|

तनहुँ : तमू ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषदले तनहुँको दमौलीमा गरेको केन्द्रीय पार्षद सभा तमूवान प्रदेश कायम गर्न माग गर्दै सकिएको छ। आफ्नो विभिन्न मागहरू पूरा गर्ने रणनीति तयार पार्न शुक्रबार र शनिबार सभा गरेको परिषदले आइतबार पत्रकार सम्मेलन गरी नौबुँदे माग सार्वजानिक गरेको हो।

पत्रकार सम्मेलनमा परिषदका केन्द्रीय अध्यक्ष रेशम गुरुङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा राज्यले ४ नम्बर प्रदेशलाई गण्डकी प्रदेश नामकरण गरेको प्रति असहमति जनाउँदै तमुवानको माग गरेको छ। तमूवान प्रदेश नामकरण सुनिश्चित गराउनको लागि निरन्तर आन्दोलनको कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ। तमु ल्होसारलाई राष्ट्रिय पर्वको मान्यतासहित सार्वजनिक बिदा सुनिश्चित नगरिदासम्म निरन्तर आन्दोलन गर्ने विज्ञप्तिमा जनाइएको छ।

तमु समुदायको आधिकारीक खेमा लिपि सम्बन्धमा भएको निर्णयलाई देशभर व्यापक बनाउनको लागि लिपी प्रशिक्षक तयार गरेर पठनपाठनको व्यवस्था गर्नुपर्ने माग राखेको छ। तमूहरूको आदिम थलो क्होला सोप्रे ट्होलाई विश्व सम्पदा सूचीमा राख्ने व्यवस्था गर्नुपर्ने, तमु भाषालाई कामकाजको भाषाको मान्यता दिइनुपर्ने लगायतको माग राखिएको विज्ञप्तिमा उल्लेख छ। नेपाल बाहिर बसोबास भए/गरेका तमू समुदायहरुबीच पारिवारिक सम्बन्ध कायम गरी तमु समुदायको भाषा, संस्कार र संस्कृतिका साथै आन्दोलनलाई अन्तर्राष्ट्रिय गर्नका निम्ति यस वर्ष तमू अन्तराष्ट्रिय सम्मेलन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

तमूहरूको पहिचान, इतिहास, इतिहाससँग जोडिएको संस्कार र संस्कृतिको जर्गेना गर्न अध्ययन अनुसन्धान विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ। त्यसैगरी, तमू समुदायलाई राज्यको निजामती क्षेत्र लगायतमा नीति निर्माण र कार्यान्वयनको तहमा प्रतिनिधित्व र पहुँच स्थापित गर्न/गराउन विभिन्न प्रकारको अभिमुखीकरण कार्यक्रम, लोकसेवा आयोगको तयारी कक्षा लगायतका रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय पारित गरिएको पत्रकार सम्मेलनमा महासचिव सूर्यबहादुर तमूले जानकारी दिए।

पत्रकार सम्मेलनमा अध्यक्ष रेशम तमुले प्रदेशको नाम जातिय पहिचानले हुनु नै उपयुक्त भएको दावी गरे। प्रदेश ४ लाई तमुवान प्रदेश नभए तमुवान–मगरात प्रदेश तथा गण्डक तमुवान–मगरात प्रदेश लगायतको नामकरण गर्न सकिने गुरुङको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.