|

सनातन वैदिक हिन्दु धर्मले आफ्ना अनुयायीलाई ‘कर्ममा नभई भाग्यवादमा विश्वास गर्न लगाउने’ आलोचना खेप्दै आएको छ। पुराणका पण्डित र ज्योतिषशास्त्रीहरूले फैलाउँदै आएका केही अफवाहका कारण वैदिक धर्मले भाग्यमा भर पर्ने र कर्मलाई महत्त्व नदिने भान पर्नु स्वभाविक पनि हो। शास्त्रलाई आयआर्जनको माध्यममात्र बनाउने र तथ्य कुराको ज्ञान नराख्ने\नबाँड्ने गर्नाले पनि मानिसहरूमा भ्रम उत्पन्न भएको हो। यद्यपि वैदिक शास्त्रमा भाग्य दैव जस्ता पक्ष हुँदै नभएका भने होइनन्।

दैवबल र पौरुषबलको चर्चा शास्त्रमा भइरहन्छ। सनातन धर्मको मूल वेददेखि इतिहास–पुराण हुँदै संस्कृतका पछिल्ला ग्रन्थ नीति तथा हितोपदेशमा पौरुषबल (कर्म) को महिमा बताइएको छ। पुरुषार्थका कारणले सिद्ध नहुने र लौकिक कारण वा तर्कले पुष्टि गर्न नसकिने परिस्थितिलाई मात्र भाग्य वा पूर्वजन्मको फल (प्रारब्ध) मानिएको छ। आफ्नो पक्षबाट केही नलाग्ने विषयमा मात्र भाग्यलाई दोष दिएर मन शान्त पार्ने पक्ष महाभारतमा बताइएको छ।

वेदले राजा (शासक) देखि नागरिकसम्मलाई आफ्नो बुद्धि विवेक र तहअनुसारको कर्म गर्न निर्देश गरेको छ। वैदिक वर्णाश्रम व्यवस्थामा पनि कर्मलाई प्रधान मानिएको छ यहाँ कुनै वर्ण वा जाति घोटिएको घोटियै गर्ने कोही बसीबसी खाने पक्ष छैन। आफ्नो योग्यताअनुसार कर्मबाट कोही विमुख हुन पाउँदैनथे। विद्या आर्जन गरी ज्ञान बाँड्ने हुन् या शासन गर्ने तहमा रहेका वा हतियार लिई युद्धमैदानमा निस्कने सबैलाई आफ्नो कर्मको महत्त्व हुन्थ्यो।

सनातन धर्मको मूल वेददेखि इतिहास–पुराण हुँदै संस्कृतका पछिल्ला ग्रन्थ नीति तथा हितोपदेशमा पौरुषबल (कर्म) को महिमा बताइएको छ। पुरुषार्थका कारणले सिद्ध नहुने र लौकिक कारण वा तर्कले पुष्टि गर्न नसकिने परिस्थितिलाई मात्र भाग्य वा पूर्वजन्मको फल (प्रारब्ध) मानिएको छ। आफ्नो पक्षबाट केही नलाग्ने विषयमा मात्र भाग्यलाई दोष दिएर मन शान्त पार्ने पक्ष महाभारतमा बताइएको छ।

कृषि पेशा वा व्यापार व्यवसाय गर्ने गर्ने वर्ग होस् सेवा गरेर जीविका चलाउने नै कर्मबाट चुके भने क्षम्य हुन सक्दैनथ्यो। कर्मबाट चुक्ने राजा (शासक) नै भए पनि क्षम्य हुदैन भन्ने वैदिक धर्मको मान्यता छ। वेदअन्तर्गत पर्ने ज्ञान, उपासना र कर्मकाण्डमा पनि कर्मकै आवश्यकता पर्छ। कर्मविना यीमध्ये कुनै पनि बाटो सहज हुँदैनन्।
    
