थाहा संवाद : स्थानीय सरकार

'चुनावका प्रतिबद्धता पूरा गर्न पाँच वर्ष लाग्छ'
SHARES

फागुन १, २०७५

    दैलेख : नौमुले गाउँपालिका प्राकृतिक तथा सांस्कृतिक रूपमा सुन्दर र हराभरा छ। यो गाउँपालिका साबिकको तोली, बालुवाटार, द्वारी, कालिका, नौमुले, सल्लेरी, चौराठा गाविस समेटेर बनेको हो। यस गाउँपालिकामा ८ वटा वडा छन्। यसको केन्द्र नौमुले बजारमा छ। नारायण नगरपालिका, महाबु गाउँपालिका, भगवतीमाई गाउँपालिका, डुङ्गेश्वर गाउँपालिकाको बीचमा यो अवस्थित छ। यसले २ सय २८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। २०६८ सालको जनगणनाअनुसार यहाँको जनसंख्‍या २० हजार ८ सय २ रहेको छ। जनजातिको बाहुल्यता रहेको यस गाउँपालिकामा हिन्‍दु र बौद्ध धर्म मान्नेहरू धेरै छन्। 

    पर्यटकीय क्षेत्रका रूपमा द्वारिखोला झरना, बाहुन बाहुनी गुफा, नौ तले गुफा, विभिन्न मठ मन्दिर यहाँ अवस्थित छन्। पहाडी र लेकाली भू–भाग भएकोले नौमुले क्षेत्रमा जडीबुटी प्रशस्त मात्रामा पाइन्छ। नौमुले क्षेत्रलाई हाइड्रो हबको रूपमा पनि विकास गर्न सकिने सम्भावना छ। नौमुलेमा अहिले द्वारीखोला जलविद्युत आयोजनाले विद्युत् उत्पादन सुरु गरिसकेको छ। अन्य चारवटा विद्युत् आयोजना निर्माणाधीन छन्। नौमुलेमा प्रशस्त मात्रामा अल्लो पाइन्छ। यहाँका नागरिकहरू पुरानै शैलीमा अल्लोबाट सामग्री निर्माण गर्ने र बिक्री गर्ने गर्दछन्। 

    स्थानीय सरकार बनेको करिब दुई वर्ष पुग्नै लागिसकेको छ। चुनावको बेला जनताका आधारभूत आवश्यकतादेखि समृद्धिको क्षेत्रका काम गर्छु भनिएको थियो। स्थानीय तहले के–कस्तो प्रयास गरेको छ त? यिनै विषयमा नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा (भविराम) मगरसँग थाहा खबरकर्मी उदयराज अधिकारीले गरेको कुराकानी:

    नौमुले गाउँपालिकामा तपाईं आएपछि के कस्तो परिवर्तन भएको छ?

    १९ वर्ष जनप्रतिनिधिविहीन भएको बेला यहाँका जनताले धेरै दुःख पाएका थिए। उतिबेला द्वन्द्व पनि चर्कियो। त्यतिबेला यहाँका मानिस विस्थापित पनि हुने पुगे। कतिले त गोठमा गाईभैँसी बाँधेर ज्यान जोगाउन हिँड्नुपर्‍यो। नौमुले चौकी आक्रमण हुँदा ३२ जना प्रहरीको ज्यान गएको थियो। पुरुषहरू ज्यान जोगाउन सहरतिर पस्नुपर्‍यो। गाउँमा मान्छे मर्दा लास उठाउने भेट्न मुस्किल थियो। इतिहासको त्यो क्षण सम्झँदा अहिले नौमुलेमा स्वर्ग महसुस हुन्छ। त्यतिबेला ३ लाखमा बिक्री नहुने घडेरीका मूल्य अहिले ३० लाख पुगेको छ। बजार विस्तार भएको छ। भौतिक पूर्वाधारको विकास सुरु भएको छ। अहिले गाउँपालिकासम्म पुग्ने सडक धमाधम निर्माण भएको छ।

