|

पर्सा : पर्साका दुई किशोरिको शव सीमावर्ती शहर रक्सौलको कंगना ढाला नजिकै रेलको लिगमा फेला परेको जनाइएको छ। रक्सौल­सुगौली रेल्वे खण्डको रेलको लिकमा एउटीको टाउको र एउटीको खुट्टा कटेको अवस्थामा पर्साका दुई युवतीको शव फेला परेको जनाइएको हो।

उनीहरू दुवै किशोरी पर्साको कालिकामाई गाउँपालिका २ को राजेश्वर साहकी  १६ वर्षीया छोरी निभा कुमारी र कालिकामाई गाउँपालिकाकै वडा नम्बर ३ का हरिकिशोर चौरसियाकी १७ वर्षीया छोरी किरण चौरसिया रहेको कालिकामाई गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सोनालाल चौरसियाले बताए। घटना कसरी भयो? भन्ने बारेमा आश्चर्य भएको छ। हल्लैहल्लाका भरमा दुवै किशोरी पनि फेला नपरेकोले कसैले कर्तुत गरेर रेलको लिगमा फालेको हुन सक्ने स्थानीयको आशंका छ।

मृतक भनिएका दुवै जना अरू दुईजना साथीसहित वीरगन्जको रानीघाटमा एउटै डेरामा बसेर वीरगन्जको पब्लिक कलेजमा पढ्दै गरेको परिवारका सदस्यको हवाला दिँदै उनले बताए। 'आइतबार सरस्वती पूजा भएको कारण शनिबार उनीहरू घर आएको समयमा कसैले घटना घटाएको हुनसक्ने गाउँलेको अनुमान छ' वडाध्यक्ष चौरसियाले भने 'वास्तविक कुरा प्रहरीले अनुसन्धान गरेपछि मात्र थाहा हुन्छ।'

घटनास्थलमा भेटिएको शवमध्ये एउटाको साथबाट फेला परेको परिचय पत्रमा पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ का राजेश्वर साहकी छोरी वीरगन्जको  पब्लिक कलेजको ११ कक्षामा अध्ययन गर्ने छात्रा निभा कुमारी रहेको र अर्की उनकै साथी रहेको खुलेको स्थानीय हिन्दी अनलाइनले उल्लेख गरेको छ। परिचय पत्रमा ११ कक्षा भनिए पनि दुवै छात्रा पब्लिक कलेजको १२ कक्षामा अध्ययनरत छात्रा भएको स्थानीयले बताए। मृतकको साथबाट फेला परेको परिचय पत्रमा अभिभावकको मोबाइल नम्बर ९८१८७४०५४१ उल्लेख भएको स्थानीय हिन्दी अनलाइनले प्रकाशित गरेको समाचारमा जनाइएको छ।

यो घटनाका विषयमा वीरगन्ज पब्लिक कलेजका संचालक डा. दीपक शाक्यले केही थाहा नभएको बताए। कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी कुशवाहाले पनि आफू बाहिरबाट भर्खर गाउँमा आइपुगेकोले केही थाहा नभएको बताए। यो घटनाका बारेमा वास्तविकता बुझ्ने प्रयास भइरहेको भनी जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा र यहाँका सुरक्षा संयन्त्रले जनाएका छन्।

घटनाबारे सूचना पाएपछि नेपालबाट प्रहरी टोली घटनास्थलमा खटाइएको र किशोरीको परिवारसँग पनि सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.