँदै पैताला मिलाइरहेको हुन्छन् भने कोही त्यसैको तालमा ताली बजाइरहेका भेटिन्छन्। स्वतस्फूर्त रुपमा खुल्लामञ्च आउने बृद्धबृद्धालाई न त वैशाख–जेठको चर्काे गर्मि छेक्छ न त असारे झरिले नै रोक्छ। हरेक महिनाको एक र १५ गते खुल्लामञ्च भरिभराउ मात्रै हुँदैन, देउडामय बन्छ। देउडाका पारखीहरु जम्मा हुँदा भरिने सुर्खेतको खुल्ला मञ्चले सिंगो कर्णालीको देउडा संरक्षण गरेको छ। 

साई की भैँसी खात बस्ने, म पानी छल्क्याउने।
सुर्ज फूल जसी धेक्या मन लल्क्याउने ।।
सौराईले मर्नु भैगो काँ गई मैना चरी । 
आटीअल मनका राजा हौली जीवन भरी ।।

गाउँघर मेलापातमा सुसेलिने यस्ता देउडा गीतबाट मनाेरञ्जन लिन सकिन्छ। साविकका कर्णाली प्रदेशका जुम्ला, कालिकोट, दैलेख तथा सुदूर पश्चिमका अछाम लगायतका जिल्लाबाट सुर्खेतमा आई स्थायी रुपमा बसिरहेका देउडा प्रेमी मनले देउडा गीत संगित र संस्कृति अनि पहिचानलाई बचाई राख्नको लागि सुर्खेतमा कर्णाली देउडा समाज गठन गरी हरेक महिनाको १ गते र १५ गते महिनाको दुई पटक वीरेन्द्रनगरको खुलामञ्चमा देउडा खेल्दै आएका छन्।

संरक्षणमा चुनौती

उद्यम विकास र बजारीकरणका लागि जिल्लामा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरका मेला महोत्सवहरू वर्षेनी हुने गर्छन्। महोत्सवबाट फाइदा कमाउने ध्येयले आयोजकहरू नै स्थानीय कला संस्कृतिकालाई प्रभाव पार्ने काम गर्दै आएका देउडा पारखी बताउँछन्। कर्णाली समृद्ध बनाउने उद्देश्यका साथ हुने ती मेला महोत्सवमा स्थानीय कला साहित्यलाई समेट्ने भनिए पनि कार्यान्वयनमा भने खासै आउन सकेको छैन।

महोत्सवलाई आम्दानीको स्रोत ठानेर आयोजना गर्दा राष्ट्रिय स्तरकै कलाकार बोलाउने गरेकाले एकातिर स्थानीय कलाकारले आफ्नो कला प्रस्तुत गर्न पाएका छैनन् भने अर्काेतिर पश्चिमा संस्कृति भित्रिएको वीरेन्द्रनगर ९ लाटिकाइलीका लक्ष्मीराम ढकाल बताउँछन्। ‘मेला महोत्सवमा देउडाले उचित प्राथमिकता नपाउँदा संरक्षणमा चुनौती देखिएको छ’ उनले भने, ‘सम्मानदेखि पुरस्कारसम्म राष्ट्रिय कलाकारलाई नै हुन्छ।' जसले गर्दा स्थानीय कलाकारको मनोवल उच्च राख्ने काम हुन सकेको छैन। 

पश्चिमा गीत संगीतको प्रभावले पछिल्लो समयमा युवा पुस्ताले देउडा गीतबारे अनविज्ञ नै छन्। यसर्थ देउडा गीत लोप हुने अवस्थामा पुगेको छ। बढ्दो पश्चिमा गीतको प्रभावले कर्णाली प्रदेशमा गाइने देउडा भाका लोप हुँदै गएको छ। युवापुस्तामा देखिएको आधुनिक गीतप्रति आकर्षणले पनि देउडा लोकप्रिय बन्न छाडेको उनको भनाई छ। ‘हिजोआजका युवा पुस्ता देउडा गीतबारे जानकार नै छैनन्’ वीरेन्द्रनगरको खुल्ला मञ्चमा भेटिएका ७१ वर्षीय ढकालले भने, ‘संरक्षणका लागि राज्यले नै बेवास्ता गरेको छ । वास्तवमै सुदूर-कर्णालीको देउडा उपेक्षामा परेको छ।’ 

देउडा गीतको संरक्षणका लागि साविकको भेरी अञ्चल र कर्णाली अञ्चल (हाल कर्णाली प्रदेश) मा विभिन्न संगठनहरू खुलेका छन्। तर, उनीहरू पर्याप्त रुपमा क्रियाशील हुन नसक्दा देउडा गीत हराउन थालेको छन्। युवा पुस्ताले देउडा गीत प्रतिको रुचि नै हराएको छ। भेरी कर्णाली लोक साँस्कृतिक जागरण मञ्च सुर्खेतले वीरेन्द्रनगरमा देउडा संरक्षणका लागि महिनाको दुई दिन रमाइलो मेला लगाउने गरेको छ। त्यो नै कर्णालीमा गाइने देउडाको चिनारी बनेको पाइन्छ।

