|

पाल्पा : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अलिहेको गणतन्त्र जनताले चाहेजस्तो नभएको बताएका छन्। अध्यक्ष केसीले भने गणतन्त्र आएपछि जनता अधिकारसम्पन्न हुन्छन् भनेको झन मर्कामा परेका छन्।

राष्ट्रिय जनमोर्चा पाल्पाले सोमबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले चुनाव जित्नका लागि मिठामिठा आश्वासन बाँडेका नेताहरू आफ्नो स्वार्थमा मात्र लिप्त भएको उनको आरोप छ। 'गणतन्त्र आएपछि सिंहदरबारको अधिकार घरघरमा भनिएकाे थियाे। तर ढाड सेक्ने गरी कर उठाउन थालिएको छ' उनले भने, 'नेताले जनतालाई माछो–माछो भ्यागुतो जस्तै बनाए। संघीयता धान्नको लागि निकै महँगो कर तिर्नु परेको छ।' 

जनता निराश बन्दै गएकोप्रति सरकार र जिम्मेवार दलका नेता गम्भीर हुनुपर्ने उनको भनाइ छ। अध्यक्ष केसीले अहिलेको सरकार शक्तिशाली र बहुमतको भए पनि त्यसको महसुस जनतालाई हुन नसकेको बताए। 'पछिल्लो समयमा जनताले गणतन्त्र भन्दा राजतन्त्र ठिकै थियो भन्न थालेका छन्। धर्मनिरपेक्षताभन्दा धर्म सापेक्ष राज्य बनाउन पर्छ भन्ने आवाज पनि उठाइरहेका छन्' उनले भने, 'गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन्। त्यसैले लामो लडाइँ लडेर प्राप्त भएको गणतन्त्रको सही सदुपयोग गर्न आवश्यक छ।'

'संविधानमा संघीयता विकृत हो। अहिलेको राजनीतिक अस्थिरताकाे कारण संघयता नै हो' उनले भने, 'संघ, प्रदेश र स्थानीय तहबीचको राम्रो सम्बन्ध छैन। संघीयता निकै खर्चिलो भएको छ। नेपालीको बलबुताले नथाम्ने भएकाे छ।' तीनै तहको खर्च थाम्न नसकिने भन्दै उनले संघीयताले मुलुकलाई नै खाने दावी गरे। अहिले नेपालमा मान्छेको निर्यात गरेर रेमिट्यान्सबाट मुलुक चल्नुपर्ने बाध्यता रहेकाे उनले बताए। सिर्जनशील र उत्पानशील मान्छे विदेश निर्यात गरेर मुलुक समृद्ध नहुने पनि उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.