अनलाइन चलाउन सांकृतिक साँझ
बागलुङ :
‘बसम सानु रमाइलो गरेर, के लैजानु छ र हो मरेर...’
‘पैँचो तिर्नु छ तिम्रो गुनैको, लाछा डोरी उनैको, औंठि सुनैको, दिम्ला पछ्यौरी घर बुनैको’
कुमार पुनले यो गीत गाउँदा कालिगण्डकी चलचित्र मन्दिर बागलुङमा खचाखच भरिएका दर्शक सबै भावुक भए। पुनभन्दा पहिले पञ्चेबजाको गीत गाएका ईश्वर सिंहले तताएका दर्शक कुमार पुनका सबै गीतमा भावुक देखिए। यसै पनि पुनले प्राय भवनामा बहकिने खालका गीत गाएका छन्। चलचित्र मन्दिरको पर्दा अगाडि उभिएका उनले गीत मात्रै गाइरहेका थिएनन् लयमा घुमिघुमी नाचेका थिए। तर, दर्शकलाई भने पुनका गीतहरुले एकाएक भावनामा डुबायो।
‘सुतम सानु रात छिप्पियो धेरै, मत भोलि हिँड्नु छ सबेरै’
‘फूल्यो बामरी, बामरी..बामरी, म भोली गइहाल्छु बसे रामरी’
अनलाइन चलाउन सांकृतिक साँझ
बागलुङमै बसेर विद्यालय तहको शिक्षा आर्जन गरेका म्यादेली पुनले बागलुङमा चिनेजानेकाको नाम लिएर नाच्न आग्रह गर्दै गाएको यो गीतमा भने केही युवा पुस्ता नाचे। तर, विदेशी भूमिमा पसिना बगाएर परिवारवाट लामो समय टाढा बसेकाहरुलाई भने यो गीतले पनि नचाउन सकेनन्। ‘गीत सुन्दा आफ्नै जीवनसँग दाँजेर हेर्न मन लाग्यो’ वागलुङ बजारका व्यवसायी अनिस खातीले भने, ‘भोलि गीतले भनेजस्तै अवस्था आयो भने के गरौँला भनेर भावुक भएँ।’ बागलुङबाट सञ्चालनमा रहेको नयाँ विश्व अनलाइन पत्रिकाले आफ्नो व्यवस्थापन खर्च जुटाउनका लागि आयोजना गरेको नयाँ विश्व सांकृतिक साँझमा प्रस्तुति दिनका लागि शनिबार देशकै चर्चित कलाकारहरु बागलुङमा थिए।
हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’, लोक गायक तथा शव्द संकलन बसन्त थापा, कुमार पुन, जुना श्रीष मोर्डल तथा गाएक दुर्गेस थापा र लोक गाएक ईश्वर सिंह सांकृतिक साँझमा देखिएका थिए। लोक दोहोरी क्षेत्रका कलाकारको उल्लेख्य उपस्थिती रहेको कार्यक्रममा वसन्त थापाले गाएको सालको पातको टपरी हुने देखी दुर्गेश थापाले गाएको क्षेत्रीको छोरो सम्ममा दर्शक रमेका थिए।
सामाजिक काम पनि गर्छौं : सम्पादक भण्डारी
बागलुङ बजार आसपासका अग्ला डाँडाहरुमा हिमपात भएकाले बागलुङ बजारमा सिरेठो चलिरहेको थियो। चिसो सिरेठोको प्रवाह नगरी लोक संगीतमा राती १० बजेसम्म नाचगान चल्यो। मोफसलबाट सञ्चालनमा रहेको अनलाइन पत्रिकालाई व्यवस्थित बनाउनका लागि खर्च अभाव भएकाले सांकृतिक साँझ गरिएको पत्रिकाका कार्यकारी सम्पादक मुकेशचन्द्रराज भण्डारीले बताए।
सांकृतिक साँझबाट उठेको रकमले अनलाइन पत्रिकाको व्यवस्थापन खर्च गरिने र केही रकम सामाजिक क्षेत्रमा लगानी गर्ने राजभण्डारीले बताए। ‘हामी छिट्टै कामाडौंमा अनलाइन पत्रिकाको कार्यालय स्थापना गरेर सञ्चालनको तयारीमा छौँ’ उनले भने, ‘कार्यालय व्यवस्थापनमा खर्चेर बँचेको रकम दुरदराजका बालबालिकाको शिक्षामा खर्च गर्छौ।’ झण्डै १० लाख रुपैयाँ आम्दानी र ३ लाख रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ।
‘सञ्चार माध्यमको आय स्रोत भनेको विज्ञापन हो, मोफसलमा विज्ञापनले मात्रै खर्च चल्दैन’ राजभण्डारीले भने, ‘नयाँ सोचेर केही गर्नुपर्छ भन्ने लाग्यो थोरै रकम पनि उठ्ने र कला संकृतिको प्रचार पनि हुने भएकाले सांकृतिक साँझ गरेका हौं।’ उनले आफूले आयोजना गरेको कार्यक्रममा स्थानीय कलाकारहरूलाई प्राथमिकता दिएको दाबी गरे। बागलुङ र आसपासका जिल्लामा जन्मेर राष्ट्रियस्तरमा आफ्नो छवि बनाएका कलाकार कार्यक्रममा समेटिएको थियो। कार्यक्रममा बागलुङका सरकारी कार्यालयका प्रमुखहरूदेखि ठूला व्यापारीहरु सम्मको उपस्थिति थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।