    गत वर्ष मात्रै मुख्य सडकमा एक करोड रुपैयाँ विनियोजन गरेर काम बढाइयो। अहिले हिउँद र बर्षात दुवै सिजनमा सदरमुकाम दैलेख बजारबाट सवारी साधन चल्न थालेको छ। नौमुले गाउँपालिकामा आठै वडाका सदरमुकाममा गाडी चलाउने निर्णय गरेको छु। अनुगमनलाई तीव्र पारिएको छ। काम अनुसारको मात्र रकम भुक्तानी दिने परिपाटीको थालनी गरेका छौँ। पर्यटकको हिसाबले लुकेर बसेको झरनाको फेदमा हामीले होमस्टे सञ्चालन गरेका छौँ। जनताको हितका लागि हामी डटेर लाग्छौँ। जनताले विकास गर्ने जिम्मा दिएका छन्। हामी नौमुले गाउँपालिकाको विकासमै केन्द्रित छौँ। नौमुले गाउँपालिका धेरै परिवर्तन आएको छ।  

    गाउँपालिकाले सांस्कृतिक महोत्सव पनि गर्‍यो। महोत्सवको उद्देश्य के हो?

    गाउँपालिकाका संस्कृतिहरू लोप भैसकेका थिए। विरलै मात्रामा देख्न पाइने कला, संस्कृति र यहाँको सुन्दरताको प्रचार–प्रसार गर्ने युवा पुस्तालाई पुरानो संस्कृति हस्तान्तरण गर्नु नै महोत्सवको मुख्य उद्देश्य हो। नौमुले अहिले फेरिएको छ भनेर चिनाउन महोत्सव गरेका थियौँ। निकै कम खर्चमा यो कार्य सम्पन्न गरेका छौँ। आफ्नो गाउँपालिकामा कस्तो खालको कला संस्कृति छन् भन्ने अनुभव भएको छ। यहाँ लुकेर रहेका कलाहरूलाई बाहिर देखाउन महोत्सवले धेरै सहयोग गरेको छ। बाहिरबाट कलाकार झिकाउँदा आफ्नो ठाउँमा भएका कलाहरू लोप नहुन भन्ने उदेश्यले हामीले काम गरेका थियौँ। महोत्सव गर्दा यहाँका जनता खुसी भएका छन्। यहाँको कला संस्कृति जोगाउन कार्यपालिकाले पनि केही पहल गरेको छ। 

    नौमुले गाउँपालिका आम्दानी गरेर आफैँले चलाउनु परेमा यहाँका सम्भावित स्रोतहरू के–के  छन्?

    जनतालाई गुमराहमा राखेर कसैले पनि काम गर्न पाउँदैन। यो हामी निर्वाचित भएर आउनुभन्दा अगाडिको विषय हो। विद्युत् आयोजनाको कामकारबाहीबारे पारदर्शी हुन जरुरी छ।

    हाम्रो गाउँपालिकाको सम्भावित स्रोत भनेको द्वारी झरना हो। ढुंगा खानी धेरै छन्। ती ढुंगाबाट गिट्टी निकालेर बिक्री गर्न सकेमा गाउँपालिकाको आम्दानी बढ्नेछ। जडीबुटी पनि राम्रो स्रोत बन्न सक्छ। पर्यटकीय क्षेत्रहरू छन्। नेपाली कागज उद्योगलाई विस्तार गर्ने तयारीमा छौँ। 

    हाइड्रोको सम्भावना छ। हाइड्रोपावर बनिसकेपछि स्थानीय सरकारलाई फाइदा हुन्छ भनेर मन्त्रालयमा पनि कुरा राखेको छु। ५० प्रतिशत केन्द्र, २५ प्रतिशत प्रदेश र २५ प्रतिशत स्थानीय सरकारमा स्रोत बाँडफाँडको प्रस्ताव गरेका छौँ। अहिले पाँचवटा हाइड्रो निर्माणधीन छन्। अव स्थानीय जनताको रोजगारी सिर्जना र गाउँपालिकालाई आम्दानीको महत्त्वपूर्ण स्रोत बनाउनेबारे कार्यपालिकामा छलफल गरेर अघि बढ्ने योजना बनाएका छौँ। प्रदेश र केन्द्र सरकारले कानुन कसरी निर्माण गर्दछ सोही अनुसार यहाँको विकासमा जलविद्युत् कम्पनीको लगानीबारे बहस सुरु गरेका छौँ। हाइड्रो निर्माणका कारणले कतिपय स्थानहरूमा पछि बाढी आए पुरै गाउँ नै बगाउने खतरासमेत देखिएका छन्। जनतालाई सुरक्षित राख्न जोखिमको बस्तीलाई स्थानान्तरण समेतको उपाय सोच्दै छौँ। 

