|

इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत रहेका प्रसिद्ध साहित्यकार सलमान रुस्दी बिस्तारै विद्रोही देखिन थालेका छन्।

'म अब लुक्न चाहन्नँ' पेरिस भ्रमणका क्रममा रुस्दीले एएफपीसँगको कुराकानीमा भनेका छन्।

यी उपन्यासकारको जीवन सन् १९८९ फेब्रुअरी १४ मा सदाका लागि एकाएक परिवर्तन भएको थियो। इरानी धार्मिक नेता खोमेनीले रुस्दीको पुस्तक 'दी सटानिक भर्सेज' इस्लाम विरोधी भएको जनाउँदै रुस्दीको हत्या गर्न आदेश (फतवा) जारी गरेका थिए।

तेहरानले हरेक वर्ष यो फतवा जारी गरिरह्यो।

रविन्द्रनाथ टेगोर पछिका सर्वाधिक सफल भारतीय लेखक मानिएका रुस्दीले १३ वर्षसम्म कसैले सहजै नचिनुन् भनेर नक्कली नाम राखेका थि । उनलाई प्रहरीले निरन्तर सुरक्षा दिएको थियो।

'म त्यतिखेर ४१ वर्षको थिएँ, अहिले ७१ वर्ष पुगिसकें। अहिले परिस्थिति ठिकै देख्छु', उनले भनेका छन्। 'हामी निकै तिब्र रुपमा परिवर्तन भइरहेको विश्वमा छौं। र यो निकै पुरानो विषय पनि हो। अहिले अरु धेरै कुराले मानिसलाई व्यग्र बनाउन थालेका छन्, र अरु कुनै व्यक्तिले पनि कसैको हत्या गर्न सक्छ।'

रुस्दीले सन् २००१ को सेप्टेम्बर ११ देखि नक्कली नाम राख्न छाडेका थिए। तेहरानले रुस्दीमाथिको चेतावनी फिर्ता लिएको तीन वर्षपछि उनले नक्कली नाम राख्न छाडेका हुन्।

तर एएफपीलाई पेरिसको एक प्रकाशन गृहमा अन्तर्वार्ता दिँदा पनि कार्यालयको मूलगेटमै सादा पोशाकका प्रहरीको निगरानी थियो। कार्यालय बाहिरको परिसरमा पनि अरु प्रहरीले सुरक्षा दिएका थिए।

यसअघि, पूर्वी फ्रान्समा आयोजित एक पुस्तक प्रदर्शनीमा सर्वसाधारण श्रोताकै रुपमा उनी सहभागी भएका थिए, तर न्यूयोर्कमा भने उनी विल्कुलै सामान्य जीवनमा रहने गर्छन्। न्यूयोर्कमा उनी झण्डै दुई दशक बसेका छन्। 'म भूमिगत बाटो (सब वे) बाटै यात्रा गर्दछु', उनले भने।

'दी सटानिक भर्सेज' रुस्दीको पाँचौं पुस्तक हो। अहिले उनको १८औं पुस्तक आइसकेको छ। भर्खरौं उनको 'दी गोल्डेन हाउस' प्रकाशन भएको छ जुन भारतको मुम्बईका एक व्यक्तिको बारेमा छ।

दंगा, बम आक्रमणको योजना तथा दी सटानिक भर्सेज पुस्तकका एक अनुवादकको हत्या एवं अरु दुई जनामाथि गोली र चक्कु प्रहारको दुर्दान्त विगत देखेका रुस्दीले भने, 'त्यो अब अतितको भइसक्यो।'

'इस्लामको केही कुरै होइन। कसैले पनि त्यसरी सोचेका थिएनन्', द सटानिक भर्सेज प्रकाशनका दिनहरूको स्मरण गर्दै उनले भने, 'पश्चिमा मुलुकका मानिसहरू पहिलेभन्दा बढी जानकार देखिएका थिए।'

त्यति हुँदा पनि, पुस्तकका बारेमा गलत बुझियो। उनले भने, न्नुभयोयो पुस्तक मुलतः लन्डनमा रहेका दक्षिण एसियाली आप्रवासीहरूका बारेमा थियो।'

रुस्दीका साथी बेलायती–पाकिस्तानी लेखक हनिफ कुरेसी यो पुस्तक लेख्ने दुस्साहस कसैले नगर्ने बताउँदै छाप्ने त अझ कठिन रहेको बताउछन्।

कुरेसीले द सटानिक भर्सेजको पाण्डुलिपी पढ्दा समेत आफूले कुनै विवादित विषय नदेखेको स्वीकार गरेका छन्। उनले भने, 'पुस्तकमा अतिवादीहरूलाई उत्तेजित तुल्याउने त्यस्तो केही थिएन। मैले यो पुस्तकमा पागलपन, नवीनता र परिवर्तनका कुरा देखेको छु।'

तैपनि यो पुस्तकले सिर्जना गरेको रापतापले राजनीतिक इस्लामको उदयलाई प्रश्रय दिएको छ।

रुस्दी आफैँ पनि दार्शनिक हन्। यस्तो पुस्तक लेखेकामा पश्चाताप लागेको छैन भनी सोधिएको प्रश्नमा उनले भने, 'मलाई कुनै पछुतो छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.