|

सुनसरी : सुनसरीको धरानमा आइतबारबाट सुरु भएको बूढासुब्बा गोल्डकपको २१ औं संस्करणको उद्घाटन खेल समय अभावका कारण सोमबार बिहान पुनः खेलाइने भएको छ।

आइतबार भएको उद्घाटन खेलमा संकटा क्लब काठमाडाैं र मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर बीचको खेल बराबरीमा टुंगिएपछि सोमबार बिहान पुन खेलाइने भएको हो। यसअघि शनिबार पानी परेर स्थगित गरिएको गोल्डकपको उदघाटन खेलमा आइतबार निर्धारित समय दुबै टिमले दुई /दुई गोलको बराबरी खेलेपछि खेल टाइ ब्रेकरमा धकेलियो‍।

टाइ ब्रेकरमा पनि दुबै टिमले बराबरी खेलेपछी खेल सडेन डेथमा गयो। सडेन डेथबाट पनि कुनै नतिजा ननिस्केपछी अन्ध्यारो भएकाले आयोजकले खेल सोमबार बिहान ८ बजे पुन टाइब्रेकरबाट टुंग्याउने भएको हो। यसअघि निर्धारित समयमा मेची नेत्रालयका कर्ण लिम्बूले खेलको १० औ मिनेट गोल गरी अग्रता कायम गराएका थिए।

पहिलो हाफमा १ गोलको अग्रता कायम गरेको मेची नेत्रालयबिरुद्ध खेलको ६० औ मिनेटमा संकटाका जया गुरुङले गोल गरेर बराबरीमा पुर्‍याएका थिए। त्यसको ८ मिनेटपछि मेची नेत्रालयका पुजन उपरकोटीले गोल गरी खेललाई २-१ को अग्रतामा पुर्‍याएका थिए। खेलको अन्तिम समयमा सम्हालिन नसक्दा मेची नेत्रालयबिरुद्ध अन्तिम मिनेटमा दिपेश थापामगरले गोल गर्दा खेल बराबरीमा पुगेको थियो।

आयोजकको चरम लापरवाहीले समयमै खेल सुरु नगर्दा नजिता निस्कन नसकेको हो। खेल ढिला गरी दिउसो चार बजेमात्र खेल सुरु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.