|

पर्सा : भारतीय शहर रक्सौल नजिकै रेलको लिकमा आइतबार मृत भेटिएका पर्साका दुई किशोरीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको प्रहरीले बताएको छ। रक्सौल­सुगौली रेल्वे खण्डको कानानाभन्दा दक्षिणतर्फ रेलको रिलमा एउटा युवतीको टाउको र एउटाको खुट्टा काटेका अवस्थामा उनीहरुको शव फेला परेको थियो।

कालिकामाई गाउँपालिका–२ की निभाकुमारी साह र वडा नम्बर ३ की किरण चौरसियाको वीरगन्ज महानगरपालिका–९, रानीघाटस्थित डेरामा सुसाइड नोट फेला परेपछि उनीहरुले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। प्रहरी उपरीक्षक ढकालका अनुसार निभा र किरण आइतबार बिहान करिब ६ बजे रानीघाटस्थित डेराबाट मन्दिर जान्छौं भनी निस्किएका थिए। स्थानीयले उनीहरु रेलको लिगतर्फ जाँदै गरेको देखेको प्रहरी उपरीक्षक ढकालले बताए।

वीरगन्ज पब्लिक कलेजमा अध्ययनरत उनीहरुमध्ये किरणको विवाहका लागि तीन दिन पहिले चार लाख रुपैयाँ केटा पक्षलाई दिएको अनुसन्धानमा खुलेको छ। विवाहको तयारीको बेला भएको यस्तो घटनाले अचम्मित भएको कालिकामाई गाउँपालिका–५ का वडाध्यक्ष पवन तिवारीले बताए। ‘घटनाबारे बुझ्न म पनि प्रहरीसँगै घटनास्थलसम्म पुगें,’ उनले भने, ‘कोठामा सर्च गर्दा रातो मसीले लेखेको पत्र बेडमा फूलसहित राखेको भेटियो।’ 

उनीहरुको भारतीय भूमिमा मृत्यु भएकाले शव नेपाल ल्याउन पहल भइरहेको वडाध्यक्ष तिवारीले बताए। 

रक्सौलको रेल्वे लिकमा पर्साका दुई किशोरीको शव

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.