देउडा गीत संरक्षणका लागि संगठनात्मक रुपमा प्रचार र मेला महोत्सवमा उच्च स्थान दिनुपर्ने कालिकोटकी कमला धामी बताउँछिन्। ‘धेरै जमघट हुने महोत्सवमा देउडा नै सुनिँदैन’ उनले भनिन्,‘संरक्षणमा भएको लापरवाहीले गोठाला जाँदा गाइने भाकामा सीमित भएको छ।’

संघीय संरचनाअनुसार तीन तहका सरकारले संरक्षणका लागि विशेष नीति ल्याउनुपर्ने हुम्लाका धनजन्य परियार बताउँछन्। 

बुढ्याैलीको ‘रंगमञ्च’

जुम्लाको सिंजा पातरखोला घर भएकी ५५ वर्षीया कलन्देवी अधिकारी पनि मेलामा हरेक महिनाको १ र १५ गते आइपुग्छिन्। देउडामा उनलाई बुढ्यौलीले छेक्न सकेको छैन। बरु देउडा गीतमार्फत आफ्ना दुःख र सरकार तथा राजनीतिक कर्मीलाई पनि सचेत गाराउन लागेका छन्। उनीले भनिन्, ‘देउडा गाउदा र पहिले एकै थलो रहेको आफन्त र ईष्टमित्रसंग भेट हुँदा असाध्यै रमाइलो हुन्छ।’

६ प्रदेश कर्णाली भयो, राजधानी सुर्खेत
सरकारको जनता प्रति फर्कीजाय चेत।

हुम्ल जुम्ला मुगु डोल्पा सिँजा पातरखोला
जनताले सोचेको जसो कहिले हुने होलो।

वीरेन्द्रनगरको खुलामञ्चमा पुग्दा वयस्क अवस्था पार गरेर बुढ्यौलीतर्फ लागेकाहरू माया प्रेमका कुरामा निक्कै गफिएका भििटन्छन् । झट्ट हेर्दा घरका छोराछोरा, श्रीमान श्रीमती विर्सेर खुल्लामञ्च आएका उनीहरूबीच भएका कुराकानी २० वर्षे लक्का जवानीमा झाँगिएको माया प्रेम भन्दा कम हुँदैन। सबैको कपाल फुलिसकेका थिए भने कोही लट्ठीको साहरा लिइरहेका हिडिरहेका देखिन्थेँ। 

हिजोआज लुकीछिपी माया प्रेम गर्ने युवायुवतीका सामु परिवारमा छोरा छोरीदेखि नातिनातिना भएका बुद्धबुद्धाले खुलेरै माया प्रेम मात्रै होइन्। विबाह गर्ने प्रस्तावसम्म गर्न पुग्छन् देउडामार्फत। युवायुवतीबीच माया गर्दा हुने शंका, उपशंका प्रस्टै देखिन्छ। देउडा गीतमा गफिएका उनीहरू एक अर्काबीच माया गाँस्न नपाएका बाध्यता पोख्छन्। फकाउन खोज्छन्। समस्या देखाउँछन् र टार्न खोज्छन्।

खीर पाक्याको गिजीमीजि अमृत हाल्याको छ, 
मेरा घर आइजा पन सिद्ध पाल्याको छ।।

भान्स्या काँ जान्या हो, सबै जना भान्स्या लिया 
को मान्दिन रिस, को मान्दिन सौता लिया।।

खीर पकाउँला खान दिउँला दूधको तिउँन दिउँला 
निको मिठो नखोज्दिया,पाउनी भई आयाले।। 
    
हिजोआज लुकीछिपी माया प्रेम गर्ने युवायुवतिका सामु परिवारमा छोरा छोरीदेखि नातिनातिना भएका बुद्धबुद्धाबीच  खुल्ला मञ्चमा हुने माया प्रेमका सवाल–जवाफले सिंगो कर्णालीको इतिहास जोगाएको छ। देउडा भाकामार्फत हुने सवाल जवाफले बुढेशकालमा वैशको झल्को दिने गरेको छ। खुल्ला मञ्चको रमाइलो मेलामा उनीहरूबीच वैशका कुरा मात्रै हुँदैनन्। एक आपसमा माया, प्रेम, दुःख सुख, रिस क्रोध, साट्नछन्, देशको चिन्ता पनि गर्छन्।

कर्णालीका हुम्ला, डोल्पा, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, सल्यानलगायतका जिल्लाबाट बसाई सरि सुर्खेत आएका उनीहरूबीचको मिलन विन्दु भनेकै रमाइलो मेला हो। यसरी युवा पुस्ताले बिर्सदै गएको देउडा जोगाउने जमर्कोमा छन्, सुर्खेतका वृद्ध पुस्ता। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.