|

भद्रपुर, (झापा) : झापामा जारी प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको दोस्रो दिनको खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ० काविरुद्ध ३ गोल गर्दै विजयी भएको थियो। यसअघिको खेलमा प्रदेश ५ लाई जितेसँगै आर्मीले दुई खेल गरी ६ अंक बटुलेर सेमिफाइनलमा प्रवेश गरेको हो। आर्मीको तर्फबाट राम साहले खेलको १४ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए। साहले खेलको ४९ औं मिनेटमा गोल थप एक गोल गरेका थिए। खेलको ३५ औं मिनेटमा देवसिंह धामीले गोल गरे। खेलको 'म्यान अफ म्याच' आर्मीका नरेन्द्र कार्की घोषित भए। 

त्यस्तै आइतबार भएको अर्को खेलमा सुदुरपश्चिमले प्रदेश २ लाई १ काविरुद्ध ३ गोल अन्तरले पराजित गर्दै ३ अंक प्राप्त गरेको छ। प्रदेश ७ का दीपकराज जोशीले १२ औं, शेरबहादुर चन्दले २४ औं र धिरेन्द्रबहादुर चन्दले १/१ गोल गरे। प्रदेश २ का तर्फबाट रेजा खानले ४६ औँ मिनेटमा एक गोल फर्काए। खेलको म्यान अफ द म्याच विजेता टिमका दीपकराज जोशी घोषित भए।

त्यसैगरी प्रदेश ३ र ५ बीचको खेल १/१ गोलले बराबरी भएको थियो। खेल बराबरीमा टुंगिएपछि दुवै टिमले १/ १ अंक बाँडे। प्रदेश ३ का तर्फबाट खेलको ९ औं मिनेटमा कुमार भट्टराईले गोल गर्दै टिमलाई अग्रता दिलाए। प्रदेश ३ जीत नजिक पुगिसकेको अवस्थामा अन्तिम समयमा प्रदेश ५ ले प्यानेल्टी सुट आउट पाए। प्यानल्टी सुट आउटलाई सदुपयोग गर्दै मंगल नेपालीले खेलको ५४ औ मिनेटमा गोल गर्दै खेल बराबरी गराए। खेलको म्यान अफ द म्याच प्रदेश ३ का योगेशकुमार थापा घोषित भए। यता प्रतियोगिता ‘ए’ समूहमा आर्मीपछि गण्डकी प्रदेशको ३ अंक रहेको छ भने प्रदेश ३ र ५ को १/१ अंक रहेको छ।

‘बी’ समूहमा प्रदेश ७ को ३ अंक, प्रदेश १ काे १ र २ नम्बर प्रदेशको १/१ अंक रहेको छ। सोमबार  प्रदेश १ ले सुदुरपश्चिमलाई पराजित गरे वा खेल बराबरी भएमा प्रदेश २ प्रतियोगिताबाट बाहिनेछ। उता ‘ए’ समूहमा गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गर्नलाई प्रदेश ५ लाई पराजित गर्नुपर्ने हुन्छ। राष्ट्रिय खेलकुद परिषद्को संयोजन तथा नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेशबाहेक गण्डकी, सुदूरपश्चिमसहित ६ वटा प्रदेश र नेपाल आर्मीको एउटा विभागीय टिमले सहभागिता जनाएको छ।

२० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिने नेपाल हक्की संघका केन्द्रीय सचिव रञ्जन थापाले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.