    द्वारी हाइड्रोपावर बनिसकेको छ। त्यसबाट पीडित क्षेत्रलाई कति प्रतिशत शेयर दिनुपर्ने थियो? यस्ता पक्ष पारदर्शी बनाउनु पर्ने थियो। अब हामी त्यसतर्फ पनि ध्यान दिनेछौँ।

    द्वारीखोलाको मुहानबाट कति पानी छोड्ने सम्झौता भएको थियो। खोलामा पानी छोडिएको छैन। सम्झौताबारे केही थाहा छ कि?

    जनतालाई गुमराहमा राखेर कसैले पनि काम गर्न पाउँदैन। यो हामी निर्वाचित भएर आउनुभन्दा अगाडिको विषय हो। विद्युत आयोजनाको कामकारबाहीबारे पारदर्शी हुन जरुरी छ।

    तपाईंले निर्वाचनको बेला गरेका प्रतिबद्धता कति पूरा भए त?

    मैले जनतालाई गर्न सक्ने विषयमामात्र आश्वासन दिएको छु। नसकिने कुराहरूको आश्वासन दिएको छैन। यो जनतालाई थाहा छ। निर्वाचन जितेको दुई वर्ष पुग्नै लाग्दा मैले ७०–८० जनालाई गाउँमै रोजगारी दिएको छु। विकास पूर्वाधारको काम तीव्र गतिले भइरहेको छ। सडकहरू पनि स्तरोन्नति भइरहेको छ। जनतासामु राम्रो काम गर्ने लक्ष्य लिएका छौँ। मेरो कार्यकाल सकिँदासम्म प्रतिबद्धता पूरा गर्नेछु।

    तपाईंको कार्यकाल सकिने बेलासम्म नौमुले गाउँपालिकामा नयाँ के विकास भएको देख्न पाइन्छ?

    यहाँका जनताले रुखबाट लडे पनि उपचार नपाउने अवस्था थियो। डेलिभरी हुँदा महिलाहरू बच्चा जन्माउन नसकेर अकालमै ज्यान गुमाउँथे। अहिले विकटता र भूगोलअनुसार स्वास्थ्य चौकी निर्माण भएका छन्। गाउँपालिकामै पन्ध्र शय्याको अस्पताल बनाउन थालेका छौँ। पाँच वर्षभित्र स्वस्थ र समृद्ध गाउँपालिका देख्न सकिनेछ।

    अस्पताल कहिलेसम्म बन्छ? 

    अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयमा पनि कुरा गरिसकेका छौँ। मन्त्रालयबाट कार्यविधि आउँछ। गाउँपालिकाबाट केही बजेट छुट्याएका छौँ। जग्गा खरिद प्रकिया थालेका छौँ। मेरो कार्यकालभित्रै नौमुलेमा अस्पताल बन्नेछ। 

    आफ्नै आँगनमा विद्युत् आयोजना हुँदा पनि जनताले बत्ती बाल्न पाएका छैनन् नि?

    नौमुलेमा कर्णाली प्रदेशकै सबैभन्दा पहिले विद्युत् उत्पादन भएको हो। तर, यही ठाउँका जनता अँध्यारोमा छन्। यहाँ लाइन जोड्न जनताको माग छ। विद्युत् आयोजनाहरू केन्द्रीय प्रसारणमा जोड्नुपर्ने बताउँछन्। यहाँ जोड्ने भए स्थानीयले नै पहल गर्नुपर्छ भन्छन् उनीहरू। बिजुलीको लठ्ठा मुनिका गाउँ अन्धकार हुनु राम्रो होइन। हामीले संघीय सरकारसँग यसबारे अनुरोध गरेका छौँ। त्यहाँ पनि कार्यविधि बनिसकेको छैन। कार्यविधि बनेको केही महिनाभित्र स्थानीय जनताले आफ्नै आँगनमा उत्पादन भएको विद्युत् उपभोग गर्न पाउनेछन्।

उदयराज अधिकारी

अधिकारी थाहाखबरका दैलेख संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]