|

रौतहट : माघ २५ र २६ मा परेको वर्षाले रौतहटमा करिब ५० करोड रुपैयाँभन्दा बढीको इँटा नष्ट भएको छ। उद्योगमा पोल्न तयारी राखिएका काँचो इँटा वर्षाले क्षति पुर्‍याएको रौतहट इँटा उद्योग संघका अध्यक्ष विनोद साहले बताए।

प्रत्येक इँटा उद्योगमा १० देखि २० लाख रुपैयाँसम्मको क्षति पुगेको अध्यक्ष साहको भनाइ छ। हरेक वर्ष वर्षाका कारण इँटा उद्योगमा क्षति पुगे पनि सरकारबाट क्षतिपूर्ति नपाएको अध्यक्ष साहको गुनासो छ। उनले वर्षाले इँटा उद्योगमा ठूलो क्षति पुर्‍याएकाले सरकारसँग क्षतिपूर्तिका भ्याट रकम र आयकरमा छुट उपलब्ध गराउन माग गरे। 

रौतहटमा १५७ इँटा उद्योग रहेका छन्। उक्त उद्योले करिब १५ करोड ७० लाख भ्याट तथा करिब ४ करोड आयकर बुझाउँदै इँटा उद्योग संघले जनाएको छ। यहाँका इँटा उद्योगले २५ हजारभन्दा बढीलाई रोजगारी दिएको बताइएको छ। 

संघका सचिव तथा रामजानकी इँटा उद्योगका सञ्चालक मोहन साहले एउटा काँचो इँटा तयार गर्न दुईदेखि तीन रुपैयाँसम्म खर्च हुने बताए। वर्षाले क्षति पुर्‍याएकाले उद्योगमा आवश्यक कच्चा पदार्थ सहज रुपमा उपलब्ध गराउन र करमा छुट दिनुपर्ने उनको माग छ। उद्योग स्थापना गर्न दुईदेखि चार करोड रुपैयाँ लाग्ने बताउँदै वर्षाले काँचो इँटामा क्षति पुर्‍याउँदा बैंकबाट लिएको ऋणको किस्ता रकम तिर्नसमेत समस्या आएको उद्योग सञ्चालकहरुको गुनासो छ। काँचो इँटाको बिमा समेत नहुने र सरकारले समेत क्षतिपूर्ति नदिने भएकाले समस्या आएको उनीहरुको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.