इच्छति देवा सुन्वन्तं न स्वप्नाय स्पृहयन्ति। यान्ति प्रमादमतन्द्राः (शैशिरीय शाकल ऋग्वेदमन्त्रसंहिता ८\२\१८)। अर्थात् देवताहरू आलस्य तन्द्रा आदि मन पराउँदैनन् अर्थात् कर्ममा लिप्त भएको देख्न चाहन्छन्। सय वर्ष बाँच्न र कर्म गर्न अर्थात् कर्म गरेरै सय वर्ष बाँच्न निर्देश गरेका छन् (कुर्वन्नवेह कर्माणि जिजीविषेच्छतं समाः। एवन् त्वयि नाऽन्यथेतोऽस्ति न कर्म लिप्यते नरे (शुक्ल यजुर्वेद ४०\२, ईशावास्योपनिषद् २) कर्मशील व्यक्ति नै धेरै वर्षसम्म बाँच्नका लागि योग्य हुन्छ भन्ने पनि हो।

श्वेताश्वपनिषद् (६\४) मा आरभ्य कर्माणि गुणान्वितानि...अर्थात् सद्गुणयुक्त कर्म गर भन्ने सन्देश छ। ‘...उठ, जाग र उत्तम कर्म गर’, कठोपनिषद् (१\३\१४) को वचन हो, यो। यस्तै बसिरहनेको भाग्य बसिरहने, उठिरहनेको भाग्य उठिरहने र सुतिरहनेको भाग्य सुतिरहने भन्दै क्रियाशील भइरहनेको भाग्य क्रियाशील हुने तर्क ऐतरेयिब्राह्मणमा गरिएको छ (३३\३)।
    
कतिपय सन्दर्भमा कर्मसँगै दैव वा भाग्य पनि जोडिएका सन्दर्भ शास्त्रमा आउँछन्। कर्मसँगै भाग्यको पनि निर्माण भइरहेको हुन्छ भन्ने अर्थ पनि पाइन्छ। यथा ह्येकेन चक्रेण रथस्य न गतिर्भवेत् एवं पुरुषकारेण विना दैवं न सिध्यति। याज्ञवल्क्यस्मृति (१\३५१) मा अर्थात् जसरी एउटा चक्रले मात्र रथ(गाडा) को अर्थ हुँदैन त्यस्तै कर्म नगर्ने मानिसलाई भाग्य (दैव)ले पनि साथ दिँदैन। मनुस्मृति त अझ कार्यको विफलताबाट थकित भए पनि तिमी कर्म गर्न नछोड भन्छ। स्मृतिकार मनुका अनुसार विचलित नभई कर्म गरिरहने (९\३००) व्यक्तिलाई मात्र लक्ष्मीले साथ दिन्छिन्। कर्मको महत्त्व दर्शाउन देवताहरूले समेत विभिन्न रूप लिएको र विभिन्न लीला गरेको सन्दर्भ आउँछ।

वैदिक शास्त्रमा बताएइका चार पुरुषार्थ धर्म अर्थ काम मोक्षका लागि पनि कर्मकै आवश्यकता पर्दछ। कर्मविना कुनै एक पनि पुरुषार्थ सिद्ध हुँदैन। हिन्दु परम्परामा विद्याकी देवी सरस्वती र धनकी देवी लक्ष्मी हुन्। धन वा विद्यामध्ये कुनै एकको आकांक्षा नराख्ने मानिस पाइँदैनन्। धन नभए पनि विद्याको साधना गरेर आत्मज्ञानको मार्ग रोज्नु एउटाको लक्ष्य हुन्छ। अर्कोतिर विद्याको वास्ता नगरी धन कमाई भोगविलास गर्ने अर्कोको उद्देश्य हुन्छ। तर नीतिशास्त्रहरू विद्याबाटै धनप्राप्त हुने बताउँछन्।

