|

काठमाडौं : फिल्म 'दि ब्रेकअप' प्रदर्शनको अन्तिम चरणमा पुगेको छ। यो फिल्म फागुन १७ बाट फिल्म हलमा लाग्ने कार्यतालिका रहेको छ। फिल्मको ट्रेलर तथा गीत, संगीतले दर्शक तथा शुभचिन्तकहरूबाट लोकप्रियता बढाउँदै जाँदा निर्माण टिम यतिबेला प्रचारप्रसारलाई तिब्रता दिइरहेको छ। अर्थपूर्ण प्रचारलाई प्राथमिकता दिँदै निर्माण टिम आइतबार सरस्वती पूजालाई लक्षित गरेर पुल्चोक इन्जिनियरिङ कलेज पुगेको थियो।

श्री पञ्चमीको उपलक्ष्यमा आयोजित एक कार्यक्रमका विधार्थीमाझ ब्रेकअप टिम पुगेको थियो। फिल्ममा शिर्ष भूमिका रहेका अभिनेता आशिरमान देशराज जोशी, रेमनदास श्रेष्ठ र इच्छा कार्की स्टेज चढ्दा उपस्थित फ्यानहरूले हुटिङ र ताली दिएको थियो। त्यसपश्चात नजिकिँदो 'भ्यालेन्टाइन डे' लक्षित गर्दै सुरुमै जोशीले लभ र ब्रेकअपको कुरा जोडेका थिए।

निर्देशक हेमराज बिसीसहित उपस्थित युनिटले फिल्ममा समावेश 'आज हाम्रो भेट भएको दिन' बोलको गीतमा नृत्य गरेको थियो। आशिरमान र इच्छाले स्टेजमा कम्मर मर्काउँदा दर्शक तथा विधार्थीहरूले साथ दिएका थिए। त्यसपछि आशिरमानका क्रेजी फ्यान सेल्फी र अटोग्राफमा रमाए। एक युवती फ्यानले कापी र डायरीको अभावमा आफ्नो साथमा भएको एक हजारको नोटमै अटोग्राफ लिइन्।

कार्यक्रम पश्चात कुरा गर्दै आशिरमानले फिल्मको मुख्य कथा नै युवा लक्षित भएको बताए। उनले कलेज केन्द्रित प्रचारमा जोडिएको बताए। पछिल्लो पुस्ता प्रेमबाट टाढा नरहेको भन्दै आशिरमानले माया गर्ने जो कोहिको लागी पनि 'दि ब्रेकअप' मनोरञ्जनको उपयुक्त खुराक बन्ने बताए।

रुपक थापा, दीपक खतिवडा र रेनु राणाको निर्माणमा बनेको 'दि ब्रेकअप'मा शिल्पा मास्के, सरोज खनाल लगायत मुख्य भूमिकामा रहेका छन्। फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको हो। नरेन्द्र मैनालीले छायाँकन गरेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.