|

महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला टिमले भारतमा भइरहेको हिरो गोल्डकपअन्तर्गत दोस्रो खेल सोमबार खेल्दै छ। पहिलो खेलमा म्यानमारसँग पराजित नेपाल अघिल्लो चरण पुग्नका लागि भारतविरुद्ध जित निकाल्न मैदानमा उत्रने छ। खेल नेपाली समयानुसार साँझ ७:१५ देखि सुरु हुने छ।

भारतको उडिसास्थित कालिङ्गका रंगशालामा नेपालले आफ्नो बलियो सेट उतार्ने छ। भारत पनि साफमा सहभागिता जनाउने अधिकांश खेलाडीलाई नेपालविरुद्ध मैदानमा उतार्दै छ। पहिलो खेलमा म्यानमारसँग ३–० ले पराजित भएको नेपाल उक्त खेलको गल्ती सच्याउन मैदान उत्रने प्रशिक्षक हरि खड्काले बताए।

भारतविरुद्धको खेलमा कमजोर इतिहास भएको नेपाल यस पटक जित्ने लक्ष्यसहित मैदानमा उत्रने छ। नेपालले पछिल्लो पटक भारतसँग बराबरी खेलेको थियो। नोभेम्बरमा भएको ओलम्पिक छनोटमा नेपालले अग्रता लिए पनि त्यसलाई बचाउन नसक्दा १–१ को बराबरीमा चित बुझाएको थियो।

भारतले पहिलो खेलमा इरानलाई १–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो भने अर्को खेलमा नेपाललाई पराजित गर्दै फाइनल पुग्न चाहेको छ। साफ च्याम्पियनसिपका तयारीका रुपमा रहेको यस प्रतियोगिता भारत र नेपाल दुवै टोली साफअघिको आफ्नो बलियो आत्माविश्वासलाई कायम राख्ने ध्याउनमा हुने छन्।

अंकविहीन रहेको नेपाल अंक तालिकाको पुछारमा रहेको छ। भारत तीन अंकसहित दोस्रो स्थानमा रहँदा गोलअन्तरको आधारमा तीन अंक नै जोडेको म्यानमार शीर्षस्थानमा रहेको छ। इरान तेस्रो स्थानमा कायम छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.