|

डोल्पा : जिल्लाकाे ठुलीभेरी नगरपालिकाका जनप्रतिनिधिको अगुवाइमा धावनमार्गमा जमेको हिउँ पन्छाएपछि जुफाल विमानस्थल खुलेको छ। अवरुद्ध भएको चार दिनपछि विमानस्थल खुलेपछि सोमबार नेपालगञ्जदेखि तारा,समिट,नेपाल एयरलाइन्सले पाँचवटा उडान भरेकाछन्।

आइतबार नगरप्रमुख गणेशबहादुर शाही,वडा ९ का अध्यक्ष बिरमलकुमार भण्डारी, जिप्रका डोल्पा प्रहरी नायव उपरीक्षक अभदेश बिष्ट, जुफाल विमानस्थल सुरक्षा प्रमुख कमल शाह,स्थानीयबासीसहित भएर हिउँ पन्छाइएको थियो। तेस्रो पटक परेको हिउँ बिलाउन नपाउँदै चौथो पटकको हिउँ थपिएर धावनमार्ग मै बाक्लाे हिउँ जमेपछि विमानस्थल अवरुद्ध भएको थियो।

हिउँ पन्छाउन नगरको आर्थिक सहयोग

जुफाल विमानस्थलको हिउँ पन्छाउनकालागि ठुलीभेरी नगरपालिकाले आर्थिक सहयोग समेत गरेको छ। जनप्रतिनिधि,कर्मचारीलाई पैसा नदिए पनि ज्यालादारीमा हिउँ पन्छाउन लगाइएका कामदारलाई ज्यालादिने गरी काममा लगाइएको थियो। हिउँ पन्छाउनकालागि करिब एक लाख रुपैयाँ खर्च गरिएको बताइएको छ। चार दिनदेखि डोल्पामा भएको मौसमी नाकाबन्दी खोल्नकालागि नगरको अगुवाइमा हिउँ पन्छाएको र कामदारहरूले धेरै दुख गरेको बताएकाले कहिँ कतैबाट रकम निकासा गरेर पारिश्रमिक दिने वडा अध्यक्ष बिरमलकुमार भण्डारीले बताए।

विमानस्थल अवरुद्ध भएपछि जिल्ला बाहिर आवत जावत तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत समस्या भएपछि आइतबार १०० जनाले हिउँ पन्छाएपछि विमानस्थल खुलेको भण्डारीले जानकारी दिए। जनप्रतिनिधिको अगुवाइमा हवाई मैदानको हिउँ पन्छाएर विमानस्थल सुचारु भएपछि ठुलीभेरी नगरपालिकालाई सबैले धन्यवाद दिएका छन्। 

हवाई उडान भएपछि जिल्ला बाहिर आवत जावत गर्ने सर्वसाधारणलाई सहज हुनुका साथै  दैनिक उपभोग्य सामग्री समेत ढुवानी समेत शुरु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.