|

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि उत्तर कोरियाका राजदूत नवनियुक्त राजदूत जो योङ मनले शिष्टाचार भेटवार्ता गरेका छन्।

राजदूत जो योङ मन आइतबार सभामुख महरालाई भेट्न सिंहदरबारस्थित कार्यकक्षमा पुगेका थिए।

भेटका क्रममा सभामुख महराले नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीचको कूटनीतिक सम्बन्ध साढे चार दशक पुगिसकेको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध निकै प्रगाढ र सुमधुर रहेको बताएका थिए।

नयाँ राजदूतको रूपमा नेपाल आएका मनलाई स्वागत गर्दै सभामुख महराले नेपालका लागि कोरियाली राजदूतको रूपमा कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए।

विश्व शान्ति स्थापनाका लागि उत्तर कोरिया र त्यहाँको नेतृत्वले थालेको वार्ता, संवाद र कूटनीतिक पहल निकै सह्रानीय रहेको भन्दै सभामुख महराले विश्व शान्तिको अभियानमा सफलता मिल्ने विश्वास व्यक्त गरेका थिए।

‘प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँका सर्वोच्च नेता उनको कुशल पहलकदमीबाट विश्व शान्तिका लागि गरिएको प्रयास निकै सह्रानीय छ’, सभामुख महराले भने, ‘आफ्नो लक्ष्यमा दृढ रही विश्व शान्तिका लागि थालिएको पहलकदमी सफल हुनेमा म विश्वस्त रहेको छु। विश्व शान्तिका लागि उत्तर कोरियाको पहल निकै प्रशंसनीय छ।’

संघीय संसदले नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच संसदीय मैत्री समूह गठनका लागि गृहकार्य गरिरहेको भन्दै सभामुख महराले दुई देशबीचका सांसदहरूको मैत्री समूह गठनले दुई देशबीचको राजनीतिक सम्बन्ध बिस्तार र अनुभव आदान प्रदानमा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरेका थिए।

सभामुखसँगको भेटमा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मनले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ठ बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताए।

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशलाई समाजवादी अर्थतन्त्र विकास गर्ने र कोरियाली प्रायद्वीपमा स्थायी शान्ति कायम गर्ने रणनीतिक लक्ष्य रहेको भन्दै राजदूत मनले समाजवाद, कोरिया एकीकरण र विश्व शान्ति सफल हुनेमा सर्वोच्च नेता उनको रहेको बताएका थिए।

कोरियाका केही सहर र नेपालका केही शहरबीच भगिनी शहरको रूपमा रहेको भन्दै राजदूत मनले नेपालको हाइड्रो, कृषिलगायतका क्षेत्रमा आफूहरू लगानी गर्न इच्छुक रहेको समेत बताए।

भेटवार्तामा संघीय संसद सचिवालयका महासचिव मनोहर भट्टराई, सचिव भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.