महाभारतअन्तर्गत श्रीमद्भागवतगीतामा श्रीकृष्णले अर्जुनलाई कर्मको महत्त्वबारे प्रष्ट्याएका छन्। युद्धमैदानमा विपक्षी आफ्ना सम्बन्धीहरू मात्र देखेर धनुवाण बिसाउन खोजेका अर्जुनलाई कर्मण्यवाधिकारस्ते... अर्थात् कर्ममा मात्र तिम्रो अधिकार छ... जस्ता वचन सुनाएका थिए, कृष्णले। कर्मसम्बन्धी गहन कुरा छन् गीतामा। निरन्तर लगावपूर्व कर्मको प्रभावले त प्रारब्धलाई समेत विफल पारिदिन्छ भन्ने पुराणको भनाइ छ।

आधुनिक सन्दर्भमा विद्याआर्जन गर्नुको लक्ष्य आत्मज्ञानभन्दा धनार्जनका लागि हुँदै आएको छ। सरस्वती वा लक्ष्मी दुवैको प्राप्तिका लागि पनि कर्मकै आवश्यकता पर्दछ। त्याग तपस्या र उत्कट कर्म  नगरी आत्मज्ञानको बाटो खुल्दैन। यता लक्ष्मी प्राप्त गर्न पनि मेहेनतकै आवश्यकता पर्दछ। नीतिहरूले त म कहिल्यै मर्दिन भन्ने भाव लिएर कर्म (अध्ययन वा अर्थ उपार्जन) गर। मृत्यु पछाडि आइसक्यो भन्ने भाव लिएर धर्म (शास्त्रमा निर्दिष्ट र परोपकारादि) कर्म गर भन्छन्।

महाभारतअन्तर्गत श्रीमद्भागवतगीतामा श्रीकृष्णले अर्जुनलाई कर्मको महत्त्वबारे प्रष्ट्याएका छन्। युद्धमैदानमा विपक्षी आफ्ना सम्बन्धीहरू मात्र देखेर धनुवाण बिसाउन खोजेका अर्जुनलाई कर्मण्यवाधिकारस्ते... अर्थात् कर्ममा मात्र तिम्रो अधिकार छ... जस्ता वचन सुनाएका थिए, कृष्णले। कर्मसम्बन्धी गहन कुरा छन् गीतामा। निरन्तर लगावपूर्व कर्मको प्रभावले त प्रारब्धलाई समेत विफल पारिदिन्छ भन्ने पुराणको भनाइ छ।

अत्युत्कटैरिहत्यैस्तु पुण्यपापैः शरीरभृत् प्रारब्धं कर्म विच्छिद्य भुङ्क्ते तत् फलमेव हि (पराशरपुराण (१८\८२–८३)। सत्कर्म गरेमात्र पुनर्जन्ममा सुख पाइने पक्ष भनेको अहिलेको जीवनलाई अल्छी वा कुकर्म गरी खेर नफाल उत्तम कर्म गर भन्ने पक्षले आएको हो। पुनर्जन्ममा विश्वास गर्ने हिन्दु समाजमा कर्मको फल दूरगामी हुन्छ भन्ने सन्देश हो।

कर्म गरेर खाने वर्गलाई वैदिक हिन्दुशास्त्रले गुणगान गरेकै छन्। रूपमा श्रम, तपस्या वा कर्मशीलताको महत्त्व विभिन्न प्रसङ्गमार्फत दर्शाइएको छ। भाग्यको भरमा आलस्य गरेर बस्नेको निन्दा गरिएको छ। सुतिरहने सिंहको मुखमा आहार आएर पस्दैन। आहारका लागि मेहेनत गर्नुपर्छ त्यसैगरी उद्योगी वा कर्मशील मानिसलाई मात्र लक्ष्मीले पत्याउँछिन् भन्ने हितोपदेशको भनाइ छ। अरुमाथि अन्याय हुने कर्म, अन्यायपूर्ण तरिकाले आर्जन हुने धन, यसरी आर्जित गरेको मोजमस्ती गर्ने पक्ष (कुकर्म) को विरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.