समाज

ठाडा प्राथमिक स्वास्थ्यलाई १५ शय्याको अस्पताल बनाउन माग
SHARES

माघ २८, २०७५

    विष्णुकुमार आले-

    अर्घाखाँची : जिल्लाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्‍याको अस्पताल निर्माण गर्न स्थानीय बासिन्दाले माग गरेका छन्। तर, जनताको मागप्रति सरकारले बेवास्ता गरेपछि बिरामीले सास्ती खेप्दै आएका छन्। स्वास्थ्य केन्द्रलाई १५ शय्‍याको अस्पताल र जिल्ला अस्पताललाई २५ शय्‍याको अस्पताल बनाउने सरकारको नीति भए पनि जिल्ला अस्पताल सन्धिखर्कमा भन्दा दोब्बर बिरामी आउने ठाडा प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा परिणत हुन नसक्दा बिरामीले सास्ती खेप्नुपरेको हो।

    अर्घाखाँचीको दक्षिण खाँचीका साविक सीतापुर, सुवर्णखाल, नरपानी, ठाडा, जुकेना, जलुके, धनचौर, सिद्धारा, सिमलपानी, प्युठान जिल्लाको दाङबाङ, हंसपुरलगायत ५ गाविस, कपिलवस्तु र रूपन्देही जिल्लाको माथिल्लो क्षेत्रका नागरिकलाई लक्ष्य गरी स्थापना गरिएको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा हिउँद महिनामा पनि दैनिकजसो ८० देखि १ सय ५० को हाराहारीमा बिरामी आउने गरेको स्वास्थ्य केन्द्रको ओपिडी शाखाले जनाएको छ।

    दैनिकजसो बिरामीको चाप बढ्दै गएको स्वास्थ्य केन्द्रमा आवश्यक बेडको अभावमा स्वास्थ्य केन्द्रमा उपचार गर्न सकिने बिरामीलाई पनि अन्यत्र रिफर गर्नुपर्ने बाध्यता भएको स्वास्थ्यकर्मी बताउँछन्। केन्द्रमा ल्यापटेस्‍ट मेसिन र भिडियोएक्सरे मेसिनको अत्यन्तै आवश्यक छ। तर, जुटाउनतर्फ कसैको ध्यान छैन। स्वास्थ्य केन्द्रलाई १५ शय्‍याको अस्पताल बनाउन अति आवश्यक भएको भन्दै पूर्वाधारको अभाव भए पनि १५ शय्‍याको अस्पताल भवन निर्माणको लागि प्रक्रिया अघि बढिसकेको मेडिकल अफिसर डाक्टर भीम रोकायले बताए।

    पटक–पटक केन्द्रलाई १५ शय्‍याको अस्पताल बनाउन स्वास्थ्य विभागमा अनुरोध गरे पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ। केन्द्रलाई अस्पताल बनाउन आवश्यक भएकाले ७ वर्षदेखि निरन्तर मन्त्रालयमा पत्रचार गर्ने काम भएको अहिले भवन निर्माणको लागि पुनर्निर्माण प्राधिकरणबाट रकम बिनियोजन भएको सुन्दा खुसी लागेको स्वास्थ्य केन्द्रका ल्याब इन्चार्ज गणेशकुमार पाण्डेले बताए।

    १५ शय्‍याको अस्पताल निर्माणका लागि १५ रोपनी जग्गा आवश्यक छ। अहिले साढे ६ रोपनी जग्गामा भौतिक संरचना बनेको छ। तर, नपुगेको जग्गाको व्यवस्थापन गरी अस्पताल निर्माण गर्न केन्द्र व्यवस्थापन समिति अगाडि बढिरहेको जग्गा व्यवस्थापन समितिका अध्यक्ष राम कृष्ण श्रेष्ठले बताए। विगतमा समयमा औषधि नआउँदा उपचारको अभावमा सेवाग्राहीले ठूलो सास्ती खेपिरहेका थिए। तर, अहिले नगरपालिकाले स्वास्थ्य केन्द्रमा नि:शुल्क पाइने सबै किसिमका औषधि नगरपालिका आफैँले किनेर अस्पतालमा पठाउने व्यवस्था भएपछि पछिल्लो समयमा बिरामीलाई सजिलो भएको छ।

    केन्द्रमा २४ सौं घण्टा स्वास्थ्यकर्मीले सेवा दिँदै आएका छन्। तर आवश्यक बेड र उपकरणको अभावमा सोचेजस्तो सेवा दिन नसकिएको उनीहरू बताउँछन्  स्वास्थ्य केन्द्र जिल्लाको गोरूसिङगे सन्धिखर्क कालोपत्रे सडकखण्डको केन्द्र बिन्दुमा रहेका कारण जिल्लाभित्र ठूला दुर्घटना हुँदा घाइतेहरू उपचारका लागि ल्याउने गरिन्छ। यसअघि पोष्टमार्टम भवनको अभावमा शवको पोष्टमार्टम गराउन शव बोकेर जिल्ला अस्पताल सन्धिखर्क पुर्‍याउनुपर्दा सर्वसाधारणले निकै ठूलो दुख पाउदै आएका थिए। तर, पटक-पटक विभिन्न संचार माध्यमबाट रिपोर्ट लेख समाचार प्रशारण प्रकाशन भएपछि अहिले स्वास्थ्य केन्द्रमा सुविधायुक्त पोष्टमार्टम भवन निर्माण भएको छ। अहिले भवन निर्माणपछि शव पोष्टमार्टमको काम स्वास्थ्य केन्द्रमा सुरू भएको चिकित्सकहरू बताउँछन्।

    दुर्घटनामा परेका र प्रसूति गराउन जिल्ला अस्पतालबाट बुटवल, काठमाडौं रिफर गरेका महिलाले बाटोमा बच्चा जन्माएर उपचार गर्न आउँछन् तर बेड र पर्याप्त जनशक्ति र उपकरणको अभावमा उपचारमा समस्या हुने गरेको छ। जिल्लाको आधाभन्दा बढी जनसंख्या र प्युठान, कपिलवस्तु र रूपन्देही जिल्लाको केही क्षेत्रका नागरिकलाई लक्ष्य गरी स्थापना गरिएको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चापलाईमध्ये नजर गरी सम्‍बन्धित निकायले समयमै १५ शय्‍याको अस्पताल निर्माणमा ध्यान दिन आवश्यक छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]